वर्तमान संकटको निकासको निम्ति तीन बुँदे सहमति

२०७७ फाल्गुन २३ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले देशको वर्तमान संकटको निकास नयाँ ढङ्गले दिनको निम्ति सरकारसँग तीन बुँदे सहमति भएको बताएका छन । उनले देशमा जुन संकट छ, यो संकटको निकास नयाँ ढङ्गले दिनको निम्ति निकास नयाँ, अग्रगामी, क्रान्तिकारी अर्थात् कम्युनिस्ट निकास हुनु जरुरी भएको र त्यो निकासमा पहल गर्नको निम्ति यो किसिमको राजनीतिक सहमति, राजनीतिक नीति र राजनीतिक वातावरण जरुरी भएको निष्कर्षसहित सरकारसँग ३ बुँदे सम्झौता गरेको बताएका छन् । यो इतिहासको आवश्यकता समेत भएको प्रवक्ता प्रकाण्डको ठोकुवा छ ।

प्रवक्ता प्रकाण्डले नेपालमा राजतन्त्र त्यसपछि राजतन्त्रात्मक संसदीय व्यवस्था र २०६२–६३ पछि संघीय लोकतान्त्रिक गणतन्त्रका नाममा तीनवटा व्यवस्था आए पनि काम एउटै भएको ठोकुवा गरे ।

उनले कतिपय कुराहरु त अहिले राजतन्त्रभन्दा पछाडि फर्किएको दावी गर्दै व्यवस्था तीनथरि फेरिए पनि जनताको अवस्था उस्तै भएको बताए । उनले भने– ‘व्यवस्था त तीनवटा चले, राष्ट्रघात एकपछि अर्को बढेको छ । त्यसैले यो राज्यव्यवस्था र शासन व्यवस्थाले नै राष्ट्र र जनताको जीवनमा अकल्पनीय संकट ल्याएकोले यसको अन्त्य हुनुपर्छ ।’

प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्ति निरन्तर चलिरहेको बताउँदै एकीकृत जनक्रान्तिअन्तर्गत अहिले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका निम्ति राजनीतिक संघर्ष, शान्तिपूर्ण गतिविधि र प्रक्रियाबाट अगाडि बढ्दा जनताको अभिमतबाट राष्ट्रका मुद्दा र संकटलाई फैसला गर्ने विधि अपनाएको समेत बताएका छन । उनले त्यसलाई नेतृत्व गर्ने कार्यक्रम भनेको तत्काल प्रगतिशील संयुक्त सरकार बनाएर जाऔँ र यसबाट निकास खोजौँ न त भन्ने कुरा भएको बताउँदै यसबाट निस्कने निकास भनेको वैज्ञानिक समाजवाद हुने दाबी गरेका छन् । उनले जनतालाई आफ्नो राज्यसत्ता, आफ्नो शासन व्यवस्था, आफ्नो नेतृत्व र पार्टी छान्ने स्वतन्त्रता दिने मुख्य कुरा भएको बताउँदै यही कार्यक्रमलाई अगाडि लैजान अहिले शान्तिपूर्ण कार्यक्रमबाट अघि बढ्ने निर्णय गरेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]