मजदुर नेता आकाश निष्कासित

२०७६ भाद्र ५ गते, बिहीबार

काठमाडौं, ५ भदौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय संयोजक लोक बहादुर पल्लीले प्रेस विज्ञप्ति प्रकाशित गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाही गरेको बताएका छन । केन्द्रीय संयोजक पल्लीले आकाशले महासंघको नीति विपरीत विभिन्न प्रतिष्ठानलगायत व्यक्ति तथा समुदायहरुबाट अनाधिकृत रुपमा आर्थिक संकलन गर्दै हिंडिरहेकोले कारबाही गर्नु परेको बताएका छन् ।
संयोजक पल्लीले विज्ञप्तिमा भनेका छन्, ‘अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ ले महासंघको नीति विपरीत विभिन्न प्रतिष्ठान लगायत व्यक्ति तथा समुदायहरुबाट अनाधिकृत रुपमा आर्थिक संकलन गर्दै हिंडिरहेको र संगठित सदस्यहरुलाई धाक धम्की दिने गरेको साथै सिंगो संगठनलाई गम्भीर प्रकारको आघात पुर्याउने किमिसको अत्यन्तै निकृष्ट कार्य गरेको हुँदा यस प्रकारका गतिविधिले सिंगो क्रान्तिकारी मजदुर आन्दोलनलाई आँच पुर्याउने ठहर गर्दै निजलाई महासंघको तर्फबाट विधानको परिच्छेद ८ को दफा ८ (२) बमोजिम साधारण सदस्य सम्म नरहने गरी आजैका मितिदेखि कुनैपनि जिम्मेवारीमा नरहने गरी निष्कासित गरिएको छ ।’
उनले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘साथै उक्त व्यक्तिसँग कुनैपनि सांगठनिक तथा आर्थिक कारोबार नगरिदिनुहुन सम्बन्धित सबै पक्षसित अनुरोध गरिन्छ ।’

प्रतिक्रियाहरु

[anycomment]