‘एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य नभएको बताएका छन । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक रूपमा सफल भएको भन्दै बन्द सफल पार्न सहयोग गर्ने सबै देशभक्त जनता र क्रान्तिकारी जनसमुदायलाई विशेष धन्यवाद दिदै महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा भनिएको छ -‘एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य छैन। ‘
महासचिव विप्लवले एमसीसीलगायत संसद्वादी दलहरूका राष्ट्रघाती कदमका विरुद्ध राष्ट्रियताको लडाइँ जारी रहेको र त्यसको नेतृत्व नेकपालगायत सारा क्रान्तिकारी, देशभक्त, कम्युनिस्ट शक्तिहरूले गर्ने समेत बताएका छन् ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७८ फागुन १५ गते नेपालका संसद्वादी दलहरूले पारित गरेको राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिस्ट पार्टीले आज १६ गते नेपाल बन्दको आयोजना गर्यौँ । जानकारी दिने छोटो समय हुँदाहुँदै पनि देशभक्त नागरिकहरूले आफ्नै तत्परता एवम् सहमतिमा आफ्नो देशको स्वाधीनताको रक्षाका पक्षमा उभिँदै नेपाल बन्दलाई भव्य रूपले सफल बनाउनुभएको छ । ऐतिहासिक बन्दलाई सफल पार्ने आमनेपाली देशभक्त जनतालाई हाम्रो पार्टी विशेष धन्यवाद व्यक्त गर्न चाहन्छ । बन्दका क्रममा देशभरिबाट सयौँजना कमरेडहरू गिरफ्तार हुनुभएको छ । उहाँहरूको शीघ्र रिहाइको माग गर्दछ । साथै हिजोको विरोध प्रदर्शनमा गम्भीर घाइते हुनुभएकी युवा सङ्गठनकी महासचिव कमरेड विदुषी र आज बन्दमा देशभरि घाइते हुने योद्धा कमरेडहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’
महासचिवको विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य छैन । यसका विरुद्ध जनता निरन्तर सङ्घर्षमा बढ्नेछन् भने हाम्रोलगायत सारा क्रान्तिकारी, देशभक्त, कम्युनिस्ट शक्तिहरूले त्यसको अनवरत नेतृत्व प्रदान गर्नेछन् । राष्ट्रियताका पक्षमा चल्ने सबै सङ्घर्षमा आमनेपाली देशभक्त नागरिकहरूलाई सक्रिय सहयोग र सहभागिता जनाउन विशेष आग्रह गर्दछौँ ।’
