नेकपाद्वारा देशव्यापीरुपमा एमसीसीविरुद्ध पोस्टर टास

२०७७ जेष्ठ २८ गते, बुधबार

काठमाडौँ , २८ जेठ । नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा एमसीसीविरुद्ध पोस्टर टास गरेको छ । सो पार्टीले एमसीसी सम्झौता राष्ट्रघाती परियोजना भन्दै यसको खारेजीको माग राखेर देशव्यापीरुपमा पोस्टर टाँसेको हो । गएराती देशका बिभिन्न शहरका मुख्य चोकलगायत बिभिन्न स्थानहरुमा पोस्टर टाँसिएको समाचार प्राप्त भएको छ ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ, भक्तपुर र ललितपुरले राष्ट्रघाती एमसीसी सम्झौता पारित नगर्न चेतावनी दिँदै जिल्लाका विभिन्न स्थानमा पोस्टरिङ गरेको छ । प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ, भक्तपुर र ललितपुरले शहरका विभिन्न ठाउँमा पोस्टर टाँसेका हुन् ।
यता , राष्ट्रघाती एमसीसी सम्झौता खारेजको माग गर्दै नेकपाले नारायणी ब्युरोअन्तर्गतका सबै जिल्लामा छ्यापछ्याप्ती पोस्टर टाँसेको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिकाका पुल्चोक, क्षेत्रपुर, दूरसञ्चार रोड, पारस बसपार्क, चौबिसकोठी, चनौलीदेखि पाँडे घुम्तीसम्म, भरतपुर महानगरपालिकाको कार्यालय प्रवेश द्वार, सबै वडा कार्यालय, सरकारी कार्यालय, क्याम्पस, कलेज, स्कुल, शिवनगर पुलिस बिट, मेघौली लाहुरेचोक, कान्छीचोक हुँदै शिवनगरसम्म, देवनगर, उजेलीनगर, गौरीगङ्गा सुकुमबासी टोललगायत स्थानहरू, राप्ती नगरपालिकाको खुरखुरेदेखि भण्डारा हुँदै लोथरसम्मको मुख्य राजमार्ग, समिटारदेखि कावर हुँदै सुरखण्डीसम्म, चौकीडाँडादेखि आँपपानी हुँदै बरिनटारसम्म, धमिले परेवाकोट, ओनेबाङ, स्कुल, कलेज अमिलेपानीको प्रहरी बिट, माडी नगरपालिकाको तिरौलीचोक, पर्सा, वसन्तपुर स्कुल कलेज र खैरहनी नगरपालिकाको शान्तिचोकदेखि पर्सा बजारसम्म, मुख्य राजमार्ग, कलकारखाना, स्कुल र कलेजमा पोस्टर टाँसिएको नेकपाले जनाएको छ ।
त्यसैगरी खैरहनीको होलिल्यान्ड चोकमा पोस्टर टाँस्न गएका तीन युवाको साइकल र पोस्टर पुलिसले कब्जा गरेको छ । त्यहाँ प्रहरीले पोस्टर टाँस्न अवरोध गरेको जनाइएको छ । त्यसैगरी मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाका सबै स्थान, स्कुल, कलेज, कारखाना मकवानपुरकै पहाडी भूभाग, काँगडा, राङ्सीराङलगायत स्थानमा पनि पोस्टर टाँसिएको खबर प्राप्त भएको छ । पोस्टर टाँस्न पार्टी, जवस र मोर्चाका नेता–कार्यकर्ताहरू खटेको पनि समाचारमा उल्लेख छ ।
अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसद्बाट पारित गराउन प्रधानमन्त्री केपी वली, काङ्ग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु मरिमेटेर लागेपछि उक्त कार्य राष्ट्रघाती भएको भन्दै सर्वत्र विरोध भैरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]