युवा संगठनद्वारा गिरफ्तार नेतालाई ससम्मान रिहाइ गर्न माग

२०७६ पुष १४ गते, सोमबार

काठमाडौं , १४ पुष । युवा संगठन नेपालले गिरफ्तार गरिएका नेताहरुको ससम्मान तत्काल – रिहाइको लागि जोड्दार माग गर्दै अन्यथा त्यस वाट उत्पन्न हुने परिस्थितिको सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ । सो संगठनका कार्यवाहक अध्यक्ष दिनेशले आज एक बिज्ञप्ती जारी गर्दै सो चेतावनी दिएका हुन् ।
यस बिषयमा युवा संगठन नेपालका कार्यवाहक अध्यक्ष दिनेशले जारी गरेको बिज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – “नेपाली युवाहरूको जुझारु एवं गौरवशाली संगठन, युवा संगठन नेपाल, केन्द्रीय समितिका सदस्य तथा उपत्यका ब्यूरो संयोजक राजु घिमिरे (क. अनुप)लाई सामाजिक फासिवादी कथित कम्युनिष्ट केपी – प्रचण्डको सरकारले ०७६ पौष १ गते काठमाडौंवाट गिरफ्तार गरि वेपत्ता बनाएकोले संगठनलाई ढिलो सूचना प्राप्त भयो । फासिवादी सरकारले गरेको क. अनुपको अपहरण र दमनको निन्दा एवं घोर भ्रत्सना गर्दछ ।
दलाल संसदीय व्यवस्थाका कारण नेपाली राष्ट्रीयता उच्चतम संकटमा पर्दै गएको छ । अमेरिकी साम्राज्यवादको हिन्द- प्रशान्त रणनीति, भारतीय साम्राज्यवादको प्रत्यक्ष सिमा हस्तक्षेप र हिन्दुराष्ट्र बनाउ भन्ने दबाव, युरोपियनहरुको कृश्चियन धर्म जस्ता, साम्राज्यवादी देशहरुले नयाँ नयाँ रुपधारण गर्दै नेपालका शासकलाई आफ्नो कठपुतली बनाउन पैसा, कुर्सी, सत्ता, र अनुदानका प्रलोभन देखाएर नेपालका महत्वपूर्ण प्राकृतिक श्रोतसाधन कब्जा गर्ने, देशलाई युद्धको भूमी वनाउने योजना बाहेक साम्राज्यवादको अरु केहि देखिदैन । विदेशीका दलाल संसदीय पार्टी र तिनका नेताहरु पैसा, कुर्सी र सत्ताका लागि जस्तो सुकै सम्झौता र सहमति गर्न तम्तयार छन् । राष्ट्रघात, जनघात र भ्रष्टाचारका विरुद्ध हाम्रो संगठन निरंतर संघर्ष गर्दै आएको छ । राष्ट्रीयता, स्वाधिनताको पक्षमा र वैदेशिक हस्तक्षेपका विरुद्ध देशभक्त, क्रान्तिकारी, वुद्घिजिवी, कर्मचारी, पत्रकार, व्यापारी, रास्ट्रसेवक सेना प्रहरी, मजदुर, किसान आमयुवाहरु एकाकार भएर लड्नु अनिवार्यता छ ।
कुहिएको दलाल संसदीय व्यवस्था रहुन्जेल देश शान्ति, समानता, समृद्घि र स्वाधिन बन्ने छैन वरु ठ्याक्कै उल्टो हुँदै गएको छ । एकीकृत जनक्रान्तिको बाटोवाट जनताको आफ्नै लोकप्रिय राज्यव्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न लडिरहेका छौ । विजय हाम्रै श्रमिक जनताकै हुने छ ! पूँजीवादको अन्त्य अवश्य छ । गिरफ्तार क. अनुपलाई ससम्मान तत्काल – रिहाइको लागि जोड्दार माग गर्दछौं । अन्यथा स्वयं दलाल सरकार जिम्मेवार हुनुपर्ने संगठन विज्ञप्ति मार्फत चेतावनी दिन्छ ।”

प्रतिक्रियाहरु

[anycomment]