ओली प्रचण्डबीच भाले भिडन्त : देशको राजनीति मुठभेडतर्फ

२०७७ माघ २५ गते, आईतवार


काठमाडौँ । सत्ताधारी नेकपाको अन्तर कलहले देशको राजनीतिलाई मुठभेडतर्फ धकेलेको छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि एकथरि संसद् पुनस्र्थापनाको पक्षमा कोकोहोलो मच्याइरहेका छन् भने अर्कोथरि निर्वाचनको रोइलो गरिरहेका छन् । उनीहरुको यो कोकोहोलोले देश र जनता प्रताडित भएका छन् । जनता कोरोनाबाट इन्तु न चिन्तु भएको बेला एक ट्याब्लेट औषधि, एक छाक खाना बाँड्न नसक्ने र आपूm ८४ व्यञ्जन खाएर रमाउने सत्तासिन दल र नेताहरु अहिले तिनै जनतासामु आफ्नो स्वार्थका लागि रोइकराइ गर्न पुगेका छन् । हिजो जनता रोग र भोकसँग लाडिरहँदा चुँसम्म नबोल्ने सत्तासिन दल र नेताहरु अहिले साखुल्ले भएर लाज पचाउँदै जनता नै सर्वेसर्वा भएको भन्दै लम्पसार परिरहेका छन् । जसअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली जुनसुकै मूल्यमा चुनाव गराएरै छोड्ने भन्दै सडकमा ओर्लिएका छन् भने नेकपाको प्रचण्ड झुण्ड सडकबाटै ओलीलाई सत्ताच्यूत गर्ने र विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने खेलमा लागेका छन । यी दुवै पक्ष गाउँ–गाउँबाट कार्यकर्तालाई काठमाडौँ ल्याएर आपूm बलियो भएको देखाउने प्रयासमा लागेका छन् भने एक–अर्कालाई सत्तोसराप गर्दै नेता– कार्यकर्ताबीच मुठभेडको स्थिति सृजना गर्दै छन । शुक्रबार बिहान प्रचण्डले पत्रकार समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले गृहयुद्ध चाहेको हो ? भनी प्रश्न गरेका थिए, जसको जवाफ दिउँसो भएको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने बताएर दिए । जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले हिंसात्मक आन्दोलनप्रति सरकार कठोर ढंगले प्रस्तुत हुने संकेत गरे । ‘प्रतिगामी अवसरवादी तत्वहरुले सबै प्रकारका षड्यन्त्र र भ्रमको सहारा लिँदै गएका छन् । यदि राजनीतिक नेतृत्वले आत्मसमर्पण गर्दैन भने मांसाहारी आन्दोलन गरेर विस्थापित गरिनेछ भन्ने घोषणा गर्दै हिँडेका छन्,’ बादलले भने– ‘ती मांंसाहारी आन्दोलन गर्नेलाई हाम्रो संविधान र कानुनले अपराध घोषणा गरेको छ । त्यस्तो आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।’
प्रतिनिधिसभा विघटनको बिरोध गर्दै प्रचण्ड झुण्डले बिहीबार नेपाल बन्द ग-यो, जसको जवाफ शुक्रबार प्रधानमन्त्री ओलीले जनसभा गरेर दिए । ओलीले प्रचण्ड झुण्डले आन्दोलनलाई हिंसात्मक रूप दिने कोसिस गरेको आरोप लगाउँदै नेपालमा कसैले पनि हिंसा मच्चाउन नसक्ने बताए । ‘अब साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? के उहाँले चिकेनचिल्ली खान्छु भनेको हो ? त्यो भनेको नरभक्षी आन्दोलन हो, तर नेपालमा नरभक्षी आन्दोलनको दिन गए, कसैले हिंसा मच्चाउन सक्दैन,’ ओलीले भने– ‘नेपाल सधैँ शान्तिपूर्ण रहन्छ, नरभक्षी आन्दोलन चलाउने कसैले नसोचे हुन्छ ।’
यतिबेला सतासिन नेकपाका प्रचण्ड झुण्डको उद्देश्य ओलीलाई कम्जोर देखाउने र ओलीको उद्देश्य प्रचण्ड झुण्डलाई कमजोर देखाउने रहेको देखिन्छ । सत्ताधारी दल भित्रको यो लडाईले देशमा संसदीय व्यवस्था असफल भएको पुष्टि गरेको र अब राष्ट्र , राष्ट्रियता र जनाताको लागि संसदीय व्यवस्थाको बिकल्प खोज्ने बेला भएको आमसचेत नागरिकको ठहर छ । – क्षेप्यास्त्र साप्ताहिक

प्रतिक्रियाहरु

[anycomment]