‘एमसीसी विनासर्त फिर्ता पठाउनुको बिकल्प छैन ‘

२०७८ पुष ६ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कन्चन’ले एमसीसी कुनैपनि हालतमा लागु गर्न नहुने भन्दै एमसीसी विनासर्त फिर्ता पठाउनुको बिकल्प नभएको ठोकुवा गरेका छन । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै नेकपासहित ६ पार्टी र २ मोर्चाले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता कन्चनले सो ठोकुवा गरेका हुन्। उनले एमसीसी अमेरिकाको शैन्य रणनीति अन्तरगतको बजेटबाट नेपालका लगानी गर्न लागिएको ठोकुवा गर्दै भने – ‘यो योजना अन्तरगत आउन लागिएको रकम अनुदान होइन, यो त अमेरिकाको लगानी हो । जुन इण्डो प्यासिफिक रणनीति अन्तरगतको बजेटबाट खर्च हुन्छ ।’


नेता कन्चनले भने – ‘शैन्य रणनीतिको बजेटले बन्न लागेको परियोजना विशुद्ध सहयोग हो भन्न सकिदैन् । त्यसैले समयमै यसलाई फिर्ता पठायो भने देशको हितमा हुन्छ ।’
उनले अगाडि भने, ‘एमसीसी दलाल संसदीय व्यवस्था भित्रकै एउटा दलालीको रुप हो । जो नेपालमा बसेर अमेरिकाको दलाली गरिरहेका छन् । हामीले एमसीसीको मात्र विरोध गरेर हुँदैन, यो व्यवस्थाकै विरोध गर्न पर्छ र वैज्ञानिक समाजवादको स्थापना लागि संघर्ष गर्न पर्छ ।’


यसैगरी , नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि एउटा धोका भएको बताए । उनले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाए ।

नेता गजुरेलले एमसीसी सम्झौतापारित भए देश रणभूमिमा परिणत हुने दाबी गर्दै एमसीसी खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । उनले अमेरिकाको पैसा खाएकाहरुले, आश्वासनमा बिकेकाहरुले नै एमसीसी पास गर्न खोजेकोसमेत ठोकुवा गरे ।
यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा मालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले कुनै पनि अनुदान संसद्‌बाट पास गर्नु नपर्ने , एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको र एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको ठोकुवा गरे ।

उनले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताए । ‘अमेरिका नेपाल आउने भनेको चीनसँग लड्नका लागि हो । उनीहरु लड्दा हाम्रो कुनै टाउको दुखाईको विषय हुँदैन् । तर नेपालको भुमी प्रयोग गरेर अमेरिकालाई प्रहार गर्यो भने चीनले पनि त्यसको प्रतिवाद गर्छ ।’ उनले भने, ‘अमेरिकीहरु त बंकर खनेर कुन दुलोमा पसिसकेका हुन्छन् । त्यसको प्रत्यक्ष मारमा नेपाली जनता पर्छन् । तसर्थ, यसलाई समयमै रोक्नसकेन नेपाल र नेपालीको हित हुनेछ ।’
यसैगरी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले संसदवादी दलमा पनि देशभक्त नेताहरु भएकोले सहजै एमसीसी पास हुन नसकेको बताए । उनले केही पार्टीहरु फुटबाट आएकोले आगामी चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिलेजति हौसिन छोडेको बताए ।

संयोजक आहुतीले एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब बढी रकम खर्च गरिसकेको बताए ।


एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले आयोजना गरेको उक्त बिरोध सभालाई नेकपाका अध्यक्ष ऋषि कट्टेल,चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टीका संयोजक आहुती नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, राजमोका महासचिव मनोज भट्ट , देशभक्त जनगणतान्त्रिक मोर्चाको केन्द्रिय सदस्य शारदा महतले समेत सम्बोधन गरेका थिए भने उक्त बिरोध सभाको सन्चालन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य मिलनले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]