२२ राजनीतिक संगठनले सरकारको राष्ट्रघाती एबम् जनघाती कार्यबिरुद्ध प्रदर्शन गर्ने

काठमाडौं । लामो समयदेखि सरकारको राष्ट्रघाती एवम् जनघाती कार्यको विरोध गर्दै राष्ट्र र जनताका पक्षमा संघर्षरत २१ राजनीतिक संगठनको कार्यगत एकताको २७ कात्तिकको बैठकले वामपन्थी संगठन समाजवादी राष्ट्रिय मञ्च, नेपाललाई कार्यगत एकतामा सामेल गरेको छ । बैठकले अब २२ वटा राजनीतिक संगठनको कार्यगत एकताद्वारा मंसिर ७ गते काठमाडौं लगायत सातवटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकका निर्णहरु देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरेका छन । वक्तव्यमा अमेरिकी संस्था एम.सी.सी.सँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा कार्यगत एकताले गर्दै आएको संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको उल्लेख गरिएको छ । संघर्षलाई सशक्त बनाउने निर्णय लिंदै २२ वटा राजनीतिक संगठनको तर्फबाट आगामी मंसिर ७ गते दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रमको आयोजना गरिएको छ । यसै प्रकारको कार्यक्रम देशका सबै प्रदेशले कम्तीमा एक–एक स्थानमा समेत आयोजना गर्ने प्रयत्न समेत निर्णय गरिएको छ ।

कार्यगत एकतालाई अझ व्यवस्थित गर्न र यसलाई अझ माथि उठाउनका लागि नीतिगत आन्तरिक छलफल चलाउनुका साथै संगठनात्मक संरचनाहरु निर्माण गर्ने विषयमा पनि आन्तरिक रुपमा छलफल गरी आगामी बैठकमा निर्णय लिइने जनाइएको छ ।
कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।