एमसीसीविरुद्ध ११ दलीय मोर्चाको प्रदर्शन : अमेरिकाले नेपालमा श्वेतआतङ्कवाद लागू गर्न खोजेको ठोकुवा

२०७७ असार १० गते, बुधबार

काठमाडौँ , १० असार । काठमाडौँको माइतीघरमा मङ्गलबार ११ दलीय मोर्चाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सामाजिक अभियन्ता तथा राष्ट्रिय जागरण मञ्चका केन्द्रीय सचिव नरबहादुर कार्कीले विदेशी भूमिमा गएका युवाहरूको हरेक वर्ष एक हजार शव नेपाल आउने गरेको पृष्ठभूमिमा अमेरिकाले नेपालमा श्वेतआतङ्कवाद लागू गर्न खोजेको बताएका छन् ।
अमेरिकी साम्राज्यवादले इराकमा ३० हजार र अफगानिस्तानमा ६० हजार जनता मारेको उदाहरण दिँदै मञ्चका सचिव कार्कीले अमेरिकाले संसारका ९ करोड जनतालाई घरबारविहीन बनाएको बताए । नेपालमा अमेरिकी परियोजना लागू गर्नुको उद्देश्य साम्राज्यवादी अमेरिकाले आफ्नो प्रभाव नेपालमा कायम गरी चीनको विकासलाई रोक्नु भएकाले नेपालमा एमसीसी लागू भए नेपाल सधैँका लागि पराधीन बन्ने प्रस्ट पारे । कार्यक्रममा सम्बोधन गर्दै कार्कीले भारतसँग गरिएको कोसी सम्झौता, महाकाली सम्झौता र गण्डक सम्झौताजस्ता सन्धिसम्झौताकै कारण आज नेपाली जनताको थाप्लोमा प्रतिव्यक्ति ३६ हजार ऋण पुगेको बताए । सरकारले भनेको कुरामा कुनै विश्वसनीय आधार नभएको भन्दै नामको अगाडि पीएचडी लगाएर अमेरिकाले फालेको कलो खाने केही दलाल र अमेरिकाको चाकडी गर्नेहरूले नेपाली जनताले एमसीसी पढेका छैनन् भन्ने गरेको बताए । त्यस्ता चाकडीवालाहरूले नेपालमा अमेरिका आएपछि कुनै कन्सल्टेन्सीमा काम पाउँछाँै कि भनी पर्खेर बसेको भन्दै त्यस्ता दलालहरूले जनतालाई एमसीसी बुझेका छैनन भन्नु हास्यास्पद तर्क भएको बताए । उनले भने, ‘आज अमेरिका जहाँजहाँ गएको छ, सेना लिएर गएको छ । अमेरिकाले सुरुमा कहिल्यै पनि सेना लग्दैन । पहिले एनजीओ पठाउँछ । देशलाई ऋणी बनाउँछ । देशभित्रै युद्ध चर्काउँछ । त्यसपछि वल्र्ड बैङ्क पठाउँछ । त्यसपछि देशभित्रका सेना, सांसद, मिडिया र दलहरूलाई किन्छ र लथालिङ्ग बनाउँछ । त्यसपछि मात्र सेना पठाउँछ । संसारमा ५० भन्दा बढी देशहरूमा अमेरिकाले गरेको अभ्यास त्यही हो ।’ कुनै पनि हालमा एमसीसी परियोजना नेपालका लागि घातक रहेको भन्दै कार्कीले उक्त सम्झौतामा राखिएका प्रावधानहरूले नेपाललाई पराधीन बनाउने बताए ।
यसैगरी , उक्त कार्यक्रमलाई सम्बोधन गर्दैनेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा देजमोका संयोजक सीपी गजुरेल ‘गौरव’ ले नेपालमा एमसीसी सम्झौता लागू भयो भने नेपाल एउटा रणभूमिमा बदलिने बताएका छन् । गजुरेलले एमसीसी नेपालको संसद्बाट पारित भई लागू भएमा नेपाल ठूला शक्तिराष्ट्रहरूको युद्धक्षेत्र बन्ने चेतावनी दिए । नेपाललाई रणभूमि बन्न दिने कि नदिने भन्ने प्रश्न उठेको प्रस्ट पार्दै गजुरेलले भने, ‘एकथरी मान्छेहरू खाएको पैसा पचाउनलाई एमसीसी सम्झौता पास गर्न ठिक्क परेर बसेका छन् । हामी उनीहरूलाई आग्रह गर्दछौँ– एमसीसीका पक्षमा भोट हाल्ने सांसदलाई भोलि जिल्लाजिल्लामा बहिष्कार गर्नेछौँ ।’ स्मरणीय छ, नेकपाले यसअघि नै एमसीसी पारित गर्ने सांसदहरुलाई जिल्लामा कारबाही गर्ने सार्वजनिक गरिसकेको छ ।
सभामुखलाई एमसीसी प्रस्ताव टेबुल नगर्न र सांसदहरूलाई भोट नहाल्न तथा बहसमा भाग नलिन आग्रह गर्दै गजुरेलले एमसीसीविरुद्ध सत्ताधारी पार्टीमै केपी वली अल्पमतमा रहेको र एमसीसीविरुद्ध ठूलो जनमत तयार भएको बताए ।
५५ अर्ब पचाउनलाई कतिपय दलालहरू र्याल काढेर बसेको भन्दै गजुरेलले एमसीसी परियोजना खारेज गर्नुपर्छ भन्नेहरूलाई दमन गर्ने केपी वलीले नक्सा जारी गरेर देखाएको देखावटी राष्ट्रवाद एमसीसीमा आएर बागमतीमा बगाइदिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]