नेकपाका महासचिव विप्लवद्वारा प्रचण्डलाई संसदीय राजनीति परित्याग गर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टी सबैसँग एकताका लागि तयार रहेको बताउदै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संसदीय राजनीति परित्याग गरेर एकतामा आउन आग्रह गरेका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले
आफ्नो पार्टी सबैसँग एकता, सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउदै भने – ‘हामी सबैसँग एकता गरेर जान तयार छौँ । त्यसका लागि दलाल संसदीय व्यवस्थाबाट बाहिर आउनु पर्यो । जनताको व्यवस्था स्थापित गर्नका लागि सघर्ष गर्न तयार हुन पर्यो ।’
माओवादीका अध्यक्ष प्रचण्डले सार्वजनिक मन्चबाट पार्टी एकताका लागि विप्लवलाई प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको प्रतिउत्तरमा विप्लवले प्रचण्डलाई पहिला कुहिएको, मक्कीएको, गनाएको संसदीय व्यवस्था परित्याग गरेर एकतामा आउन आग्रह गरेका हुन् ।

महासचिव विप्लवले ६५ प्रतिशत कम्युनिस्ट समर्थक भएको देशमा फेरी पनि संसदीय राजनीति गरेर बसेको भन्दै प्रचण्डको आलोचना गर्दै भने – नेपाल जनताले वैज्ञानिक समाजवाद चाहेका छन । त्यसका लागि जनताको गणतन्त्र, मजदुरको व्यवस्था, किसानको व्यवस्था स्थापनाका लागि सबैसँग सहकार्य गर्न तयार छौ । हामी हाम्रो लागि मात्र संघर्ष गरेका छैनौँ । हामीले लडेर ल्याएको व्यवस्थामा कांग्रेसले समान अधिकार पाउँछ, हामीले पनि समान अधिकार पाउँछौँ ।’
महासचिव विप्लवले भने- ‘हामी हाम्रा लागि मात्र लडेको होइन, कांग्रेसका लागि पनि लडेको हो, एमालेका लागि पनि लडेको हो, माओवादीका लागि पनि लडेको हो । हामीलाई दमन गर्ने, हाम्रो विरोध गर्नेहरुका लागि पनि लडेको हो । त्यसैले तपाईहरु पनि हाम्रो अभियानमा जोडिनुहोस् । संगै संघर्ष गरौँ । र हाम्रो व्यवस्था स्थापना गरौँ ।’