ने.क.पा.का प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बादलबीच अर्थपूर्ण भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ता टोलीका प्रमुख प्रकाण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच शनिबार अपरान्ह भेटवार्ता भएको छ । उक्त भेटवार्तामा तीन बुँदै सहमति कार्यान्वयनको प्रगतिका साथै जेलमा रहेका नेकपाका नेता – कार्यकर्ताको रिहाईको सन्धर्भमा भएको कार्यप्रगतिको बारेमा छलफल भएको बताइएको छ। यसैगरी , सो भेटवार्तामा देशको जटिल राजनीतिक अवस्था र त्यसको अग्रगामी निकासको बारेमा समेत छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ताटोलीका प्रमुख प्रकाण्डले देशमा दोस्रो चरणको कोरोना संक्रमण अत्यधिक बढेको र त्यसको नियन्त्रणका लागि योजनाबद्धरुपमा पहल गर्दै अन्तर्राष्ट्रिय नाकालाई बन्द गर्नुपर्ने, आवश्यक नाकालाई नियमन गरेर मात्र खुला गर्ने, आमजनतालाई स्वास्थ्य नियम पालना गर्न प्रेरित गर्दै कडाई गर्नुपर्ने र कोरोना संक्रमणको दोस्रो लहरबाट प्रभावित सहर र गाउँहरुलाई तुरुन्त नियन्त्रणमा लिँदै स्वास्थ्य जाँच र स्वास्थ्य नियमलाई समेत कडाइका साथ पालना गराउन प्रवक्ता प्रकाण्डले गृहमन्त्री बादलको ध्यानाकर्षण गराएको बताइएको छ ।
यसैगरी, सो भेटवार्तामा सरकारले गर्ने विकास निर्माण र जनसरोकारका कामहरुलाई घनिभूतरुपमा अगाडि बढाउनुपर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा विविध ढङ्गले बहस भइरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बादलबीच भएको यो भेटवार्ता अर्थपूर्ण रहेको बुझिएको छ ।