‘जनयुद्धको मुल नेतृत्वको गद्धारीकै कारण सहिद, बेपत्ता र घाइतेले न्याय पाउन सकेनन ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले जनयुद्धको मुल नेतृत्वको गद्धारीकै कारण सहिद, बेपत्ता र घाइतेहरुले न्याय पाउन नसकेको ठोकुवा गरेका छन । ‘सहिद तथा बेपत्ता योद्धाहरुको योगदान र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । नेता बुढामगरले आफ्नो पार्टीले सहिद, बेपत्ता र घाइतेको पक्षमा आवाज उठाउँदै आएको बताउदै आफ्नो पार्टीले जनयुद्धका एजेण्डालाई नछोडेको र जनयुद्धको मुल नेतृत्वको गद्धारीकै कारण सहिद, बेपत्ता र घाइतेहरुले न्याय पाउन नसकेको ठोकुवा गरे ।
नेता बुढामगरले सहिद–बेपत्ता योद्धाहरूले जुन उद्देश्यका साथ बलिदान गरे त्यो राज्यसत्ता स्थापना गर्न आफ्नो पार्टी अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेको राज्यसत्ता सहिद–बेपत्ता र उत्पीडित वर्गका पक्षमा नरहेकाले र जनयुद्धबाट आएको नेतृत्वले विचलनमा गएर वर्ग फेरेकाले सहिद–बेपत्ताहरूको बलिदानको कदर नभएको प्रस्ट पारे । उनले यो राज्यले सहिद–बेपत्ता योद्धाहरूको दायित्व नलिएको र नलिने पनि बताए । अब यो व्यवस्था असफल भएकाले यसको विकल्पका रूपमा आफूहरूले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि जनमतसङ्ग्रहको कार्यनीति लिएको उनले बताए । अहिलेको राजनीतिक सङ्कटको समाधान जनमतसङ्ग्रह नै भएको ठोकुवा गर्दै उनले अब न्यायको छिनोफानो जनताले गर्न पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘इतिहासका निर्माता जनता हुन् । अहिलेको दलाल संसदीय पुँजीवादी व्यवस्था ठीक कि वैज्ञानिक समाजवाद ठीक भन्ने विषयमा जनताले छिनाफानो गर्न पाउनुपर्छ । व्यवस्थाको छिनोफानो गर्ने न्यायाधीश जनता हुन पाउनुपर्छ । त्यसैले जनमतसङ्ग्रह आवश्यक छ । दलाल पुँजीवादविरुद्ध वैज्ञानिक समाजवाद स्थापना गर्न सबै कम्युनिस्टहरू साझा एजेन्डा बनाएर एक ठाउँमा उभिन सक्नुपर्छ ।’
एमसीसीको प्रसङ्ग उठाउँदै उनले आफ्नो पार्टीको सङ्घर्षका कारण संसद्बाट एमसीसी पारित गर्न खोज्ने संसद्वादी दलका नेताहरूले शङ्खे कीराले झैँ टाउको भित्र लुकाएको तर पूरै पछाडि हटिनसकेकाले अझै जनता जागरुक हुनुपर्ने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट्ब्यूरो सदस्य दिनेश शर्माले जनयुद्धकै कारण नेपालमा गणतन्त्र आएपनि त्यसलाई अपराधिकरण गरिएको ठोकुवा गर्दै जनयुद्धको मुल नेतृत्वले एजेण्डालाई अलपत्र पारेकै कारण सहिद, बेपत्ताका परिवार र घाइते योद्धाले गर्वको अनुभूति गर्न नपाएको बताए । उनले अहिलेको व्यवस्था दलालहरुको हातमा भएको बताउँदै जनयुद्धका सदिह, बेपत्ता र घाइतेको सम्मान हुन्ले नसकेको उल्लेख गर्दै आफ्नो पार्टी जनयुद्धको उद्देश्य पूरा गर्न लागिपरेको बताए ।
यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) युवा नेता लेखनाथ न्यौपाने राज्यले जनयुद्धका उपलब्धीहरुलाई जिम्मेवारीपूर्ण रुपमा नलिएकै कारण समस्या भएको र विस्तृत शान्ति सम्झौता हुँदा गरेका प्रतिवद्धता राज्यले इमान्दारीपूर्वक गरेका कार्यान्वयन गर्नुको बिकल्प नभएको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले राज्यसत्ता नै बेइमानी भएकोले जनयुद्धका पीडितहरुले न्याय नपाएको ठोकुवा गर्दै जनयुद्धमा महिलाहरुले उच्च बलिदान गरेको बताउँदै उनीहरुका परिवारलाई त्यो अनुभूत हुन नसकेको बताइन् । उनले आफू पनि जनयुद्धको यात्री भएको बताउँदै पीडितको न्यायको लागि आफू लागि पर्ने बताइन् ।
यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का केन्द्रीय सचिव लेखराज भट्टले आफू अहिले एमालेमा भएपनि विगतको विरासतपूर्ण इतिहास, धरातल र माओवादी जनयुद्धमा सहिदले गरेको बलिदान, बेपत्ताहरु र घाइते–अपाङ्ग योद्धाहरुप्रति बेवास्ता गरिएको बताए । उनले आफू पनि जनयुद्धको घाइते भएको तर कतै दर्ज नभएको बताउँदै भने,“घाइते तथा अपाङ्गहरुको पीडा कस्तो हुन्छ भन्ने मलाई पनि थाहा छ, त्यही भएर म सत्ताको जिम्मेवारीमा गएको बेला मैले ती साथिहरुको पक्षमा धेरै काम गर्ने कोशिष गरेको थिएँ ।”

उनले जनयुद्धका पीडितलाई न्याय दिन आफू जहाँ भएपनि लागिपर्ने बताउदै जुन उद्देश्यको लागि जनयुद्ध सुरु गरिएको त्यो ठाउँमा पूर्वमाओवादीहरु नरहेको भट्टले दावी गरे ।
उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य माइला लामा, मानव अधिकारवादी चरण प्रसाई, बहिर्गमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिका इन्चार्ज असिम लिम्बु, जनअधिकार अभियान नेपालका महासचिव रामकुमार भण्डारी , राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरलगायतले जनयुद्धका सहिद, बेपत्ताको सवालमा राज्यपक्ष गैरजिम्मेवारी भएको बताएका थिए ।

कार्यक्रममा बेपत्ता छानविन आयोगका सदस्य विश्व प्रकाश भण्डारी र सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मना दहालले आयोगले अहिलेसम्म गरेको कामकारहीको जानकारी गराएका थिए । जनशक्ति, बजेट र कानूनकै कारण आयोगले काम गर्न नसकेको उनीहरुले भनाई थियो ।
बेपत्ता परिवार सावित्रा दुराको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ अधिबक्ता एकराज भण्डारीले कार्यपत्र पेश गरेका थिए भने जनक्रान्तिका सहिद परिवारकी अध्यक्ष खुमा सुवेदीले संचालन गरेकी थिइन् ।
