प्रतिनिधिसभाको बैठक अवरुद्ध, सर्लाही घटना बारे संसदीय समिति गठनको माग

२०७६ श्रावण १३ गते, सोमबार

काठमाडौं, १३ साउन । नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर नाराबाजी गरेका थिए । सभामुख कृष्णबहादुर महराले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका थिए । विपक्षी दलले कुमार पौडेल हत्याको विषयलाई लिएर बैठक अवरुद्ध गरेका हुन ।
भिडन्तमा मारिएको भनिएका नेपाल कम्युनिष्ट पार्टीका पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहितका विपक्षी दलको माग छ । उनीहरुले यहि माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन, तर सरकार यसमा सहमत भएको छैन । गएको बुधबार बाढी तथा पहिरोका कारण देशभर भएको क्षतिबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न संसद बैठक सुचालु भएको थियो । संसद अवरुद्ध गरेपछि बुधबार बस्ने गरी संसद बैठक स्थगित भएको छ । अबको बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]