नेकपा केन्द्रिय समितिको बैठक जारी : स्थानीय निर्वाचन प्रयोग गर्ने विषयमा छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समितिको १२औँ पूर्ण बैठक कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा जारी छ । अघिल्लो शुक्रबार अपरान्ह २ बजेबाट सुरु भएको उक्त बैठकमा महासचिव विप्लवले आगामी पार्टीको नवौँ महाधिवेशन, एमसीसीविरोधी आन्दोलन र आसन्न स्थानीय निर्वाचनका विषय समेटेर प्रतिवेदन पेश गरेको बताइएको छ । महासचिव विप्लवले पेश गरेको प्रतिवेदनमा एमसीसीविरुद्ध आन्दोलनमा पार्टीले खेलेको भूमिकाको राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा नै चर्चाको विषय बनेको उल्लेख गर्दै एमसीसीविरुद्धको संघर्ष जारी रहेको र पार्टीको नेतृत्व र जनताको बलमा एमसीसी सम्झौता खारेज गर्ने उल्लेख गरिएको छ । यसैगरी, उक्त प्रतिवेदनमा सरकारले हालै स्थानीय निकायको निर्वाचन घोषणा गरेकाले उक्त निर्वाचन पार्टीले प्रयोग गर्नु पर्ने उल्लेख गरिएको छ । महासचिव विप्लवले पेश गरेको प्रतिवेदनको ‘एकीकृत जनक्रान्तिका कार्यनीतिहरु र स्थानीय निर्वाचन’ उपशीर्षकमा पार्टीले कार्यनीति ठोस गर्दा जहिले पनि देश, श्रमिक जनता, मित्रशक्ति र पार्टीपङ्तिको अवस्थालाई केन्द्र भागमा राखेर गर्नु पर्ने उल्लेख गर्दै कस्तो कार्यनीतिले देशको हितमा नागरिकहरुलाई ध्रुवीकृत गर्न मद्दत गर्दै जनता र पार्टीको सम्बन्धलाई मजबुत बनाउँछ, जनतालाई एकताबद्ध र सक्रिय बनाउँछ, पार्टीपङ्तिलाई जनतामा पुग्न सहज बनाउँछ र क्रान्तिलाई अगाडि बढाउन मद्दत गर्छ भन्ने पक्षलाई ध्यान दिएर बनाउनु पर्ने विषय समेटिएको छ ।
महासचिव विप्लवले प्रतिवेदनमार्फत् एकीकृत जनक्रान्तिको कार्यदिशाबमोजिम स्थानीय निकायको निर्वाचन प्रयोग गर्ने प्रस्ताव गरेपछि त्यस विषयमा केन्द्रिय समितिको बैठकमा घनिभूत ढंगले छलफल भएको बताइएको छ । बैठकमा अधिकांश केन्द्रिय सदस्यले महासचिव विप्लवले पेश गरेको प्रतिवेदन समयसापेक्ष भएकोले सोहीबमोजिम अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । उनीहरुले स्थानीय निर्वाचन प्रयोग पार्टी र एकीकृत जनक्रान्तिको पक्षमा रहेको भन्दै महासचिव विप्लवले पेश गरेको प्रतिवेदनको समर्थन गरेका हुन् । यसबाट नेपाल कम्युनिस्ट पार्टीले आसन्न स्थानीय निर्वाचन प्रयोग गर्ने प्रायः निश्चित देखिन्छ ।
यता, नेकपाको केन्द्रिय समितिको बैठकमा महासचिव विप्लवले पेश गरेका स्थानीय निर्वाचन प्रयोग गर्ने विषय सार्वजनिक भएपछि राष्ट्र र जनघाती राजनीतिक दल, तिनका नेता, कार्यकर्ता र देशी–विदेशी दलालहरुलाई औडाहा भएको छ । राष्ट्र र जनघाती तत्वलगायत देशी–बिदेशी दलालहरु नेकपालई स्थानीय निर्वाचन प्रयोग गर्नबाट रोक्न सक्रिय भएर लागेका छन्, उनीहरु आफ्ना एजेन्टमार्फत् नेकपाका विरुद्ध विभिन्न टिकाटिप्पणी, भ्रामक, तथ्यहीन र कपोलकल्पित प्रचारमा उत्रिएका छन्, उनीहरुको यो नेकपा र एकीकृत जनक्रान्तिविरुद्धको हर्कत पार्टी र जनताले बुझिसकेका छन् । राष्ट्र र जनताबाट बिमुख गराएर नेकपा र एकीकृत जनक्रान्तिलाई नामेट पार्ने राष्ट्र र जनघाती देशी–विदेशी दलालका विषयमा नेकपाका तमाम नेता र कार्यकर्ता सचेत रहेका छन्, यो राष्ट्र र जनघाती तत्वलगायत देशी–विदेशी दलालहरुको दिवास्वप्ना मात्र हुने निश्चित छ ।
यसैबीच, राजनीतिक विश्लेषकहरुले नेकपाले स्थानीय निर्वाचन प्रयोग गर्ने नीति सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले एमसीसीविरुद्धको आन्दोलनलगायत राष्ट्र र जनताको पक्षमा खरो ढंगले संघर्षमा उत्रिएको नेकपा स्थानीय निर्वाचन प्रयोगका लागि जनतामाझ जान तयार हुनुले राष्ट्रिय राजनीतिमा आशाको किरण पैदा भएको समेत बताएका छन् ।- क्षेप्यास्त्र साप्ताहिक