अखिल नेपाल क्रान्तिकारी गार्मेन्ट तथा टेक्सटाइल मजदुर सङ्घ ललितपुर जिल्ला समिति गठन

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घअन्तर्गत रहेको पेसागत सङ्घ अखिल नेपाल क्रान्तिकारी गार्मेन्ट तथा टेक्सटाइल मजदुर सङ्घको ललितपुर जिल्ला समिति गठन भएको छ । महासङ्घको उपत्यका विशेष क्षेत्रीय समन्वयन समितिका संयोजक शिशिर थापाको प्रमुख आतिथ्य एवम् ललितपुर जिल्ला महासङ्घका अध्यक्ष राजकुमार मगर र पेसाका सचिव कुमार घिसिङ, कोषाध्यक्ष टीका घिमिरे अतिथि रहेको उक्त कार्यक्रममा नरबहादुर मगरको संयोजकत्वमा ११ सदस्यीय समिति निर्माण गरिएको बताइएको छ । सङ्गठनका सदस्यहरूमा क्रमशः राजेश महर्जन, प्रमोदलाल कर्ण, लक्ष्मी स्याङ्तान, सुगु तामाङ, घनश्याम भुजेल, प्रकाश अधिकारी, रामबहादुर राजवंशी रहेका छन् ।
उक्त कार्यक्रममा क्षेत्रीय समन्वय समितिका संयोजक शिशिर थापाले अहिलेको दलाल सत्ताले मजदुरलाई उत्पीडन गरिरहेकाले त्यसकै भक्त बनी कारखानाका मालिकले आफ्नै मजदुरलाई निष्कासन गरिरहेको र दलाल व्यवसायी र मजदुरविरोधी सरकारसँग एकैसाथ लड्नुपर्ने बताए । त्यसका लागि सम्पूर्ण गार्मेन्ट तथा टेक्सटायलमा काम गर्ने मजदुर सङ्गठित हुनुपर्नेमा उनले जोड दिए ।
ललितपुर जिल्ला महासङ्घका तर्फबाट राजकुमार मगरले बोलेका थिए । साथै अखिल नेपाल क्रान्तिकारी गलैँचा मजदुर सङ्घले अन्य पाँचवटा क्रियाशील पेसागत सङ्घसँग कार्यगत एकता गर्दै गलैँचा मजदुरले भोगिरहेको समस्या र कोरना भाइरसका कारण श्रम क्षेत्रमा उत्पन्न सङ्कटबारेमा मुद्दा उठाई पाँचबुँदे मागपत्र पेस गरेको छ । त्यसमा युवराज जिरेल उपप्रमुख रहेकोे गार्मेन्ट, कार्पेट, टेक्सटायल मजदुर युनियन नेपाल, नेपाल गलैँचा श्रमिक सङ्घका तर्फबाट सोनामसिंह घिसिङ, प्रतिनिधि परिषद् जुगावका तर्फबाट सविरमान विक, नेपाल समाजवादी गलैँचा मजदुर सङ्घबाट मेलोन लामा, अखिल नेपाल क्रान्तिकारी गलैँचा मजदुर सङ्घका तर्फबाट महेश लामाद्वारा संयुक्त हस्ताक्षर गरी नेपाल गलँैचा उत्पादक तथा निकासीकर्ता सङ्घ काठमाडौँलाई ज्ञापनपत्र बुझाएको छ ।