‘क्रान्तिको निशानामा दलाल पुँजीपति बर्ग ‘

२०७८ कार्तिक ११ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले क्रान्तिको निशानामा दलाल पुँजीपति बर्ग भएको बताएका छन । पार्टीको केन्द्रिय सदस्य विरजंगको सम्मान र स्मृतिमा नेकपा कपिलवस्तुद्वारा शिबगढीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले जनयुद्धको क्रममा नेतृत्वले धोका दिएको कारण क्रान्तिको झण्डा आफुहरूले उठाउनु परेको भन्दै श्रमिक जनताको सपना पूरा नहुँदासम्म क्रान्ति जारी रहने उद्घोष गरे । उनले नेता बीरजङ्गको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको भन्दै बीरजङ्गको निडरता, इमानदारिता, सरलता र क्रान्तिप्रतीको निस्ठाले क्रान्तिलाई कमजोर होइन तागत पैदा गरेको समेत बताए । महासचिव विप्लवले राज्यबाट उपचार नपाएकै कारण बीरजङ्गको निधन भएको बताउदै उनको सपनालाई एकीकृत जनक्रान्तिमार्फत् पूरा गर्ने बताए । महासचिव विप्लवले नेता बीरजङ्ग पार्टी र क्रान्तिको अभिभावक भएको भन्दै उनको क्रान्तिकारी आदर्शलाई पछ्याउनुपर्ने बताए । विप्लवले आफ्नो पार्टी जनताको सेवक भएको अहिलेको व्यवस्थाले जनताको समस्या समाधान नगर्ने समेत ठोकुवा गरे ।
यसैगरी , सोही श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका प्रबक्ता कृष्णबहादुर महराले बिरजंगसँगको बिगत स्मरण गर्दै उनि क्रान्तिप्रति दृढ, इमानदार र प्रतिबद्ध नेता भएको बताए । नेता महराले क्रान्तिकारी पार्टीहरू छिन्नभिन्न भएको भन्दै एकता आवश्यक भएको जिकिर गरे ।
सोही श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सचिवालय सदस्य सुदर्शनले कमरेड बीरजङ्गले देखेको क्रान्तिको बाँकी सपना पूरा गर्ने प्रतिबद्धता जनाउदै बीरजङ्गको निधनले पार्टीलाई ठूलो क्षती पुगेको भन्दै शोकको घडीलाई शक्तिमा बदल्नुपर्ने बताए भने अर्का केन्द्रीय सचिवालय सन्तोष बुढा मगरले कमरेड बीरजङ्ग सिंगो क्रान्तिको अभिभावक भएको भन्दै उनको स्वाभाविक मृत्यु नभएर राज्यसत्ताले हत्या गरेको बताए ।
सो श्रद्धाञ्जली सभामा नेकपा केन्द्रीय सदस्य आस्था, लुम्बिनी प्रदेश सभा सांसद वसन्त घर्ती मगर, बामपंथी नेता बिनबहादुर कुँवरलगायतले सम्बोधन गरेका थिए । जिल्ला इन्चार्ज जुझारूको अध्यक्षतामा भएको सो श्रद्धाञ्जली सभाको संचालन सेक्रेटरी कमलले गरेका थिए । श्रद्धाञ्जली सभा कपिलवस्तुको शिबगढीस्थित बिरजंगको निवासमा गरिएको हो । सभामा नेकपा केन्द्रीय सदस्य चिरन पुनले श्रद्धाञ्जली गीत गाएका थिए । कार्यक्रममा नेकपा केन्द्रीय नेता, कार्यकर्ता, विभिन्न दलका नेता, शुभचिन्तक, आफन्ता परिवारजन, स्थानीयको सहभागिता रहेकोे थियो ।

प्रतिक्रियाहरु

[anycomment]