‘बर्तमान असफल राज्य ब्यवस्था बदल्न जनमत संग्रह अनिबार्य ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राज्य व्यवस्था असफल भएको ठोकुवा गर्दै यसलाई बदल्न जनमत संग्रह अनिबार्य भएको बताएका छन् । नेकपा दैलेखद्वारा विहिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले सिंहदरबारको अधिकार गाउँ नआएर भ्रष्टाचार गाउँसम्म आएको ठोकुवा गर्दै भने – ‘केन्द्रमा हुने भ्रष्टाचार गाउँमा पुगेको छ । प्रजातन्त्र जनताको जीवनमा देखिएको छैन , नागरिकको स्थिति ज्युँकात्युँ राखेर केन्द्रदेखि स्थानीय सरकार सञ्चालकले आफ्नो मर्जी गरेका छन । त्यसैले यो ब्यवस्था बदल्नका लागि जनमत संग्रहमा जानुको बिकल्प छैन । ‘
यसैगरी , प्रवक्ता प्रकाण्डले एमसिसि कुनै पनि हालतमा नेपालमा लागु नहुने बताए । उनले एमसीसी लागु भए त्यसको जुनसुकै मुल्य चुकाएर भएपनि सामाना गर्ने उद्घोष गर्दै अहिलेका सरकार सञ्चालकहरूले एमसिसी पास गरे जनताको अघि नेताहरू मुख देखाउन पनि लायक नहुने र जनताले नै तिरस्कार गर्ने ठोकुवा गरे ।

यसैगरी , प्रवत्ता प्रकाण्डले सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरे पुनः संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् । उनले भने – ‘तीनबुँदे सहमति हामीहरूले तत्कालीन सरकारका प्रधानमन्त्री के.पी. ओलीसँग नभई राज्य सञ्चालनको बागडोर सम्हालेका व्यक्तिसँग अर्थात् सरकारसँग गरेका हौँ, त्यतिवेला पनि कार्यान्वयनमा वास्ता गरिएन, वर्तमान सरकारले पनि सहमति कार्यान्वयनमा ध्यान दिएको छैन ।’
उनले तीनबुँदे सहमतिलाई तत्कालीन समयमा प्रचण्डले गरेको १२ बुँदे सहमतिजस्तो नसम्झन पनि आग्रह गरेका छन् । ‘अहिलेको तीनबुँदे सहमतिलाई १२ बुदेसँग तुलना गर्नै मिल्दैन । १२ बुँदे र तीनबुँदेमा आकाश पाताल फरक छ,’ उनले भने ।
नेपालमा अहिले कुनै मन्त्रालयको जिएम नियुक्त गर्दा पनि भारतको चासो हुने बताउँदै आफूहरूले कुनै विदेशी प्रभावमा परेर सहमति नगरेको बताउँदै उनले भने, ‘तर, हामीले तीनबुँदे सहमति गर्दा कुनै पनि विदेशीलाई साक्षी राखेका होइनौँ नेपालको उन्नति र प्रगति, शान्ति र स्थिरता कायम गर्नका लागि गरेका हौँ ।’
प्रवक्ता प्रकाण्डले हिजोका दिनहरूमा आमनेपाली जनताले बगाएको रगत र पसिनाले केही एजेन्डाहरू पारित भए पनि एजेन्डा कार्यान्वयन गर्ने व्यक्तिहरू विदेशीको इसारामा नाचेको र आफन्त र नातावादमा फसेकाले आफूहरूले नयाँ व्यवस्थाको माग गरेको बताए ।