एमसीसीद्वारा सम्झौता छिटो पारित गर्न ताकेता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल , दुई मोर्चालगायत बिभिन्न राष्ट्रबादी संघ -सस्था र स्वाभिमानी नागरिकले राष्ट्रघाती MCC परियोजनालाई अमेरिकाले तत्काल फिर्ता लिनु पर्ने र देउवा सरकारले तत्काल खारेज गर्नु पर्ने भन्दै कडा आन्दोलन गरिरहेका छन । तर अमेरिकाले नेपाली जनताको आवाजलाई नजरअन्दाज गर्दै एमसिसी सम्झौता छिटो पारित गर्न नेपाललाई ताकेता गर्ने र दवाब दिने निर्णय गरेको सार्वजनिक भएको छ । गत मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एमसिसी सञ्चालक समितिको बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न दवाब दिने निर्णय गरेको हो । बुधबार एमसिसीले जारी गरेको विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग परियोजनासम्बन्धी सम्झौता चाँडो पारित गर्न सञ्चालक समितिले नेपाल सरकारलाई आग्रह गरेको उल्लेख गरेको छ । एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । एमसिसीलाई लिएर नेपालमा लगातार विरोध हुँदै आएको छ । गएको मंगलबार सुरु भएको संसद अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरिएको छ । तर दलहरुबीच अझैसम्म एमसिसीलाई लिएर सहमति जुटेको भने छैन । यही परिवेशमा एमसिसी सञ्चालक समितिको त्रैमासिक समीक्षा बैठकमा नेपालमा एमसिसी सम्झौतालाई लिएर भइरहेको प्रगतिबारे छलफल भएको हो । नेपाल सरकारले एमसिसी कम्प्याक्ट चाँडो अनुमोदन गर्ने भनी जनाएको प्रतिबद्धतालाई ‘नोट’ गर्दै सञ्चालक समितिले जति सक्दो छिटो पारित गर्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमसिसीलाई लिएर पछिल्ला केही महिनामा उच्च अमेरिकी अधिकारीले नेपाल भ्रमण गरेका छन् । यही क्रममा एक महिना पहिले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका थिए । उनले एमसिसी पारित गर्ने/नगर्ने निर्णय नेपालको हातमा रहेको उल्लेख गरेका थिए ।