अदालतको आदेशको अबज्ञा : नेकपाका नेता पुन: गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई अदालतले रिहा गर्ने र प्रहरीले गिरफ्तार गर्ने क्रम रोकिएको छैन । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘विरही’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । मङ्गलबार जिल्ला अदालत सुनसरीले रिहा गरेलगत्तै विरहीलाई प्रहरीले पुनः गिरफ्तार गरी सुनसरीबाट भोजपुर लगेको जनाइएको छ ।
यस्तै नेकपाका अर्का केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई पनि जिल्ला अदालत सुनसरीले रिहा गर्नेबित्तिकै गिरफ्तार गरेर काठमाडौँ लगेको छ । वीरजङ्गलाई गिरफ्तार गरेको यो छैटौँपटक हो ।
यसैगरी एक वर्षदेखि रामेछाप जिल्ला कारागारमा रहेका नेकपा रामेछापका पूर्वजिल्ला इन्चार्ज कुलदीप मगर ‘अभिलास’ लाई जिल्ला अदालत रामेछापले रिहा गर्न आदेश दिए पनि प्रहरीले पुनः गिरफ्तार गरी बेपत्ता बनाएको पारिवारिक स्रोतले जनाएको छ । उनीमाथि सरकारले आगजनी, विस्फोटलगायत झूट्टा मुद्दा लगाएको र सोमबारको बहसपछि जिल्ला अदालतले रिहा गर्न आदेश दिए पनि अदालत नल्याई कारागारनजिकैबाट प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरी बेपत्ता बनाएको जानकारी अभिलासका पक्षमा बहसपैरवी गर्दै आएका अधिवक्ता पाण्डवराज प्रसाईंले दिएका छन् ।