एमसीसीविरुद्ध पर्चा वितरण र मशाल जुलुस

काठमाडौँ , २३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताविरुद्ध बिहिबार देशभर पर्चा वितरण र मशाल जुलुस गरेको छ । यसैक्रममा सो पार्टीको केन्द्रीय संघर्षका कार्यक्रमअन्तर्गत काठमाडौँका विभिन्न ठाउँमा एमसीसीका विरुद्ध पर्चा छर्नुका साथै मशाल जुलुस निकालिएको थियो । जेठ १९ र २० गते देशैभरि सम्झौता जलाउने, २१ गते प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतला जलाउने र २२ गते पर्चा वितरण गरी मशाल जलाउने कार्यसूचीअनुसार शुक्रबार काठमाडौँका गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहराको बाबाचोक, दक्षिणकाली नगरपालिकाको राम्चेभञ्ज्याङ र शीतलचोकका साथै महानगरपालिकाका बानेश्वर, नयाँ बसपार्क, र सानोभर्याङमा मशाल जुलुस निकालिएको थियो ।
सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको एमसीसी सम्झौताले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्ध गम्भीर राष्ट्रघात गर्ने आपराधिक कार्य हुने भएकाले त्यसका विरुद्ध मशाल जुलुस निकालिएको नेकपाले जनाएको छ ।
लकडाउन र प्रतिबन्धलाई पनि वास्ता नगरी पार्टी समिति, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता र स्थानीय देशभक्त जनताको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको नेकपा काठमाडौँले जनाएको छ । सो पार्टीका अनुसार मशाल जुलुस निकाल्नुका साथै पर्चाहरू पनि छरिएको थियो । कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! सम्पूर्ण देशभक्त र राष्ट्रवादीहरू एक हौँ ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! वीर सहिदहरू लालसलाम ! कोरोनाको बहानामा भएको भ्रष्टाचार र राष्ट्रघात बन्द गर ! एकीकृत जनक्रान्ति जिन्दावादलगायत नाराहरू लगाइएको थियो ।
यसैक्रममा , नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले बिहीबार काठमाडौँमा मशाल बालेको थियो । काठमाडौँको मनमैजुमा सङ्गीनको नेतृत्वमा, चाबहिल गोपीकृष्ण हलपछाडि निश्चलको नेतुत्वमा, टोखा, भत्केको पुलमा दीपक रानाको नेतृत्वमा, वसुन्धरामा सफलको नेतृत्वमा, चण्डोलमा क्रान्तिको नेतृत्वमा मशाल जुलुस निकालिएको जनाइएको छ । उक्त अवसरमा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सम्पूर्ण देशभक्त र राष्ट्रप्रेमी एक हौँ, केपी वली–शेरबहादुर देउवा गठबन्धन मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावादलगायत नारा लगाइएको थियो ।
याता , नेपाल कम्युनिस्ट पार्टी रामेछापले अमेरिकी साम्राज्यवादले नेपालमा लाद्न खोजेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध अमेरिकी साम्राज्यवाद मुर्दावाद, सामाजिक दलाल फासिवादी सरकार मुर्दावाद, एमसीसी चाहिँदैन, एमसीसी मुर्दावाद, देश बेच्न पाइँदैन, सबैखाले राष्ट्रघाती सम्झौता खारेज गर, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावादलगायत नारा लगाउँदै पचासौँको सङ्ख्यामा मशाल जुलुस निकालेर केपी वली र शेरबहादुर देउवाको पुतलादहन गरेको छ । नेकपा रामेछापले मशाल जुलुस र पुतलादहनपछि कोणसभा पनि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी सौगात लामा, जिल्ला सदस्य कार्मो, जिल्ला सदस्य तथा सहिद परिवारका केन्द्रीय सदस्य रविलगायत पचासौँजनाको उपस्थिति रहेको समाचारमा जनाइको छ । कार्यक्रममा सम्बोधन गर्ने नेकपाका नेताहरूले एमसीसी परियोजनाले नेपाललाई अफगानिस्तान र इराक बनाउने भएकाले यो परियोजना जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई सैह्य नहुने बताएका थिए । उनीहरूले अहिलेको दलाल तथा भ्रष्ट सरकार र पतीत नेताहरूले संसद्बाट एमसीसी पारित गरे यसको नतिजा गम्भीर आउने र त्यसको जिम्मेवार स्वयम् संसद्वादी दलालहरू हुने बताएका थिए ।
उता, नेकपा निकट युवा सङ्गठनले अमेरिकी परियोजना एमसीसीका विरुद्ध आज चितवन भरतपुर महानगरपालिकाको चाैबिसकाेठीचाेकमा र भरतपुर महानगरपालिका वडा नं. १८ को चाँदनीचोकदेखि बसन्तचोकसम्म मशाल जुलुस प्रदर्शन गरेको छ । मशाल जुलुसको नेतृत्व युवा सङ्गठन भरतपुर महानगरपालिकाका अध्यक्ष राजु श्रेष्ठले गरेका थिए ।
त्यसैगरी राप्ती नगरपालिकाको वडा नं. १० खहरेमा पनि मशाल जुलुस प्रदर्शन गरिएको समाचार प्राप्त भएको छ । त्यसैगरी राप्ती नगरपालिका वडा नं. १ परेवाकोटमा अखिल (क्रान्तिकारी) का संयोजक रेम्बोर्जे लामाको नेतृत्वमा भव्य मशाल जुलुस प्रदर्शन गरिएको छ । त्यसैगरी मकवानपुर जिल्लाको मनहरीमा पनि मशाल जुलुस निकालिएको थियो ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध मशाल जुलुस निकालेको छ । मशाल जुलुसपछि आयोजित कार्यक्रमा नेकपा दैलेखका नेताहरुले प्रश्न गरे– सामाजिक दलाल केपी सरकारले संसद्बाट पास गराउन खोजेको सम्झौताले नेपाली जनतालाई साम्राज्यवादको गुलाम बनाउने र नेपालको सार्वभौमिकता र स्वाधीनता खतरामा पार्ने कुरा बुझेर पनि सरकार न्वारनदेखिको बल लगाएर सम्झौता पास गर्न किन खोज्दैछ ? आज हरेक देशभक्तहरू, सच्चा वामपन्थीहरू, लोकतान्त्रिक शक्तिको मनमा प्रश्न र आक्रोश पैदा भएको छ । उनीहरुले भने– एकातिर कोरोनाको महामारी दिन–प्रतिदिन बढ्दै गएको छ भने अर्कातिर एमसीसी सम्झौता पास हुने चर्चाले आन्दोलन गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।
कार्यक्रममा सामाजिक दलाल केपी सरकार मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी सझौता खारेज गरलगायत नारा लगाइएको थियो ।
उता , कैलालीको घोडाघोडी ७ हरिनगरमा युवा सङ्गठन नेपाल कैलाली र घोडाघोडी नगर पार्टीको संयुक्त आयोजनामा एमसीसी परियोजनाविरुद्ध मशाल जुलुस निकालिएको बताइएको छ ।
यसैगरी , रूपन्देहीका ३ क्षेत्रमा भएको मशाल जुलुसमा एमसीसीलाई कुनै हालतमा पास गर्न नदिने उद्घोषसहित विरोधसभासमेत भएको थियो । बुटवल, सैनामैना र देवदहमा छुट्टाछुट्टै प्रदर्शन भएका थिए । हातमा मशाल बोकेका युवा, विद्यार्थी तथा आमजनतालेएमसीसी पास गर्न नदिने गरी आन्दोलनमा लाग्ने प्रतिबद्धता जनाएका थिए । यस्तै लुम्बिनीका कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, अर्घाखाँची, पाल्पालगायत जिल्लामा पनि मशाल जुलुसहरू भएका समाचारहरू प्राप्त भएका छन् ।