नेकपाले मर्मत सम्भार गरेको पुल नेपाली सेनाले भत्काएपछि पुन: मर्मत सम्भार

२०७७ भाद्र ५ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मर्मत सम्भार गरेको कालीकोटको रास्कोट नगरपालिका ९ फुगाडमको पुल नेपाली सेनाले भत्काएपछि नेकपाका कार्यकर्ताले पुन: मर्मत सम्भार गरेका छन् । गत साउन १३ गतेको बाढीले फुगाडको बेलिब्रिजसहित झोलुङ्गे पुल बगाएपछि नेकपाका नेता–कार्यकर्ताहरूले जनश्रमदान गरी पुल मर्मतसम्भार गरेका थिए । पुल र बेलिब्रिज बाढीले बगाएपछि पचाल झरना, पलाँता गाउँपालिका, बाजुरा, मुगु र हुम्लाबाट आवतजावत गर्ने मानिसलाई अप्ठेरो परेको थियो । जनताको अप्ठेरोलाई समाधान गर्न नेकपा कालीकोटले साउन ३० गते अस्थायी पुल बनाएर जनतालाई आवतजावतमा सहजता प्रदान गरेको थियो ।


नेकपाका कार्यकर्ताले पुल बनाएको थाहा पाएपछि नेपाली सेनाको टोलीले यही भदौ १ गते त्यहाँ पुगेर बिनाकारण उक्त पुल भत्काइदिएको थियो । सेनाले पुल भत्काएपछि जनताको आवतजावतमा फेरि उस्तै कठिनाइ उत्पन्न भयो । जनताले एउटा फलामको तारमा ज्यान जोखिममा राखेर जनही मान्छे तारेको ५०० रुपैयाँ भारी तारेको ३०० सय रुपैयाँ तिर्नुपर्ने बाध्यता उत्पन्न भएको थियो ।
नेकपाका कार्यकर्ताले बनाएको पुल सेनाले भत्काएको खबर पुनः नेकपाको कार्यालयमा पुग्यो । त्यसपछि नेकपा कार्यकर्ताले भदौ ३ गते दुई दिनपछि खच्चड हिँड्न मिल्ने नयाँ पुल बनाएका छन् । सेनाले भत्काइदिएको पुल नेकपा कार्यकर्ताले फेरि बनाइदिएपछि भुराबगड, घाटाचौर, भैसासैन, जारकोट, थिर्पु बजार हुँदै बाजुरा, मुगु, हुम्ला जिल्लासम्म पुग्ने यात्रु खुसी भएका छन् । सेनाले पुल भत्काएपछि दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सर्वसाधारणहरुलाई समस्या परेको थियो । अहिले नेकपा कार्यकर्ताले खच्चड नै हिँड्न मिल्ने पुल बनाएपछि सर्वसाधारण निकै खुसी भएको नेकपा जिल्ला सेक्रेटरी रणदीप ऐडीले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]