सत्ताधारी नेकपाभित्र भागवण्डाको किचलो

२०७७ आश्विन ११ गते, आईतवार


काठमाडौँ । सत्ताधारी नेकपाभित्र लामो विवादपछि सुल्झिएको भनिएका विषयमा पुनः उल्झन थालेका छन् । पार्टीभित्रको लामो अन्तरविरोध र विवाद अन्त्य गर्दै केही समय अघि स्थायी कमिटी बैठक टुङ्गिएको थियो । स्थायी कमिटीको बैठकको म्यान्डेटअनुसार ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने’ छ । यही बुँदाको बलमा सत्ताधारी नेकपाका नेताहरु अहिले प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्दै सरकारमा आफ्ना मान्छे पठाउन कम्मर कसेर लागेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल र संवैधानिक निकायमा नियुक्ति गर्दा आफ्नो गुटका नेताहरुलाई समावेश गर्न कडा दबाब दिइरहेका छन् । जसका कारण सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक सम्पन्न भएको आधा महिना नाघिसक्दासमेत मन्त्रिमण्डल पुनर्गठन र संवैधानिक निकायका रिक्त पदहरुमा नियुक्ति हुन सकेको छैन ।
सत्ताधारी नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच अहिलेसम्म सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्री हेरफेरको मापदण्ड के बनाउने भन्ने सहमति हुन सकेको देखिँदैन । ओली र प्रचण्डले मन्त्रिमण्डल हेरफेर र संवैधानिक निकायका रिक्त पदहरुमा नियुक्ति गर्ने विषयमा छलफललाई निरन्तरता दिए पनि आपसी स्वार्थका कारण अझै मूर्तरुप दिन सकेका छैनन् । संसदीय पद्धतिअनुसार मन्त्री हेरफेर गर्ने र संवैधानिक निकायमा नियुक्ति गर्ने विषयहरु प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्दछ । तर, सत्ताधारी नेकपाले सरकार, पार्टी पद्धतिअनुसार चल्नुपर्ने भन्दै मन्त्री हेरफेर र सरकारले गर्ने नियुक्तहरुमा पार्टीको नाममा आफ्ना गुटका नेता र कार्यकर्ता पठाउने प्रपञ्च हुन थालेको ओली पक्षको ठम्याई छ । सरकारलाई पार्टी पद्धतिअनुसार चल्नुपर्छ भन्दै असफल बनाउन पार्टीकै नेताहरु लागिपरेको ओली पक्षका नेताहरुको बुझाइ छ । सरकारमा पार्टीको नाममा भागवण्डा गर्दा प्रधानमन्त्री ओली असफल हुने र त्यसको फाइदा उठाउन अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललगायतका नेताहरु सक्रिय भएको ओली पक्षको बुझाइ छ ।
सत्ताधारी नेकपाको यही भागवण्डाको लडाइँले पार्टीभित्रको किचलो भुसको आगोजस्तै भित्रभित्रै फैलँदै गएको छ । तत्कालका लागि मन्त्रिमण्डल हेरफेर र केही नियुक्तिमा भागवण्डा गरेर नेकपाभित्रको विवाद साम्य भएको जस्तो देखिएला तर यो भित्रभित्र झन्झन् चर्कंदै जाने निश्चित देखिन्छ । किनकि सत्ताधारी नेकपाभित्र दुई अध्यक्षले एकले अर्कोलाई स्वीकार्ने अवस्थै देखिन्न भन्ने राजनीतिक विश्लेषकहरुको ठहर छ । सत्ताधारी नेकपामा अहिले पनि माओवादी धार र एमाले धार रहिरहेका छन् । अब पार्टीको महाधिवेशन नजिकिँदै जाँदा यो धार झन्झन् बढ्दै जाने उनीहरुको ठोकुवा छ । एउटा कुरा के विचारणीय छ भने सत्ताधारी नेकपाभित्र पूर्वएमालेका नेता, कार्यकर्ताले पूर्व माओवादीको हातमा पार्टीको नेतृत्व कुनै पनि हालतमा सुम्पिँदैनन्, यो कुरा घाम जत्तिकै छर्लङ्ग छ, तर पनि प्रचण्ड अन्तिम प्रयास गरिरहेका छन्, त्यो उनको लागि आत्मघाती हुने निश्चित छ भन्ने राजनीतिक विश्लेषकहरुको तर्क छ । यी तमाम तर्कहरुलाई नियाल्दा सत्ताधारी नेकपाभित्रको विवाद तत्कालका लागि समाधान भएको जस्तो देखिएन पनि भित्रीरुपमा झन्झन् चर्कंदै जाने निश्चित छ, जसको नतिजा पार्टीको आगामी महाधिवेशनले देखाउने छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]