एमसीसी अघि बढाए प्रतिरोध सङ्घर्ष !

२०७८ मंसिर २९ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रहितविरुद्ध रहेको एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध सङ्घर्षमा उत्रने चेतावनी दिएको छ । सो पार्टीका महासचिव विप्लवले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्‌मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गर्दै सो चेतावनी दिएका हुन् । महासचिव विप्लवले विभिन्न राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई पनि एमसीसीविरुद्ध आआफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रहसमेत गरेका छन् ।
महासचिव विप्लवद्वारा विज्ञप्तिमा भनिएको छ – राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा हाम्रो पार्टीसहित विभिन्न राजनीतिक पार्टी र मोर्चाहरूद्वारा आज सम्पन्न संसद् भवन घेराउ, जिल्ला बन्दलगायत देशव्यापी भएका कार्यक्रमहरूमा काठमाडौँको शान्तिपूर्ण घेराउ आन्दोलन र चितवन जिल्ला बन्दका क्रममा राज्यद्वारा गरिएको दमनप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’
यसैगरी, विज्ञप्तिमा आन्दोलनका क्रममा घाइते भएका पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतीलगायत सबै राजनीतिक पार्टीका नेता–कार्यकर्ता, पेसाकर्मी र सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको तुरुन्त रिहाइको माग गरिएको छ ।
महासचिव विप्लबले विज्ञप्तिमार्फत नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह गर्दै नेपालका लागि निःस्वार्थ सहयोग हो भने रकम बिनासम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गरेका छन । उनले राष्ट्रघाती एमसीसीविरुद्धको सङ्घर्ष सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको उल्लेख गर्दै यसको खारेज नभएसम्म आन्दोलन निरन्तर अघि बढ्नेछ बताएका छन ।
महासचिव विप्लबले राष्ट्रिय स्वाधीनताको यो महत्वपूर्ण सङ्घर्षमा आआफ्नो तहबाट सहभागी हुन नेपालका सबै क्षेत्र र देशबाहिर रहेका सबै नेपालीहरूमा हार्दिक अनुरोध गर्दै कुनै पनि स्थितिमा एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध सङ्घर्षमा उत्रिनसमेत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लबले जारी गरेको बिज्ञप्तीको पूर्ण विवरण यस प्रकार रहेको छ –
“१. राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा हाम्रो पार्टीसहित बिभिन्न राजनीतिक पार्टी र मोर्चाहरूद्वारा आज सम्पन्न संसद्‌ भवन घेराउ, जिल्ला बन्दलगायत देशव्यापी भएका कार्यक्रमहरूमा काठमाडौँको शान्तिपूर्ण घेराउ आन्दोलन र चितवन जिल्ला बन्दका क्रममा राज्यद्वारा गरिएको दमनप्रति हाम्रो पार्टी घोर भर्त्सना गर्दछ ।
२. आन्दोलनका क्रममा घाइते हुनुभएका हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता क. प्रकाण्ड, क. प्रेम, प्रकाश, वैज्ञानिक समाजवादी पार्टीका संयोजक क. आहुतीलगायत सबै राजनीतिक पार्टीका नेता-कार्यकर्ता, पेसाकर्मी र सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । गिरफतार गरिएका सम्पूर्ण नेता-कार्यकर्ताहरूको तुरुन्त रिहाइको माग गर्दछौँ ।
३. दमनको डटेर सामना गर्दै राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनमा नेतृत्व गर्नुहुने सबै राजनीतिक पार्टी, मोर्चा, अभियानका नेतृत्व, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी र सम्पूर्ण आदरणीय जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
४, हाम्रो पार्टी सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्‌मा दर्ता नगर्न सङ्घीय संसदूका सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गर्दछ । साथै सबै राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद्‌ सदस्यहरूलाई आफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गर्दछौँ ।
५,नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह गर्दछौँ । नेपालका लागि निःस्वार्थ सहयोग हो भने रकम बिनासम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गर्दछौँ ।
अन्त्यमा, राष्ट्रघाती एमसीसीविरुद्धको सङ्घर्ष सम्पूर्ण नेपालीहरूको साझा दायित्व हो । यसको खारेज नभएसम्म यो आन्दोलन निरन्तर अघि बढ्नेछ । त्यसैले राष्ट्रिय स्वाधीनताको यो महत्वपूर्ण सङ्घर्षमा आआफ्नो तहबाट सहभागी हुन नेपालका सबै क्षेत्र र देशबाहिर रहनुभएका सबै नेपालीहरूमा हार्दिक अनुरोध गर्दछौँ । साथै कुनै पनि स्थितिमा एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध सङ्घर्षमा उत्रिनसमेत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ। “

प्रतिक्रियाहरु

[anycomment]