‘राज्यले महिलालाई समान अधिकार र अवसर दिनुपर्छ’

२०७७ फाल्गुन २५ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राज्यले महिलाहरूलाई समान अधिकार र अवसर दिनुपर्ने बताएका छन । महासचिव विप्लवले १११ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कपिलवस्तुको जिल्लाको शिवगढीमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोह लाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
महासचिव विप्लवले अहिले चलिराखेको संसदीय व्यवस्था ठिक कि यो भन्दा राम्रो वैज्ञानिक समाजवादी व्यवस्था ठिक यो भनेर जनतालाई चुनाव गर्न (जनमतसंग्रह) दिनुपर्ने बताउदै भने ,– ‘हामीले भनेका छौँ जनमतसंग्रह एकचोटि नेपाली जनतालाई दिनुपर्छ, मान्छे चुन्ने होइन, दल चुन्ने होइन, एक चोटि व्यवस्था चुन्ने अधिकार नेपाली जनतालाई दिनुपर्छ, दिनुस्, तपाई यो कुरा हामीले वार्तामा भनेका छौँ ।’
वार्ताको क्रममा पनि आफूहरुले यही कुरा राखेको भन्दै सरकार पनि यसमा राजी भएकाले अब सबै जनताले यो अवसर पाए नेपाली समाज शान्तिपूर्ण रुपमा रुपान्तरण गर्न सकिने पनि उनले ठोकुवा गरे । महासचिव विप्लवले अहिले सरकार र आफूहरुबीच जुन सहमति बनेको छ जनताको पक्षमा गरिएको सहमति हो भन्दै यो कुनै ठूलो भयकंर ठूलो सम्झौता केही नभएकोले कसैलाई नआत्तिन आग्रहगर्दै देशलाई नयाँ ठाउँमा पुर्याउनका लागि गरिएको सहमति भएकाले सबै जनता गोलबन्द भएर सहयोग गर्न आग्रह गर्दै अग्रगमनका लागि सबै एक ढिक्का हुन अपिल गरे ।
१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर भएको सम्मेलनमा विप्लवले महिलालाई समान अवसर र अधिकार दिनुुपर्ने बताउदै दमन र अन्यायका विरुद्ध संघर्ष गर्न र लड्न पनि सबै महिलालाई अपिल गरे । महासचिव विप्लवले हतियारको प्रसंगमा कुरा राख्दै हतियार न हिजो रहेको न अहिले रहेको भन्दै उहाँले आवश्यक परे सबै चिज हतियार बन्छ, कलमदेखि भान्साका चक्कुहरुसम्म हाम्रा हतियार हुन् ।’ आफूहरुसँग विचारको हतियार रहेको बताउँदै उनले भने ,-‘कसैले दमन गर्न खोजे हाम्रा कला, नाँच, कथा, कविता, कलम सबै लिएर लड्छौं, बन्दुक लिएर कोही दबाउन खाेजे बन्दुक नै लिएर लड्छौ, ढुक्क हुनुस् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटि संयोजक बन्धु चन्दको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, पूर्व सभासद सरला रेग्मी, सहिद परिवार समाजका अध्यक्ष खुमा सुबेदी, दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष सिता विक, बेपत्ता योद्धा परिवारका अध्यक्ष राम बहादुर थापा सुन्दर, अखिल (क्रान्तिकारी) का सचिव सन्तोषी भट्टराई, युवा संगठन नेपालका केन्द्रिय सदस्य विश्लेषण थापा लगायतले सम्बोधन गरेका थिए । संगठनका मसहासचिव धीरेन्द्रा उपाध्यायले सञ्चालन गरेको कार्यक्रममा सामना जनसांस्कृतिक परिवार र छितिज जनसांस्कृतिक परिवारका कलाकारले विभिन्न प्रस्तुति राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राजकुमारी शाहीले राखेको थिइन् ।
“महिला हिंसा र फासीवादी दमनका विरुद्ध हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन!!” भन्ने मूल नाराका साथ भव्य र्यालीसहित उद्घाटन भएको नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनको बन्दसत्र भने मंगलबारदेखि सुरु हुनेछ । सम्मेललको बन्दसत्रले नयाँ नेतृत्व र नीति तथा कार्ययोजना निर्माण गर्ने आयोजक कमिटिले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]