सोती हत्याकाण्ड र अमेरिकाका अश्वेत युवक फ्लोइड हत्याको बिरोधमा देशव्यापी प्रदर्शन

काठमाडौँ, २ असार । नेपाल कम्युनिस्ट पार्टीले रुकुमको चौरजहारीमा भएको हत्याकाण्ड र अमेरिकाका प्रहरीले एक अश्वेतलाई नियन्त्रणमा लिएर गरेको हत्याको विषयलाई लिएर सोमबार देशव्यापी रुपमा बिरोध प्रदर्शन गरेको छ । नेकपानिकट विभिन्न जनवर्गीय सङ्गठनको आयोजनामा आज देशैभरि विरोध प्रदर्शन भएको हो । काठमाडौँ उपत्यका लगायत देशका बिभिन्न स्थानमा भएका बिरोध प्रदर्शनमा प्रहरीले ब्यापक धरपकड गरेको र केहिलाई गिरफ्तार गरिएको समाचार प्राप्त भएका छन । यसैक्रममा प्रहरीले अखिल क्रान्तिकारी काठमाडौका जिल्ला अध्यक्ष नेता गोविन्द बिष्ट लगायतलाई गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।
यता , नेपाल कम्युनिस्ट पार्टीका जवस र मोर्चाहरूले सोमबार ललितपुर जिल्लामा रुकुम सोती सामूहिक हत्याकाण्ड र अमेरिकामा भएको अश्वेत नागरिक जर्ज फ्लोइडका हत्यारालाई कारबाही गर्नु माग गर्दै प्रदर्शन तथा कोणसभा गरेको छ । जिल्ला पार्टी र जवस–मोर्चाले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।
यस्तै , नेपाल कम्युनिस्ट पार्टी रामेछापले रुकुम चौरजहारी हत्याकाण्ड र अमेरिकामा अश्वेत नागरिकको हत्याको विरोधमा मार्चपास्ट र सभा सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला सेक्रेटरी सौगात, जिल्ला सदस्य पुष्प, जिल्ला सदस्य ज्वाला र अन्य राजनीतिक दलका नेताहरूले सम्बोधन गरेको समाचारमा जनाइएको छ । कार्यक्रममा सम्बोधन गर्दै सेक्रेटरी सौगातले रुकुम हत्याकाण्डका अपराधीहरूलाई निकम्मा सरकारले कारबाही गर्न आनाकानी गरेमा दोषीहरूलाई नेपाल कम्युनिस्ट पार्टीले छानबिन गरी कारबाही गर्ने बताए । कार्यक्रममा सहभागीहरूले अमेरिकी साम्राज्यवाद मुर्दावाद, छुवाछूत र भेदभाव अन्त्य गर, सामाजिक फासिवाद मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, हत्यारालाई कारबाही गर भन्दै साम्राज्यवाद र सामाजिक फासिवादविरुद्ध चर्को नाराबाजी गरेका थिए । कार्यक्रममा सयौँ जनसमुदायको उपस्थिति रहेको समाचारमा जनाइएको छ ।
यसैगरी , नेकपा ताम्सालिङ ब्युरो र विशेष जिल्लाहरूमा रुकुमपश्चिममा दलित युवाहरूको सामूहिक हत्याकाण्ड र अमेरिकामा अश्वेत युवकको हत्याका विरुद्ध प्रदर्शन तथा कोणसभा भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार काभ्रेका रोशी, बनेपालगायत पाँच ठाउँमा र सिन्धुपाल्चोकका दुई ठाउँमा विरोध ¥याली र कोणसभा सम्पन्न भएको हो । कार्यक्रममा ब्युरो र सम्बन्धित जिल्लाका विभिन्न जिम्मेवारीमा रहेका नेकताका नेता, कार्यकर्ता जवस–मोर्चाका नेतृत्वका साथै सर्वसाधारणको उपस्थिति थियो ।
कार्यक्रमका वक्ताहरूले नेपालको रुकुमपश्चिममा दलित युवाहरूमाथि कथित माथिल्लो जातिका भनिएकाहरूबाट जेठ १० गते भएको सामूहिक हत्याकाण्ड तथा अमेरिकामा अश्वेत युवक जर्ज फ्लोइडको हत्याको विरोध गर्दै एकीकृत जनक्रान्तिले मात्र सम्पूर्ण विभेदहरूको अन्त्य गरी समानतामूलक समाजको निर्माण गर्ने बताएका थिए ।
यसैगरी जातीय तथा रङ्गभेदविरोधी कार्यक्रम रामेछापको खाँडादेवीलगायत स्थानमा सम्पन्न भएको समाचार प्राप्त भएको छ । समाचारमा जनाइएअनुसार पार्टीको जिल्ला नेतृत्वका साथै स्थानीय जनसमुदायको सघन उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपालको रुकुममा भएको जातीय हत्याकाण्ड र अमेरिकामा अश्वेत जातिमाथि भएको बर्बर हत्याकाण्डको सख्त विरोध गर्दै अपराधीहरूलाई सख्त सजायको माग गरिएको थियो ।
यसैगरी, रुकुमपश्चिमको सोतीमा जेठ १० गते दलित समुदायका नवराज विकसहित ६ जना युवकको हत्या र अमेरिकामा श्वेत आर्मीले अश्वेत जातिका जर्ज फ्लोइडलाई अमानवीय तरिकाले गरेको हत्याको विरोधमा सोमबार चितवनका विभिन्न स्थानमा नेपाल कम्युनिस्ट पार्टी निकट जवस÷मोर्चाको नेतृत्वमा प्रदर्शन गरिएको छ । राप्ती नगरपालिका वडा नं. २ गड्यौलीचोकमा विरोध प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनको नेतृत्व युवा सङ्गठन नेपाल र अखिल (क्रान्तिकारी) का नेताहरूले गरेका थिए । प्रदर्शनपछि युवा सङ्गठन नेपाल चितवनका संयोजक राम सेढाईंले सम्बोधन गरेका थिए ।
यसैगरी रत्ननगर नगरपालिकाको डुम्रेचोकमा पनि प्रदर्शन भएको छ । त्यसैगरी कालिका नगरपालिकाको ११ नं. वडामा पनि विरोध प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्लेकार्डसहित भएको विरोध प्रदर्शनपछि कोणसभा गरिएको थियो । उक्त कोणसभामा कालिका नगर इन्चार्ज कुशलले सम्बोधन गरेका थिए ।
यसैगरी भरतपुर महानगरपालिकाको हाकिमचोकमा विद्यार्थी र दलित मोर्चाले गर्न लागेको विरोध प्रदर्शनलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरी अवरोधपछि मुख्य राजमार्ग रिजालचोकमा विरोध प्रदर्शन गरिएको थियो । यसैगरी मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं. १६, थाहा नगरपालिकाको पालुङटार, मनहरी गाउँपालिकाको हाँडी खोला लगायतका स्थानहरुमा पनि विरोध प्रदर्शन गरिएको समाचार प्राप्त भएको छ ।
यता , नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) लगायत जनवर्गीय सङ्गठनले पार्टीको जातीय र रङ्गभेदविरोधी केन्द्रीय कार्यक्रमबमोजिम नवलपुर जिल्लामा भव्य प्रदर्शन गरेको समाचार प्राप्त भएको छ । रुकुम पश्चिम सोती हत्याकाण्डका दोषीलाई कारबाही गरिनुपर्ने, नेपाल, अमेरिकालगायत विश्वभर जातीय आधारमा भएका विभेद अन्त्य हुनुपर्ने, मानवीय चेतनाको विकासमा जोड दिनुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने, बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने, नक्सा मात्र नभएर गुमेको भूमि फिर्ता हुनुपर्नेलगायत माग राखेर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा एक दर्जनभन्दा बढी नेता, कार्यकर्ता तथा विद्यार्थीको सहभागिता थियो । नेकपा निकट अखिल (क्रान्तिकारी) ले जेठ २९ गते पनि जिल्लामा प्रदर्शन गरेको थियो । उक्त सङ्गठनले आफ्नो मातृ पार्टी तथा सङ्गठनमाथि लादिएको प्रतिबन्धको खारेजी र विद्यार्थीमाथि हुने धरकपडसमेत बन्द गर्न जोड दिँदै आएको छ ।
उता , नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार दैलेख जिल्लामा अखिल (क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को आयोजनामा सोमबार रुकुम पश्चिममा नवराज विक र उनका साथीहरूको सामूहिक जातीय हत्याको विरोधमा प्रदर्शन भएको छ । नवराजको अन्तरजातीय विवाहका कारण हत्या गरिएको घटना र अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको अमेरिकी प्रहरीद्वारा गरिएको निर्मम हत्याविरुद्ध कार्यक्रम सम्पन भएको हो । विरोध कार्यक्रममा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) दैलेखकी अध्यक्ष पवित्रा र अखिल (क्रान्तिकारी) दैलेखका सदस्य शरदले सम्बोधन गरेको समाचारमा जनाइएको छ । कार्यक्रमका वक्ताहरूले समाजमा जातीय आधारमा गरिने छुवाछूत र भेदभावलाई सामाजिक अपराध घोषणा गर्नुपर्ने र अन्तरजातीय विवाहको विषयमा हत्या गरिएका नवराज विक र उनका साथीहरूका हत्यारालाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरे । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या हुनुले अमेरिकी साम्राज्यवादको चरित्र कति आतङ्ककारी रहेछ भन्ने कुरा पुष्टि भएको र संसारका न्यायप्रेमी जनसमुदायहरू आफ्नो मुक्ति र स्वतन्त्रताका लागि साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा वक्ताहरूले जोड दिएका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टीका सहायक सङ्गठन युवा सङ्गठन नेपाल, जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) र नेपाल महिला सङ्घ (क्रान्तिकारी) कैलालीले संयुक्त रूपमा जातीय र रङ्गभेदविरुद्ध प्रदर्शन गरेका छन् ।
कैलालीको गौरीगङ्गा नगरपालिकाको बडैपुर बजारमा सोमबार व्यापक विरोध प्रदर्शन भएको जानकारी युवा सङ्गठन नेपाल कैलाली जिल्ला अध्यक्ष विष्णुले दिए ।
प्रदर्शनकारीले रङ्गभेद गर्दै मारिएका अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइडका हत्यारालाई कारबाही गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, जातीयताका आधारमा रुकुममा नवराज विकसहित ६ जनाको हत्या गर्ने चौरजहारीका अपराधीलाई कारबाही गर, अपराधीलाई राजनीतिक पक्षपोषण बन्द गर, कथित कम्युनिस्ट सरकार राजीनामा दे, एमसीसीको पक्षमा मतदान गर्ने सांसदलाई जिल्ला प्रवेशमा निषेध गरौँ, नेपाल कम्युनिस्ट पार्टी जिन्दावादलगायत नारा लगाएका थिए ।
जनताको अभिलाशा बोकेको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघातका विरुद्ध बुलन्द आवाज उठाउँदै आएको बताउँदै युवा सङ्गठन नेपाल कैलाली जिल्ला अध्यक्ष विष्णुले सम्पूर्ण परिवर्तनकारी जनतालाई राष्ट्रघातका विरुद्ध साथ दिनसमेत अपिल गरे । शान्तिपूर्ण रूपमा गरिएको विरोध प्रदर्शनमा प्रहरी दमनमा उत्रिएको समेत उनले बताए । शान्तिपूर्ण आन्दोलन गर्न नदिए प्रतिकारमा उत्रने चेतावनीसमेत उनले दिए । प्रहरीको व्यापक दमनका बीच शान्तिपूर्ण कार्यक्रम सफल भएको उनले बताए ।
यता , रुकुममा नवराज विकलगायत ६ जना युवकहरूमाथि गरिएको नरसंहार र अमेरिकामा जर्ज फ्लोइडको हत्यासँगै काला जातिमाथि गरिएको दमनविरुद्ध रूपन्देहीमा प्रदर्शन गरिएको छ । नेकपा निकट जनवर्गीय सङ्गठनहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र विकले रुकुम हत्याकाण्ड दलाल पुँजीवादी राज्यसत्ताको उपज भएको बताए । उनले केपी वली नेतृत्वको सरकार दलाल पुँजीवादी राज्यसत्ताको सञ्चालक समिति भएको भन्दै रुकुम हत्याकाण्डका पीडितले न्याय पाउने सम्भावना कम भएको बताए । उनले दलितलगायत उत्पीडित जाति र समुदायमाथिको दमनविरुद्ध एक हुनुपर्ने भन्दै यसको समाधान क्रान्तिले मात्र गर्ने बताए । उनले नवराज विकलगायत युवाहरूको परिवारले न्याय नपाएमा हत्याराहरूलाई नेकपाले कारबाही गर्ने चेतावनी दिए । अमेरिकामा काला जातिमाथि दमन गरेर अमेरिकी साम्राज्यवादले आफ्नो असली चरित्र देखाएको उनले बताए । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी जिल्ला अध्यक्ष रेखा खनालले गरेकी थिइन् ।
नेकपाको केन्द्रीय कार्यक्रमअन्तर्गत पार्टीका जनवर्गीय सङ्गठनको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको नेकपा रूपन्देहीले बताएको छ । विरोध कार्यक्रममा जातीय विभेदविरुद्ध नाराहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । कार्यक्रम रूपन्देहीको बेलभरिया चोक वडा कार्यालयअगाडि सम्पन्न भएको समाचारमा जनाइएको छ ।