‘संयुक्त मोर्चा : दलाल संसदीय व्यवस्थाविरूद्धको क्याम्पियन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीचको संयुक्त मोर्चा दलाल संसदीय व्यवस्थाविरूद्धको क्याम्पियन भएको बताएका छन् । प्रवक्ता प्रकाण्डले कम्युनिस्टहरुको उद्देश्य नेपाली समाजलाई आमूल परिवर्तन गर्ने भएको बताउँदै यसको नेतृत्व संशोधनवादी पार्टीहरुबाट सम्भव नभएको ठोकुवा गरेका छन् । प्रवक्ता प्रकाण्डको भनाइ छ– “अहिलेको सङ्कटको समाधान संसदीय व्यवस्था होइन, वैज्ञानिक समाजवाद नै हो । त्यसका लागि क्रान्तिकारीहरुबीच वृहत् एकता र धु्रवीकरण आजको आवश्यकता हो । अर्थात् दलाल संसदीय पुँजीवादी व्यवस्थाका विरुद्ध कम्युनिस्टहरुबीचको संयुक्त संघर्ष आवश्यक छ । भर्खरै घोषणा गरिएको संयुक्त मोर्चा त्यसैका लागि ठूलो क्याम्पियन हो । केपी ओली सरकारले देशमा गरिरहेको राष्ट्रघात, जनघात, भ्रष्टाचारलाई दृष्टिगत गरेर वा उत्तरसाम्राज्यवाद र दलाल पुँजीवाद विरुद्ध संघर्ष गर्न जनतालाई अपिल गर्ने उद्देश्यका साथ यो मोर्चाको घोषणा गरिएको हो । हामीले नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका विभाजन, टुटफुट, संशोधनवाद र सङ्कीर्णता आदि समग्र बिषयलाई समीक्षा आवश्यक गर्न आवश्यक छ । देशको वर्तमान सङ्कटपूर्ण अवस्थामा इमानदार देशभक्त, क्रान्तिकारी पार्टीहरू र प्रगतिशील लोकतान्त्रिक शक्तिहरुबीच बृहत् मोर्चाबन्दी आवश्यक छ । हामीले ओली सरकारको फासीवाद र दलाल संसदीय राज्यसत्ता विरुद्ध तत्कालै जनसंघर्षका कार्यक्रमहरु तय गरेर अगाडि बढ्दै छौं । यसको अर्थ संघर्षहरु मोर्चामा मात्र सीमित हुँदैनन् । साम्राज्यवाद तथा दलाल पुँजीवाद विरोधी देशभक्त र क्रान्तिकारीहरूलाई हामीले मोर्चामा गोलबन्दै लैजाने छौं ।