‘बर्तमान राजनीतिक संकटको एकमात्र बिकल्प जनमत संग्रह’

२०७८ श्रावण ६ गते, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बर्तमान राजनीतिक संकटको एकमात्र बिकल्प जनमत संग्रह भएको बताएका छन । महासचिव विप्लवले सो पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट म्याग्जिनको विमोचन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । महासचिव विप्लवले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको ठोकुवा गर्दै अहिलेको राजनीति पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थालेको बताए ।
महासचिव विप्लवले अहिले राजनीतिक रुपमा आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्था रहेको बताउदै राजनीतिको दलालीकरणले सिमा नाघेको बताए । महासचिव विप्लवले भने – ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फुटाउन विदेशी चाहिन्छ, उपचार गर्न विदेश चाहिन्छ, पञ्चायतमा पनि यति साह्रो विकृति थिएन ।’


महासचिव विप्लवले हरेक कुराको आफैं निर्णय गर्ने अवस्थाको सिर्जना गर्न वैज्ञानिक समाजवादको बाटोमा जानुपर्ने उनले बताए । वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा नगई सुखै नभएको विप्लवको भनाइ छ । कतिपयले जनमत संग्रहमा जान अहिलेका दलले दिन्छन् ? भनेर प्रश्न पनि गर्ने गरेको बताउँदै उनले भने, ‘यो दिइन्न भने खोसेर पनि लिने कुरा हो । २०३६ सालमा जनमत संग्रह गर्न हुन्छ भने आज किन मिल्दैन ?’ ‘सत्ता पाउन देशै बेच्न खोज्ने, राज्य र राष्ट्रलाई सुविधाका लागि लेनदेन गर्ने विषय कसरी आइरहेको छ ?’ विप्लवले प्रश्न गर्दै भने, ‘यहाँका जमिन दलालको हातमा छ, घडेरी किन्न जिन्दगीभर हड्डी खियाउँदा पनि सकिन्न, चरम माफियाकरण छ ।’ अहिलेको व्यवस्थामा कम्युनिष्टले पूँजीवादीको सेवा गरिरहेको भन्दै उनले यो लज्जास्पद भएको बताए । उनले नेपाली कांग्रेसलाई पनि प्रश्न गरेका छन्, ‘तपाईंले भनेको लोकतान्त्रिक समाजवाद र संसदीय व्यवस्था एउटै हो ? नभए त्यस विषयमा किन बोल्नु हुन्न ?’

नेपाल कम्युनिष्ट पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट म्याग्जिनले आयोजना गरेको उक्त बिमोचन समारोहमा साहित्यकार तथा सस्कृतिकर्मी इश्वरचन्द्र ज्ञवाली , राजनीतिक बिश्लेसक पुरन्जन आचार्य , माक्सवादी राजनीतिज्ञ एबम् अर्थशास्त्री हरि रोक्का , राजनीतिक बिश्लेसक डा सुरेन्द्र केसी, पुर्वासचिब एबम् सिमाबिद द्वारिकानाथ ढुंगेल , बरिष्ठ अधिवक्ता एकराज भण्डारी , राजनीतिक विश्लेषक हस्त बहादुर केसी लगायतले आफ्नो धारणा राखेका थिए भने अंग्रेजी मुखपत्र रेडफ्रन्ट म्याग्जिनक प्रमुख सम्पादक प्रेम दर्नाल ‘बिकल्प ‘ले पत्रिका प्रकाशनको औचित्यको बारेमा प्रत्याएका थिए।


उक्त विमोचन समारोहलाई रेडफ्रन्ट म्याग्जिनका सम्पादक प्रमेश दर्नालले स्वागत गरेका थिए भने कार्यक्रम संचालन सम्पादक नरेन्द्र बिकले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]