‘शहिद परिवार क्रान्तिको बाधक होइन साधक बन्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले शहिद परिवार क्रान्तिको बाधक होइन साधक बनिदिनुपर्ने बताउदै शहिद कुमार पौडेललगायत सम्पूर्ण शहिदहरु क्रान्तिका ढुकढुकी भएकाले जुनसुकै अवस्थामा पनि आफूहरुले शहिदका सपना मर्न नदिने बरु क्रान्तिलाई अन्तीम विजयसम्म पुर्याएरै छोड्ने अठोट व्यक्त गरेका छन । महासचिव विप्लवले शहिद कुमार पौडेलका परिवारसँग भेटघाटका क्रममा उक्त कुरा बताएका हुन् । महासचिव विप्लवले भने, –‘अप्ठ्यारा र चुनौतीहरु अवश्य छन् तर ती अप्ठ्यारा र चुनौतीहरु तोड्दै शहिद र जनताहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उक्त भेटघाटका क्रममा शहिद कुमार पौडेलका परिवारले आफ्नो छोराले देश र जनताको लागि क्रान्तिमा बलिदान गरेको भन्दै शहिद परिवारलाई पार्टीले कहिल्यै बिर्सन नहुने बताए । सहिद कुमारका बुवाले भने, –‘शहिद र जनताको सपना पूरा गर्ने जिम्मा यो पार्टी र तपाईहरुको काँधमा आएको छ त्यसैले शहिदका सपना पूरा गरेरै छाड्नु पर्छ । अन्य पार्टीहरुसँग आशा गर्ने ठाउँ समाप्त भएकाले देशलाई आशा दिने बाटोमा तपाईहरु लैजानु पर्छ । सबै शहिद परिवार यो पार्टी र क्रान्तिको साथमा छौँ र अन्तीमसम्म रहिरहनेछौँ ।’
सो भेटघाटमा पार्टीका कार्यलय सचिव असल क्षेत्री, सर्लाही जिल्ला इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य समर, केन्द्रीय सदस्यहरु प्रज्वलन, देवनारायण शाह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।