नेकपामाथि साम्राज्यवादी र दलालहरुको हमला : क्रान्तिलाई कमजोर बनाउने दिवास्वप्ना

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौँ । एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवादी स्थापना गर्ने लक्ष्यसहित अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टी र त्यसका शीर्षस्थ नेताविरुद्ध पछिल्लो समय विभिन्न सञ्चार माध्यममा कपोलकल्पित र भ्रामक समाचारहरु प्रकाशन भइरहेका छन् । वर्तमान संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्दै वैज्ञानिक समाजवादको लक्ष्य लिएर संघर्षरत उक्त पार्टीप्रतिको जनलहर देखेर तत्कालीन सरकारले उक्त पार्टीमाथि संविधान र प्रचलित नियम, कानुनको समेत धज्जी उडाउँदै प्रतिबन्ध लगायो । सरकारको प्रतिबन्ध बाबजुद उक्त पार्टीले आफ्नो वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यबाट टसकोमस भएन । उसले संसद्वादीको राष्ट्रघाती र जनघाती कार्य जनतामाझ पु¥याइदियो । उक्त पार्टीको राष्ट्र र जनताप्रतिको समर्पण देखेर आमजनताको साथ र सहानुभूति पाउने क्रम ह्वात्तै बढ्यो । उक्त पार्टीके लोकप्रियता बढ्दै गएपछि आफ्नो अस्तित्व रक्षाको निम्ति सरकार वार्ता गर्न विवश भयो र उक्त पार्टीसँग तीन बुँदे सहमति गर्न बाध्य भयो । तर, सरकारले अहिलेसम्म तीन बुँदे सहमति कार्यान्वयन गरेको छैन भने नेकपाले सो तीन बुँदे सहमति अक्षरशः पालना गरी आफ्नो लक्ष्य प्राप्तिको लागि शान्तिपूर्ण ढङ्गले आन्दोलन गरिरहेको छ । नेकपा र त्यस पार्टीका नेताको यही सुझबुझका कारण सम्राज्यवादी, दलाल र संसद्वादी दलहरु अतालिन पुगेका छन् । त्यसैले उनीहरु नेकपालाई निस्तेज पार्न अनेकौँ हत्कण्ठा अपनाइरहेका छन् । जसको पछिल्लो कडीको रुपमा गरिएको दुष्प्रचारलाई लिन सकिन्छ ।

पछिल्लो समय नेकपाका महासचिब बिप्लव र प्रवक्ता प्रकाण्ड लगायत शीर्षस्थ नेताहरुबीच अन्तरद्वन्द्व चर्किएको र नेताहरु लाखापाखा लाग्न थालेको भन्दै जुन दुष्प्रचार गरिएको छ, त्यो क्रान्तिलाई कमजोर बनाउन खोज्ने साम्राज्यवादी, दलाल र संसद्वादीहरुको दिवास्वप्ना मात्र भएको नेकपाका एक नेताले बताए । उनका अनुसार पार्टीभित्र नेताको नाम भजाएर आफ्नो दुनो सोझ्याउन पल्केका केही अवसरवादीलाई पार्टीले कारवाही गरेपछि घर न घाटका भएका ति अवसरवादी अहिले पार्टी र नेताविरुद्ध विष वमन गर्दै हिँडिरहेका छन् । यो उनीहरुको बहुलठ्ठीपनबाट कोही पनि आत्तिनु पर्दैन । जहाँसम्म प्रवक्ता प्रकाण्डको विषय छ । पार्टीको निर्णय अनुसार उहाँकै नेतृत्वमा वार्ता टोली बनी सरकारसँग तिन बुँदे सहमति भयो र पार्टी पुनः गतिशील भएर आफ्नो लक्ष्यमा अगाडि बढ्यो, यो पार्टीविरुद्ध सुराकी गर्ने, पार्टीमाथि प्रतिबन्ध लादिएको समयमा गृह प्रशासनसँग साँठगाँठ गरी जेल र प्रहरी हिरासतबाट मुक्त भएका, जेलबाट छुट्न संसद्वादीसँग आत्मसमर्पण गरेका र क्रान्तिबाट भाग्ने भागौडाहरुलाई मन पर्ने विषय थिएन । त्यसैले उनीहरुले प्रवक्ता प्रकाण्डमाथि एउटा सञ्जाल नै बनाएर भ्रम छर्ने कोसिस गर्दै आएका छन् । पार्टीको नीतिअनुसार सरकारसँग बार्ता गर्न खटिएका प्रवक्ता प्रकाण्डको पहलकदमी, बिबेक र चातुर्यताका कारण नेकपा र सरकारबीच तीन बुँदे सहमति भयो र सरकार नेकपामाथि लगाएकोे प्रतिबन्ध हटाउन बाध्य भयो भने पार्टी कै नीति बमोजिम प्रतिबन्धपश्चात् प्रवक्ता प्रकाण्डकै पहलमा संयुक्त रणनैतिक मोर्चा बन्यो र अहिले नेपालका क्रान्तिकारी कम्युनिस्टहरुबीच ध्रुवीकरण हुने क्रम चलेको छ । त्यसैगरी, पार्टीकै नीति र निर्देशनमा प्रवक्ता प्रकाण्डकै संयोजन र पहलमा एमसीसीवरुद्ध मोर्चा बनेको छ । देशभर एमसीसी खारेजीको लागि संघर्ष चर्किएको छ । प्रवक्ता प्रकाण्ड एमसीसीवरुद्धको आन्दोलनमा सहभागी भएर घाइतेसमेत भए । यसरी देश र जनताको लागि अहोरात्र खट्ने नेतामाथि आफ्नो कुत्सित मनसाय पूरा नहुने भएपछि आत्तिएका साम्राज्यवादी दलाल र संसद्वादीसँग घाँटी जोडेर क्रान्तिको गला रेट्ने झुण्ड रुष्ट हुनु कुनै नौलो विषय भएन भन्दै ती नेताले भने –‘प्रवक्ता प्रकाण्डका विषयमा जुन भ्रम फैलाइएको छ, त्यो भ्रम फैलाउने तत्वहरुको हामी सूक्ष्म ढङ्गले अनुसन्धान गर्दैछौँ । सबैभन्दा पहिले प्रकाण्ड एमालेमा प्रवेश गर्ने भनेर रोशन खड्काले ट्विट गरेको देखिन्छ, त्यसपछि पाथीभरालगायत अनलाइनले समाचार प्रकाशन गरेको देखिन्छ । यी विषयमा हाम्रो अनुसन्धान जारी छ । देशका आमक्रान्तिकारी र पार्टीका कार्यकर्ताले समेत यस दुष्प्रचार गर्नेमाथि अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउन माग गरिरहेका छन् । हाम्रो अनुसन्धान जारी छ । हाम्रो पार्टी र नेतामाथि भ्रामक, कपोलकल्पित प्रचार गर्नेलाई हामी पानीमुनि गए पनि छोड्दैनौँ ।’

यसरी नेकपाका प्रवक्ता प्रकाण्डमाथि निरन्तर भ्रामक र कपोलकल्पित समाचार प्रवाह हुन थालेपछि हामीले प्रवक्ता प्रकाण्डलाई पछिल्लो समय एमालेमा प्रवेश गर्ने अफवाह फैलाएपछि उनको धारणा माग गरेका थियौँ । हाम्रो यस जिज्ञासामा प्रष्ट पार्दै प्रवक्ता प्रकाण्डले आफु एमालेमा प्रवेश गर्ने हल्ला साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरुको कुप्रचार भएको भन्दै त्यस प्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरे । उनले नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादको राजीनिक कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले नेकपाको सफलताबाट आत्तिएका साम्राज्यवादी तथा दलाल पुँजीवादीका एजेन्टहरूको कुप्रचार मात्र भएको टिप्पणी गरे । प्रवक्ता प्रकाण्डले यस्तो कुप्रचार गर्ने दलालहरूलाई जनताले कारबाही गर्ने चेतावनीसमेत दिए ।

नेपाली जनता, कार्यकर्ता र पार्टीपंक्तिमा साम्राज्यवादी तथा दलाल पुँजीवादी एजेन्डहरूको कुप्रचारको भ्रममा नपर्न आग्रह गर्दै प्रवक्ता प्रकाण्डले भने, ‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा, वैज्ञानिक समाजवादको कार्यक्रम र जनमत संग्रहको नीति नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ । यो लोकप्रियताबाट आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टहरूको कुप्रचार मात्र हो । यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु ।’

– क्षेप्यास्त्र  साप्ताहिक 

प्रतिक्रियाहरु

[anycomment]