नेकपाद्वारा सोती हत्याकाण्ड र अमेरिकाका अश्वेत युवक फ्लोइड हत्याको बिरोधमा देशव्यापी प्रदर्शन

२०७७ असार १ गते, सोमबार

काठमाडौँ, १ असार । नेपाल कम्युनिस्ट पार्टीले रुकुमको चौरजहारीमा भएको हत्याकाण्ड र अमेरिकाका प्रहरीले एक अश्वेतलाई नियन्त्रणमा लिएर गरेको हत्याको विषयलाई लिएर आज देशव्यापी रुपमा बिरोध प्रदर्शन गरेको छ । नेकपानिकट विभिन्न जनवर्गीय सङ्गठनको आयोजनामा आज देशैभरि विरोध प्रदर्शन भएको हो । काठमाडौँ उपत्यका लगायत देशका बिभिन्न स्थानमा भएका बिरोध प्रदर्शनमा प्रहरीले ब्यापक धरपकड गरेको र केहिलाई गिरफ्तार गरिएको समाचार प्राप्त भएका छन । यसैक्रममा प्रहरीले अखिल क्रान्तिकारी काठमाडौका जिल्ला अध्यक्ष नेता गोविन्द बिष्ट लगायतलाई गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।
यासौगरी , कैलाली , कपिलवस्तु, दाङ्ग , रुपन्देहीलगायतका बिभिन्न स्थानमा बिरोध प्रदशन सम्पन्न भएका छन । एमसिसी, रुकुममा भएको जातीय विभेदको अपराध, अमेरिकामा भएको काला जातिमाथिको रङ्गभेदी अपराध लगायत, सरकारको स्वास्थ सामाग्री खरिद लगायतमा भएको भ्रष्टाचार लगायतका बिषयमा विरोध गर्दै नेकपा रुपन्देहीको संयोजनसहित अखिल ( क्रान्तिकारी), अनेमसघ (क्रान्तिकारि), अखिल नेपाल ट्रेड युनियन महासघ, दलित मोर्चा, युवा संगठन नेपाल लगायत मोर्चा र जनबर्गिय संगठनको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न भएको हो ।
गत जेठ १० गते रुकुमको चौरजहारी सोतीमा कथित उच्च जातकी एक युवतीसँग अन्तरजातीय प्रेम सम्बन्ध रहेका दलित युवक नवराज विकसहित ६ जनालाई युवतीको घरमा बोलाएर योजनाबद्ध रूपमा नृशंस हत्या गरिएको थियो । जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय बेहुला नवराज विकसँगै युवतीलाई बेहुली बनाएर घर ल्याउन भनी सोती पुगेका १८ जना युवकमध्ये बेहुलासहित भेरी नगरपालिका ४ रानागाउँका गणेश बुढा, चौरजहारी १ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, भेरी नगरपालिका ४ का सन्जु विक र गोविन्द शाहीको हत्या गरेर भेरी नदीमा फालिएको अवस्थामा शव फेलापारिएको थियो । सोती हत्याकाण्डका दोषीहरूलाई कारबाही गर्न माग गर्दै देशैभर विरोध प्रदर्शनहरू भइरहेका छन् । उक्त घटनामा रुकुमका स्थानीय र केन्द्रीय स्तरका जनप्रतिनिधिको नै संलग्नता र संरक्षण भएकाले कडा कारबाहीको माग गर्दै नेकपाका विभिन्न जनवर्गीय सङ्गठनसँगै विभिन्न राजनीतिक समूह र अधिकारकर्मीहरू आन्दोलित छन् । हत्याकाण्डमा सत्तासँग गाँसिएका पात्रहरू नै संलग्न रहेकाले घटनालाई तोडमोड गर्नसक्ने आन्दोलनकारीको आशङ्का छ ।
उता अमेरिकामा केही समयअघि नक्कली नोट कारोबार गरेको आरोपमा एक श्वेत प्रहरीले अश्वेत अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर लगातार ९ मिनेटसम्म घुँडाले घाँटी थिचेर क्रूरतापूर्वक हत्या गरेको भिडियो सार्वजनिक भएपछि त्यहाँ हालसम्म पनि ठूलठूला प्रदर्शनहरू भइरहेका छन् । अमेरिकाका ४० सहरमा त प्रदर्शन नरोकिएपछि कफ्र्य नै लगाइएको छ । प्रजातन्त्रको उत्तम नमुना भएको देश भन्दै संसारलाई लोकतन्त्र सिकाउने अमेरिकामा अश्वेतमाथि गरिएको उक्त बर्बर आक्रमणले अमेरिकी शासनव्यवस्था अमानवीय रहेको प्रमाणित भएको भन्दै श्वेत र अश्वेत सबै मिलेर आन्दोलन जारी राखेका छन् भने उक्त घटनाको विरोधमा युरोपमा समेत प्रदर्शन भइरहेको छ ।
अमेरिकामा अश्वेत युवक जर्ज फ्लोइड र नेपालमा दलित-गैरदलित युवक नवराज विक, टीकाराम सुनार, लोकेन्द्र सुनार, सन्जु विक, गोविन्द शाही र गणेश बुढाको क्रूरतापूर्वक हत्या भए पनि दुवै मुलुकका शासक र बतिथ जनप्रतिनिधिहरू हत्याराहरूलाई जोगाउन लागिरहेको भन्दै प्रदर्शन र आन्दोलनहरू भइरहेका छन् । नेकपाले रुकुम हत्याकाण्डका अपराधीहरूलाई कारबाही गर्न माग गरेको थियो भने नेकपा निकट दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समिति, भेरी–कर्णाली ब्युरो, रुकुम जिल्ला समिति र जाजरकोट जिल्ला समितिले दोषीमाथि कारबाही नगरिए कडा सङ्घर्ष गर्ने चेतावनी दिएका थिए । संयुक्त दलित सङ्घर्ष समितिलगायत अधिकारकर्मी सङ्गठनहरूले पनि नृशंस हत्यामा संलग्न दोषीहरुमाथि कारबाही गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका थिए । नेकपाका जनवर्गीय सङ्गठनहरूले दुवै हत्याकाण्डका विरुद्ध थप सङ्घर्ष चर्काउने भएका छन् ।
अमेरिकामा अश्वेत युवकमाथि श्वेत प्रहरीले घाँटी थिचेर गरेको हत्या र नेपालको रुकुमपश्चिममा कथित उच्च जातका मानिसले ६ जना दलित-गैरदलित युवाहरूलाई नृशंस हत्या गरेर नदीमा फ्याँकेपछि दुवैतिरका हत्याकाण्डका विरुद्ध न्यायप्रेमीहरू आन्दोलित छन् ।

प्रतिक्रियाहरु

[anycomment]