एमसीसी २१औँ शताब्दीको साम्राज्यवादी नीति !

२०७८ फाल्गुन २० गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका  महासचिव  विप्लवले एमसीसी एक्काइसौं शताब्दीको साम्राज्यवादले कमजोर देशहरुमाथि उपनिवेश बनाउने तोपभन्दा पनि खतरनाक नीति भएको भन्दै अनुदानको वहाना बनाएर नेपालको कम्युनिस्ट आन्दोलनलाई सिध्याउन र प्राकृतिक स्रोतमाथि कब्जा गर्ने साम्राज्यवादी नीति भएको  ठोकुवा गरेका छन ।  नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCCबिरुद्ध आयोजना गरेको बिशाल जनप्रदर्शनपछिको  बिरोध सभालाई सम्बोधन गर्दै महासचिव  विप्लवले सो ठोकुवा गरेका हुन् ।  महासचिव  विप्लवले   राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज भएको बताउदै भने –  ‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो । नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’ नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उनको आरोप छ । अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उनले एमसीसी भनेको २१औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे ।

महासचिव  विप्लवले अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको दावी   गर्दै   केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितविपरीत रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको ठोकुवा  गरे   ।

यसैगरी,  सो बिरोध सभाको अध्यक्षता ग्रहण गर्दै नेकपा  क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले एमसीसीविरोधी आन्दोलन जारी रहेको र यसको ऐतिहासिक महत्व रहेको बताएउदै  भने, ‘यो राष्ट्रघाती छ । नेपालमा एउटा राष्ट्रघात थप भएको छ । रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ । तर सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको छ ।’

उनले यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिस्ट आवरणमा गएका सबैले राष्टघाती सम्झौता एमसीसी पारित गरेर थप राष्ट्रघात गरेको बताए । देशभक्तहरु, वामपन्थीहरु, कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, सच्चा क्रान्तिकारीहरु एक भएर अमेरिकी साम्राज्यवादको धृष्टतामा यो सम्झौताको निरन्तर, दृढतापूर्वक विरोध गर्दै सशक्त आवाज उठाउनु आवश्यक रहेको उनले बताए ।

यसैगरी, सो सभालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले   जिउँदो हुँदासम्म एमसीसी कार्यान्वयन हुन नदिने बताएका छन् । उनले एमसीसी कुनै अनुदान नभएको भन्दै नेपालको जलसम्पदा बहुराष्ट्रिय कम्पनीलाई सुम्पनका लागी ल्याइएको बताए । प्रचण्ड र माधव नेपालले व्याख्यात्मक घोषणा भनेर जनतालाई झुठ बोलेको बताउदै भियना कन्भेक्सनमा यसबारे कुनै बुँदा नभएको बताए । भियना कन्भेन्सन अन्तर्राष्ट्रिय सन्धिहरुको कानुन भएको भन्दै दुईवटै देशको हस्ताक्षर भएको सहमति मात्रै कानुन बन्ने बताए । उनले एमसीसी कुनै संशोधन नभएको भन्दै यसमा भएका देशघाती बुँदाहरु व्याख्यात्मक घोषणाले नफेरिएको बताए । दुश्मनका गलत व्याख्याहरुको खण्डन नगरी उनीहरुप्रति घृणा उत्पन्न गर्न नसकिने बताउदै आहुतिले एमसीसी प्राकृतिक स्रोत साधनमाथिको नाङ्गो हस्तक्षेप भएको बताए । संसदवादी भित्रका केही नेताहरु देशभक्तहरुको सभामा आएर बोल्न केही रोकेको हो ? आहुतिले प्रश्न गर्दै संसदभित्र बसेर देशभक्ति हुने कुरा असम्भव भएको बताए । उनले संसदवादी र देशभक्तहरु कहिल्यै एकैठाउँमा कहिल्यै हुन नसक्ने बताए । एमसीसी जनताले पारित नगरेको भन्दै संसदले गरेको निर्णय उल्टाउनेपर्ने आहुतिले बताए । नेपाल असंलग्न परराष्ट्र नीतिलाई उलंघन गरेको भन्दै यसको विरुद्ध संघर्षको विकल्प नभएको बताए । उनले साम्राज्यवाद विरोधी शक्तिशाली मोर्चा बनाउनु जरुरी भएको बताउदै यो बिषयले मोर्चामा छलफलको प्रवेश गरेको समेत बताए ।

यसैगरी , उक्त  बिरोध सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले एमसीसीका दलालहरुलाई लातले हान्नुपर्ने बताए । अध्यक्ष कट्टेलले एमसीसीको राष्ट्रघातबारे धेरै ब्याख्या भएको भन्दै अब यतिले मात्रै नपुग्ने बताए । उनले देशको कुनाकुनामा एमसीसीको राष्ट्रघातबारे पुर्याउनुपर्ने भएको भन्दै यसका विरुद्धको संघर्षमा जागरुक बनाउनुपर्ने बताएका छन् । उनले देश गम्भीर संकटमा परेको भन्दै यसलाई रोक्नका लागी जनक्रान्तिबाहेक विकल्प छैन । यसका लागी मोर्चाले जनतालाई अपिल गरेको बताए । उनले आफुलाई विकास विरोधीको रुपमा गलत प्रस्तुत गरिएको भन्दै आफुहरु अनुदानको विरोधी नभएको बताए तर सडक विस्तार र विद्युतको विस्तारको काम सडक विभाग र विद्युत प्राधिकरणलाई दिए हुने बताए । एमसीसीस हिन्द प्रशान्त सैन्य रणनीतिको अंग भएको भन्दै यसलाई कार्यान्वयन गर्न दिन नहुने बताए । उनले अमेरिकाले फेरि अर्को खम्बा विद्रोह गराउन खोजेको बताए । एमसीसी विरुद्धको संघर्ष जीवनमरणको संघर्ष भएको भन्दै नेपालले युक्रेनको अवस्था भोग्नुपर्ने अवस्था आउने बताए । उनले अमेरिका युद्धव्यापारी भएको भन्दै यसका विरुद्ध संघर्ष जरुरी भएको बताए ।

यसैगरी, सो सभालाई सम्बोधन गर्दै  नेकपा मसालका प्रवक्ता रामप्रसाद पुरीले दलाल शासकहरुले सत्ता सम्झौताका लागी एमसीसी पास गरेको बताएका छन् । उनले नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकी साम्राज्यवादको पक्षमा मत हालेको भन्दै एमसीसीका कारण त्यसो गरिएको बताए । उनले एमसीसी आर्थिक सहयोगको नाममा अमेरिका सेना नेपाल आउन खोजिरहेको भन्दै यो हिन्द प्रशान्त रणनीतिको अंग भएको बताए । उनले नेपालको प्राकृतिक स्रोत साधन बेचेर चोरहरुले देशलाई कंगाल बनाएको भन्दै यो कुनै हालतमा सह्य नहुने बताए । उनले कांग्रेसले देश बेच्दै आएको भन्दै देशको रक्षाका लागी कहिल्यै खुट्टा नकमाउने बताए । देशको रक्षाका लागी गोली खान समेत तयार हुनुपर्ने बताए ।

यसैगरी , उक्त  बिरोध सभालाई सम्बोधन गर्दै   नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले   एमसीसी सम्झाैता खारेजीका लागि खुट्टा नकमाइकन राष्ट्रिय प्रतिराेध युद्धको तयारीमा अगाडि बढ्नुपर्ने  बताउउदै नेपाली जनताको बलमा एम्सिसिलाई नेपालवाट फिर्ता पठाउने दावी गरे ।  बुढाथोकीले भने – ‘एमसीसी  पास गर्नेहरु राष्ट्रिय गद्दार हुन उनिहरुलाई  नेपालमा बस्ने अधिकार छैन। जहाँ जहाँ एमसीसी लागू गरिएको छ त्यहा शान्ति हुनसकेको  छैन। अब हामी छ पार्टीहरु एकताको दिशामा ठोस पहल गर्दै  आन्दोलनको नेतृत्व गर्छौ।’

यसैगरी, सो सभालाई सम्बोधन गर्दै  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा एमसीसी सम्झौता अनुदान भनिएपनि अमेरिकाको लगानी भएको बताएका छन् । नेता केसीले नेपाल शक्ति राष्ट्रको क्रिडास्थल बनाउने खेल भएको भन्दै यो एमसीसी अनुदानको नाममा राष्ट्रघात भएको बताए । संसदमा भएका केही दलले व्याख्यात्मक प्रस्तावको नाममा जनतालाई भ्रम दिइएको भन्दै प्रचण्ड र माधवले भनेर यसका आपत्तिजनक बुँदाहरु खारेज हुन नसक्ने बताउनुभयो । उनले देशको सार्वभौमसत्ता बेचेर खाएको भन्दै वामपन्थीको नाममा खामपन्थी भएको बताए । उनले देशका नदीनाला बेचेर खाएको भन्दै एमसीसी अमेरिकी सेना हुल्ने कदम भएको बताए । उनले कांग्रेसका कारण देश कंगाल बन्दै गएको भन्दै देशको अस्तित्व नै संकटमा पर्दै गएको बताए । युवाहरु विदेशीन बाध्य भएको भन्दै साम्राज्यवादका दलालहरु घुस खाएर देश टाँट पल्टिएको बताए । उसले न्यायपालिका समेत क्षतविक्षत भएको भएको भन्दै यही बेला शक्ति राष्ट्रले हातमा लिएर प्राकृतिक स्रोत साधन लुट्न खोजिरहेको बताए ।देशभक्त नेपालीहरुले देश विदेशमा बसेर एमसीसी विरुद्ध संघर्ष गर्दै खारेज गर्न माग गरिरहेको भन्दै यसलाई कार्यान्वयन गर्न दिन नहुने बताए । उनले प्रजातान्त्रिक समाजवादको गीत गाएर कांग्रेसले देश बेचेको बताए । उनले एमसीसी मार्फत् देशलाई सिरिया, इराक र अफगानिस्तान बनाउन खोजेको बताए ।

यसैगरी, सो सभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष  सीपी गजुरेलले एमसीसी संसदबाट पास भएपनि जनताले पास नगरेको भन्दै यसलाई कार्यान्वयन हुन नदिन चरणबद्ध संघर्षको नेतृत्व गर्ने बताएका छन् । उनले चीनलाई घेर्नका लागी एमसीसी पारित गरिएको बताए । नेता गजुरेलले यसको शिकार नेपाल हुने बताउदै यसका लागी कुनै पनि हालतमा कार्यान्वयन हुन दिन नहुने बताए । उनले संसदले एमसीसी पारित गरेपनि यसलाई खारेज गर्न सकिने भन्दै नेपालमा पनि यसलाई जनस्तरबाट यसलाई खारेज गर्नुपर्ने बताए । उनले साम्राज्यवादको पक्षमा व्याख्यात्मक घोषणा गरेर गम्भीर राष्ट्रघात गरेको बताए । उनले सरकारले जनतामाथि निर्मम दमन गरेर संसदबाट एमसीसी पास गरिएको भन्दै यसका विरुद्ध संघर्षलाई अगाडी बढाउनु आवश्यक भएको बताए । उनले एमसीसी पास भएपछि शासकहरु चुप लागेर बस्छन् भन्ने कुरा भ्रम भएको बताउदै युवाहरु र नेपाली जनता सडक संघर्षमा उर्लिएको बताए । उनले यस विरुद्धको संघर्षलाई चरणबद्ध अगाडी बढाउने बताए । उनले अहिले आन्दोलन राँको बनेर आउने बताउदै एमसीसी पक्षधरहरुभित्र समेत तीब्र अन्तरविरोध भएको बताए । माके र एकीकृत समाजवादीभित्र रहेका देशभक्तहरुले विद्रोह गर्नुपर्ने बताउदै त्यसका लागी मोर्चा स्वागत गर्न तयार रहेको बताए । उनले राष्ट्रघात गर्ने संसदको औचित्य नभएको बताए ।  

यसैगरी , उक्त  बिरोध सभालाई सम्बोधन गर्दै सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमा सुवेदीले  नेपाली जनता एमसीसीमा राष्ट्रघाती सम्झौता गर्नेहरुलाई आर्यघाटमा खरानी पार्न जुटिरहेको बताइन् । उनले  राष्ट्रघातीहरुलाई देशबाट खेद्नुपर्ने बताउदै    देश बलिरहेको समयमा मध्यरातमा राष्ट्रघाती एमसीसी पारित गरिएकाले जनताको मुक्ति आन्दोलनमा खुट्टा नकमाउन अन्दोलनकारीलाई आह्वान गरिन् । सेना र प्रहरीलाई पनि राष्ट्रियता रक्षाको आन्दोलनमा एक हुनुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCCबिरुद्ध आयोजना गरेको बिशाल जनप्रदर्शनपछि आयोजित उक्त  बिरोधसभा  सभाको सभाध्यक्ष नेकपा क्रान्तिकारी माओबादीका मोहन वैद्यले रहेका थिए भने उक्त बिरोधसभाको  संचालन नेकपाका प्रवक्ता प्रकाण्डले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]