‘एमसीसी कुनै हालतमा पारित हुन दिदैनौ ‘

२०७८ मंसिर २९ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी कुनै पनि हालतमा पारित हुन नदिने ठोकुवा गरेका छन । राष्ट्रघाती अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपासहित ६ राजनीतिक दल , दुई मोर्चालगायत विभिन्न अभियानकारी सस्था र व्यक्तिको सहभागितामा मंगलबार काठमाडौँमा आयोजित संसद् भवन घेराउ कार्यकमपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्डले एमसीसीको स्वरूप विकास र अनुदानको भए पनि सार रणनीतिक र सैनिक उद्देश्य भएको भन्दै यो सर्वाधिक राष्ट्रघाती भएको बताए । नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गर्ने उद्देश्य रहेको एमसीसी परियोजना लागू नगर्न उनले शासकहरूलाई चेतावनी दिए । उनले भने, ‘आज अमेरिकी सेना पैसा लिएर आएको छ । भोलि बन्दुक लिएर आउँछ । पर्सि सेना लिएर आउँछ र त्यसपछि मिसाइल लिएर आउँछ । त्यसकारण देशको स्वाधीनता दाउमा राख्ने यो परियोजना जनतालाई किमार्थ स्वीकार्य छैन । अमेरिकी सेनाभन्दा नेपाली जनता हजाराँै गुणा शक्तिशाली छन् ।’ प्रकाण्डले एमसीसीविरुद्ध शान्तिपूर्ण सङ्घर्षमा दलाल सरकारले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै दलालहरूसित हिसाबकिताब गर्ने चेतावनी दिए ।


प्रवक्ता प्रकाण्डले एमसीसी खारेज गर्नका लागि आबश्यक परे अनिश्चितकालीन सङ्घर्ष गर्ने र एमसीसीका दलालहरू बस्ने स्थानहरू सङ्घर्षको मोर्चा हुने बताए । उनले एमसीसीविरुद्ध सम्पूर्ण देशभक्त, लोकतन्त्रवादीहरूलाई सङ्घर्षमा उत्रिन अपिल गर्दै एमसीसी लागु गर्ने दुस्साहस गरे साम्राज्यवादका दलालहरू देश छोड्न बाध्य हुने ठोकुवा गरे ।

यसैगरी , प्रवक्ता प्रकाण्डले दलाल पुँजीवादी व्यवस्था नै आजको समस्या भएको भन्दै यसको विकल्प अर्थात् क्रान्तिको लक्ष्य वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए । प्रवक्ता प्रकाण्डले जनताले आफ्नो व्यवस्था छान्ने अधिकार पाउनुपर्ने भन्दै त्यसका लागि जनमतसङ्ग्रह अनिबार्य भएको ठोकुवा गरे । उनले जनमतसङ्ग्रहका निम्ति प्रगतिशील सरकार बनाउनुपर्ने भन्दै त्यसमार्फत देशको राजनीतिक आर्थिक व्यवस्था बदल्नुपर्ने बताए ।
प्रवक्ता प्रकाण्डले आन्दोलनमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो घटना पाशविक र निन्दनीय भएको भन्दै भत्र्सना गर्नुका साथै आन्दोलनमा सहभागी सबैलाई प्रकाण्डले धन्यवाद दिएका थिए ।
कार्यक्रममा नेकपाका मालेका महासचिव सीपी मैनालीले चीन र रुसका विरुद्धमा ल्याइएको यो अमेरिकी सैनिक सुरक्षा रणनीतिको योजनालाई नेपालका दलालहरूले यहाँ लागू गर्न खोजेको बताए । यो नेपालमा बसेर चीनलाई घेरा हाल्ने रणनीति भएकाले नेपालमा लागू गरिएको खण्डमा नेपालको राष्ट्रियतामाथि हस्तक्षेप हुने मात्र नभएर ठूलो मात्रामा धनजनको क्षति हुने बताए । पैसाको लोभ देखाएर नेपाल प्रवेश गर्ने अमेरिकाले भोलि हतियार र कमान्डो सेनाहरू ल्याउने र त्यो देशका लागि खतरनाक हुने भन्दै नेता सीपी मैनालीले भोलि अमेरिका नेपालमा आएर चीनविरुद्ध गतिविधि गरेको खण्डमा लाखौँलाख नेपालीको रगत बग्ने भन्दै यो राष्टघाती कदम भएकोले यो अविलम्व खारेज गर्नुपर्ने बताए ।
कार्यक्रममा ज्ञानेन्द्र शाही , धनकुमारी सुनार, अरुण कार्की , हेमराज थापा , हस्तबहादुर केसीलगायतले आफ्नो धारणा राखेका थिए भने कबि भोला बरालले एमसीसी बिरुद्ध कबिता सुनाएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]