एमसीसी संसदमा टेबल गर्ने दुस्साहस नगर्न चेतावनी

२०७८ फाल्गुन ६ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने दुस्साहस नगर्न चेतावनी दिदै एमसीसी पास गरे नेपाली जनताले प्रधानमन्त्री शेरबहादुर देउवालाई फ्रान्सका राजा लुई सोह्रौंको हालत बनाइदिने ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी साम्राज्यवाद र तिनका दलाल संसदवादी दलहरुले एमसीसी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गरेको भन्दै शुक्रबार संसद भवन अगाडी नयाँ बानेश्वरमा आयोजना गरेको संयुक्त विरोध सभालाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्। नेता मिलनले यदि कसैले एमसीसी नेपालको संसदबाट पास गर्ने कुचेष्ठा गर्न खोजे नेपाली जनताले जिउँदो नछाड्ने बताए । उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेता मिलनले भने – ‘देउवा जी तपाईँको इतिहास राम्रो छैन । तपाईँ निरङ्कुस हुनुहुन्छ । इतिहासले एउटा मौका दिएको छ ।’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रघाती र जनघाती काम नगर्नुहोस् । मर्ने बेलामा जनताको आन्दोलनमार्फत बहिर्गमित हुँदै देश छोड्ने स्थिति नआवस् ।’
उनले यदी देउवाले एमसीसी पास गरे नेपाली जनताले उनको टाउको काटेर बानेश्वरको सडकमा फुटबल खेल्ने बताए । ‘धेरै तानाशाही भयो भने के हुन्छ । फ्रान्सको इतिहास हेर्नुहोस् । लुई सोह्रौंको हालत के भयो ।’ उनले भने, ‘नेपाली जनताले पनि तपाईँको टाउको काटेर बानेश्वरको सडकमा फुटबल खेल्न नपरोस् । अहिले जनतामाथि तिमिहरुको आदेशमा दमन गर्ने सुरक्षाकर्मीहरुले पनि त्यतिखेर जनतालाई साथ दिनेछन् ।’ उनले भने, ‘त्यस्तो हालत हुन भन्दा एमसीसी फिर्ता पठाउनमै सबैको भलाई छ ।’
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पनि सडकमा आउन आग्रह गर्दै फाट्ट फुट्ट आन्दोलनको नाटक केही हुने बताए । ‘माओवादीका केही साथीहरुलाई पनि फाट्ट फुट्ट सडकमा देखेको छु । कि सर्लक्कै सडकमा आउनुहोस्, नाटक नदेखाउनु होस् ।’ उनले भने, ‘राष्ट्रिय स्वाधिनताको आन्दोलनमा सत्ता छोडेर जनताको विचमा आउनुहोुस् ।’
सो सभालाई विभिन्न पार्टी र मोर्चाका नेताहरुले सम्बोधन गरेका थिए । एमसीसी कुनै पनि हालतमा पास गर्न नहुनेमा उनीहरुको जोड थियो ।

प्रतिक्रियाहरु

[anycomment]