नेपाल कम्युनिस्ट पार्टीद्वारा एमसीसीविरुद्ध संघर्ष : आमहडताल गर्ने चेतावनी

काठमाडौँ , २५ जेठ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध संघर्षको शंखघोष गरेको छ । यसैक्रममा सो पार्टीले पहिलो चरणको संघर्षका कार्यक्रमअन्तर्गत जेठ १९ र २० गते देशब्यापी रुपमा एमसीसी सम्झौता र २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाएको छ भने २२ गते देशब्यापी रुपमा पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकालेको थियो । घोषित संघर्षका कार्यक्रमअनुसार आज जेठ २८ गते देशव्यापी रुपमा पोस्टर टाँस्ने रहेको छ भने यसपछि विभिन्न संघर्षहरूसहित आमहडतालसम्म गरिने बताइएको छ ।
यसअघि, बिज्ञप्तिमामार्फत्् संघर्षका कार्यक्रम घोषणा गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसीविरुद्ध अविलम्ब सशक्त प्रतिरोधमा उत्रन आमदेशभक्त आमनागरिक, बुद्धिजीवि र राष्ट्रिय पार्टीहरूलाई अनुरोध गरेका थिए । महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गर्दै जारी गरिएको बिज्ञप्तिमा एमसीसीविरुद्ध विभिन्न प्रचारात्मक संघर्षका कार्यक्रम घोषणा गर्दै आमहडतालसम्म गर्ने जनाएका छन् । विप्लवले जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवि, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध पनि गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीले यसको सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् । प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी पनि महासचिव विप्लवले दिएका छन् ।
महासचिव विप्लवले बिज्ञप्तिमा भनेका छन्, ‘नेपालका आमनागरिक, देशभक्त, बुद्धिजीवि र राजनीतिक पार्टीहरूले निरन्तर विरोध गर्दै रोकिँदै आएको अमेरिकी अतिक्रमणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई केपी सरकारले नेपाली काँग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको विषयप्रति हाम्रो पार्टीको ध्यान गम्भीर प्रकारले आकर्षित भएको छ ।’
महासचिवको बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध संघर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ ।’
बिज्ञप्तिको अन्त्यमा महासचिव विप्लवले भनेका छन्, ‘हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ । यदि जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवि, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध गर्दछौँ । साथै नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिन चाहन्छ । त्यसबाट पैदा हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने पनि स्पष्ट गर्दछ ।’