‘जनमत संग्रहदेखि दलाल र राष्ट्रघाती तत्वबाहेक अन्य राजनीतिक दल र नेता तर्सिनु पर्दैन ‘

२०७८ कार्तिक १३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जनमत संग्रहमा दलाल र राष्ट्रघाती तत्वबाहेक अन्य राजनीतिक दल, नेता र शक्तिहरु तर्सिनु नपर्ने बताउदै आउँदो निर्वाचन संसदीय निर्वाचन नभई जनमत संग्रह हुनुपर्ने बताएका छन् । प्रवक्ता प्रकाण्डले सो पार्टीले कालिकोटमा आयोजना गरेको पाँच जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका छन् । प्रवक्ता प्रकाण्डले संसदीय निर्वाचनले देशको वर्तमान राजनीतिक संकटलाई निकास दिन नसक्ने ठोकुवा गर्दै वर्तमान राजनीतिक संकटको एक मात्र वैज्ञानिक र उपयुक्त निकास भनेको जनमत संग्रह नै भएको ठोकुवा गरेका छन् । जनमत संग्रह भनेको नेपाली जनताको परिवर्तनको चाहनालाई सुनिश्चित गर्ने विकल्प भएको बताउँदै यसमा सम्पूर्ण कम्युनिस्ट, प्रगतिशील दल, नेतालगायत आफुलाई लोकतन्त्रवादी हुँ भन्ने दल- नेता अनिवार्य रुपमा सहभागी हुनुपर्ने बताए ।
प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले भनेको जनमत संग्रह र २०३६ सालमा भएको जनमत संग्रहमा ठूलो फरक भएको बताउँदै २०३६ सालको जनमत संग्रहबाट बहुदलले जितेको भए पनि तत्कालीन निरंकुश राजतन्त्रले निर्दललाई जिताएको ठोकुवा गरे । उनले २००७ सालदेखि अहिलेसम्म जति पनि आन्दोलन भए ती सबैमा भारतीय हस्तक्षेप रहको उल्लेख गर्दै हालै आफ्नो पार्टीले सरकारसँग गरेको तीन बुँदे सहमति सम्पूर्णरुपमा पार्टीकै पहलमा भएको बताए ।


यसैगरी, प्रवक्ता प्रकाण्डले क्रान्तिमा ठूलाठूला कठिनाई आउने बताउँदै जति ठूलो कठिनाई आउँछ, त्यति नै ठूलो विजय हुनेसमेत ठोकुवा गरे । उनले क्रान्तिमा विज्ञान र कला अनिवार्य भएको बताउँदै माक्र्सवाद गतिशील विज्ञान भएको बताए । उनले भने, ‘माक्र्सवाद गतिशील विज्ञान हो जड होइन ।’
प्रवक्ता प्रकाण्डले देशलाई संकटबाट मुक्त पार्न क्रान्ति आवश्यक भएको बताउँदै अहिले देशमा आएको राजनीतिक संकटको समाधान संसदीय व्यवस्थाबाट समाधान हुन नसक्ने तथ्य आमजनताले बुझिसकेको ठोकुवा गरे । उनले भने, देशको वर्तमान राजनीति संकट समाधान गर्न जनमत संग्रह अनिवार्य छ, त्यसको लागि आन्दोलनमा होमिनुको विकल्प छैन ।
यसैगरी, प्रवक्ता प्रकाण्डले पार्टीको आगामी महाधिवेशनलाई विचार अन्वेषणको महाधिवेशन बनाउने र नेपालको क्रान्ति सम्पन्न गर्ने दिशामा केन्द्रित गर्दै विश्वक्रान्तिमा आएको प्रतिक्रान्तिलाई क्रान्तीमा बदल्नेसमेत बताएका छन् ।
यसअघि गत बिहीबारबाट कालिकोटमा सुरु भएको सो पार्टीको पाँच जिल्लाको प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट उपस्थित नेता, कार्यकर्ताले आफ्नो जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए । यसरी रिपोर्ट प्रस्तुत गर्नेहरुमा नेकपा कालिकोटका डिसिएम सहसी, मुगुका डिसिएम सञ्जय, हुम्लाका डिसिएम टेक्निलक, जुम्लाका डिसिएम सक्त, दैलेखका डिसिएम विसु, कालिकोटका डिसिएम किरण, मुगुका डिसिएम ललितजंग, हुम्लाका डिसिएम गौरव र दैलेखका डिसिएम प्रकाश रहेका थिए । यसैगरी, अखिल क्रान्तीकारीका दिपेन्द्र, भे. क. सांस्कृतिक परिवारबाट सभ्यता, महिला संगठनबाट, नन्दा, दलित संगठनबाट सरोज, किसान संगठनबाट निर्माण ,जनस्वयम्सेवक संगठनबाट पर्वत र जनपत्रकार संगठनबाट किरणले आफ्नो धारणा प्रसतुत गरेका थिए । यसैगरी, प्रतिवेदन प्रस्तुत गर्ने अन्यमा कालिकोटबाट धरातल, मुगुबाट शंकर र जुम्लाबाट रमेश रहेका थिए ।


उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता दैलेख जिल्लाका डिसिएम दिपेन्द्रले गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेकपाका प्रवक्ता प्रकाण्ड र अतिथिहरुमा केन्द्रीय सदस्य एटम, विवेक, विराट, संगम र बलमान रहेका थिए । उक्त प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य कालिकोटका डिसिएस रणदीपले राखेका थिए भने प्रशिक्षण कार्यक्रमको संचालन मुगुका डिसिएस समाजले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]