नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ता टोलीका प्रमुख प्रकाण्ड र प्रधानमन्त्री केपी ओलीबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा तीन बुँदै सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई र मुद्दा खारेजीको विषयमा छलफल भएको बताइएको छ । छलफलमा नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताको रिहाई र उनीहरुमाथि लगाइएको मुद्दा खारेजी गर्ने कार्य अन्तिम चरणमा पुगेको र प्रगतिमूलक भएको निष्कर्ष निकालिएको बताइएको छ ।
उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ताटोलीका प्रमुख प्रकाण्डले देशमा दोस्रो चरणको कोरोना संक्रमण अत्यधिक बढेको र त्यसको रोकथामको लागि सरकारी धारणाको माग गरेका थिए भने प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले चालेका कदमको बारेमा जानकारी गराएको बताइएको छ । कोरोना नियन्त्रणका लागि योजनाबद्धरुपमा पहल गर्दै अन्तर्राष्ट्रिय नाकालाई बन्द गर्नुपर्ने, आवश्यक नाकालाई नियमन गरेर मात्र खुला गर्ने, आमजनतालाई स्वास्थ्य नियम पालना गर्न प्रेरित गर्दै कडाई गर्नुपर्ने र कोरोना संक्रमणको दोस्रो लहरबाट प्रभावित सहर र गाउँहरुलाई तुरुन्त नियन्त्रणमा लिँदै स्वास्थ्य जाँच र स्वास्थ्य नियमलाई समेत कडाइका साथ पालना गराउन प्रवक्ता प्रकाण्डले सरकारको ध्यानाकर्षण गराएको बताइएको छ ।
सो भेटवार्तामा देशको जटिल राजनीतिक अवस्था र त्यसको अग्रगामी निकासको बारेमा समेत छलफल भएको बताइएको छ । यसैगरी, सरकारले गर्ने विकास निर्माण र जनसरोकारका कामहरुलाई घनिभूतरुपमा अगाडि बढाउनुपर्ने विषयमा समेत छलफल भएको बताइएको छ । विकास निर्माणका कार्य जनचाहना र जनआवश्यकतालाई प्राथमिकतामा राखेर घनिभूतरुपमा अगाडि बढाउनुपर्ने र आगामी नीति र कार्यक्रम पनि त्यसैमा केन्द्रित हुनुपर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा विविध ढङ्गले बहस भइरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री केपी ओलीबीच भएको यो भेटवार्ता अर्थपूर्ण रहेको छ । साथै, छिट्टै पार्टी र सरकारबीच अर्को बैठक बस्ने सहमतिसमेत भएको बताइएको छ ।