नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता : तत्काल बन्दी रिहा गर्न सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । आज अपरान्ह भएको उक्त भेटवार्तामा प्रवक्ता प्रकाण्डले सरकारले हालसम्म बन्दि बनाइएका नेकपाका नेता कार्यकर्तालाई रिहा नगरेकोमा ध्यानाकर्षण गराएको बुझिएको छ । यसैगरी ,प्रवक्ता प्रकाण्डले हालै जिल्ला अदालत बाजुरावाट रिहा भएका कर्ण विश्वकर्मालाई प्रहरीले पुन गिरफ्तार गरेको भन्दै उनलाई तत्काल रिहा गर्न मागसमेत गरेका थिए।
यसैगरी, उक्त भेटवार्तामा प्रवक्ता प्रकाण्डले नेकपा र सरकारबीच भएको ३ बुंदे सहमतिमा देशको राजनीतिक समस्याहरु वार्ता र सम्बादवाट समाधान गर्ने सहमति भएको तर सरकारले नेकपासंग कुनै छलफल नगरी स्थानीय निकायको निर्वाचन घोषणा गरिएको बिषयमा समेत गम्भीर ध्यानाकर्षण गराएको बुझिएको छ।
उक्त भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँणले नेकपाका बन्दि नेता – कार्यकर्ता रिहाइको कार्य अन्तिम चरणमा पुगेको भन्दै केहि दिन भित्रै सबैलाई रिहा गर्ने बताएका थिए। गृहमन्त्री खाँणले सरकार नेकपासग गरेको ३ बुंदे सहमति कार्यान्वनको लागि प्रतिबद्ध भएको समेत बताएका थिए।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच बिहिबार भएको उक्त भेटवार्ता सकारात्मक र निष्कर्षमुलक भएको बताइएको छ ।