‘ ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर’

२०७७ चैत्र ६ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्र्टीका नेता एवं रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेसराज भुसालले सरकारले ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन । उनले नेपाल कम्युनिस्ट पार्र्टी आत्मसमर्पण गरेर वार्ता नआएको बताउदै नेकपाका नेता कार्यकर्तालाई तत्काल रिहा गरेर दुई पक्ष भएको ३ बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन । नेता भुसालले अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिद्धारा बुटवलमा भएको “२३ औं सांस्कृतिक प्रतिरोध दिवस” कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
कार्यक्रममा कवि एवं लेखक तथा राजनीतिक विश्लेषक दिल साहनीले कुनै पनि परिवर्तन, आन्दोलन, क्रान्ति सम्पन्न गर्नको लागि सांस्कृतिक कर्मीहरूको महत्वपूर्ण भूमिका रहने भएकाले प्रतिक्रियावादी राज्यसत्ताले जहिल्यै पनि सांस्कृतिक कर्मीहरूलाई नरूचाउने अर्थात् गलत नजरले केन्द्रमा राख्ने बताए ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका महासचिव सागरले पूरानो छाडा संस्कृति र दलाली संस्कार विरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे । सागरले युवा संगठन नेपालको चौंठो राष्ट्रिय सम्मेलनमा दलाली संस्कार र संस्कृति विरुद्ध महत्वपूर्ण निर्णयहरू गर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सामना परिवार र क्षितिज सांस्कृतिक परिवारको विशेष नृत्य प्रस्तुती रहेको थियो । साथै कार्यक्रममा विभिन्न कवि एवं स्रष्टाहरूद्धारा राष्ट्रियता , जनगणतन्त्र, जनजीविका तथा वैज्ञानिक समाजवादको पक्षमा, महान सांस्कृतिक सहिदहरूको सम्झनामा सिर्जित कविता, जनवादी गीत र हास्यव्यङ्ग्य प्रस्तुती समेत रहेको थियो ।
सामना सांस्कृतिक परिवारका संयोजक सरल माझीको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया, प्रमुख अतिथि नेकपाका नेता तथा रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेषराज भुसाल र कार्यक्रमको स्वागत मन्तव्य महासंघका लुम्बिनी ब्यूरो संयोजक तथा अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगरले राखेका थिए। ।

प्रतिक्रियाहरु

[anycomment]