रामलखन महतोको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, १६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो अन्तर्गत विशेष समितिका सदस्य रामलखन महतोको २०७६ कार्तिक १५ गते दिउँसो ३ः०० बजे धनुषा जिल्लाको मिथिला नगरपालिका–१ स्थित विश्वकर्मा चोक नजिकै गाडीको ठक्करबाट निधन भएको छ । महतो नेकपा एमाले, नेकपा माओवादी हुँदै नेपाल कम्युनिस्ट पार्टीमा क्रियाशील थिए । उनले २०५१ सालमा तत्कालीन एमालेको तर्फबाट नेपाली काँग्रेसका उम्मेद्वार पूर्व राष्ट्रपति रामवरण यादवलाई चुनावमा पराजित गरी प्रतिनिधि सभा सदस्य समेत भएका थिए । अहिले जनकपुर ब्युरो अन्तर्गत विशेष समितिमा रही क्रियाशील रहेका रामलखन महतोको निधनप्रति जनकपुर ब्युरो इन्चार्ज अरुणले समवेदना वक्तब्य प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त गरेका छन ।
जनकपुर ब्युरो इन्चार्जद्वारा जारी समवेदना वक्तब्यमा भनिएको छ, ‘रामलखन महतोको निधनले हाम्रो पार्टीलाई धेरै नै मर्माहत बनाएको छ । हाम्रो गौरवशाली पार्टी रामलखन महतोप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।’ ब्युरो इन्चार्ज अरुणको समवेदना वक्तब्यमा अगाडि भनिएको छ, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा निरन्तर लामबद्ध सङ्घर्षशील बौद्धिक योद्धा कमरेड रामलखन महतोको दुःखद् निधनले सम्पूर्ण महतो परिवारमा परेको शोकप्रति हाम्रो पार्टी हार्दिक समवेदना प्रकट गर्दछ ।’