संयुक्त राजनीतिक दलित संघर्ष समितिले आज साँझ मसाल जुलुस र भोलि वृहत् जनप्रदर्शन गर्ने

२०७७ असार १३ गते, शनिबार

काठमाडौं, १३ असार । संयुक्त राजनीतिक दलित संघर्ष समितिले आज साँझ मसाल जुलुस र भोलि वृहत् जनप्रदर्शनसहित दोस्रो चरणको आन्दोलन सम्पन्न गर्दै छन । संयुक्त राजनीतिक दलित संघर्ष समितिमा नेपाल दलित संघ-दलित नागरिक समाज, समाजवादी दलित मुक्ति महासंघ, दलित मुक्ति मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा, जातीय समता समाज, साझा सामाजिक न्याय विभाग, जात व्यवस्था उन्मूलन मोर्चा–नेपाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन, नेपाल राष्ट्रिय दलित केन्द्र, संघीय दलित शिल्पी मञ्च, राष्ट्रिय दलित मोर्चा, संयुक्त दलित अधिकार मंच–नेपाल, विभेद मुक्ति प्रगतिशिल समाज, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा लगायत १४ वटा संघ संगठनहरु आबद्ध छन । उनीहरु रुकुम पश्चिमको सोती नरसंहार, रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरण र धनुषा सवैलाका २३ वर्षीया शम्भु सदाको हत्याकाण्डका दोषीलाई छिटोभन्दा छिटो कानूनी कारबाही, पीडितलाई न्याय र पीडित परिवारको सुरक्षाको माग गर्दैै निरन्तर रुपमा आन्दोलित हुँदै आएका छन । यसैक्रममा आज साँझ दोस्रो चरणको आन्दोलनको पूर्वसन्ध्यामा मसाल जुलुस प्रदर्शन गर्दैछन ।
घोषित कार्यक्रम अनुसार भोलि काठमाडौं उपत्यका लगायत प्रदेश तथा जिल्लाका मुख्य सहरहरुमा समेत वृहत जनप्रदर्शन गरिने छ । काठमाडौंमा भोलि आइतबार माइतीघरबाट नयाँ बानेश्वरसम्म जुलुस प्रदर्शनसहित विशाल विरोधसभाको आयोजना गरिनेछ ।
संयुक्त संघर्ष समितिले शुक्रबार नयाँ बानेश्वरमा सडक बहस कार्यक्रम चलाएको थियो । कार्यक्रममा सत्तारुढ डबल नेकपा बाहेक पार्टीका शीर्ष नेतृत्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]