‘आसन्न स्थानीय निर्वाचनमा एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्नुस्’

२०७८ चैत्र २५ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आसन्न स्थानीय निर्वाचनमा एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्न आग्रह गरेका छन । नेपाल कम्युनिस्ट पार्टी चितवनले जनआन्दोलन दिवसको अवसरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो आग्रह गरेका हुन् । महासचिव विप्लवले आगामी स्थानीय निर्वाचनमा गाउँगाउँबाट, सहरसहरबाट देश बेच्ने दलालहरु, एमसीसी पास गर्ने दलका नेताहरूलाई लखेट्न जनतालाई आह्वान गर्दै भने– ‘यदि सक्नुहुन्छ यो संसदीय व्यवस्थाको भण्डाफोर गर्नुस् । अहिले हाम्रो पार्टीले एउटा ढोका खोलेको छ सक्नुहुन्छ संघर्ष गर्नुस्, भोट नहाल्नुस् यदि सक्नुहुन्न दलालहरुलाई, ठेकेदारहरुलाई, देश बेचुवाहरुलाई भोट नहाल्नुस्, नजिताउनुस् बरु भोट हाल्नै परे एउटा सुकुम्बासीलाई दिनुस्, देश बेच्न नदिने र एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्नुस्, लड्नुस् तर दलालहरुलाई भोट नदिनुस्, लखेट्नुस् हाम्रो पार्टीले यो अपिल गरेको छ ।´
उनले दलाल संसदीय व्यवस्था अन्त्य नभएसम्म नेपाली जनता सुखको श्वास नफेर्ने भन्दै यसको अन्त्यका लागि आफुहरु निरन्तर जुनसुकै मोर्चाबाट पनि लड्न तयार रहेको बताए । महासचिव विप्लवले भने–हामी झुकेका छैनौं र झुक्ने पनि छैनौं, आज पनि हामीलाई विभिन्न घेराबन्दी गरिदैछ । हामी जहिलेसम्म रहन्छौँ तहिलेसम्म नेपाली जनताको अधिकारका लागि, नेपाल देशको स्वाधीनताको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।´

महासचिव विप्लवले यो देशमा जनताहरु धेरै चोटि लडे तर जनताले आफ्नो असल प्रतिनिधि बनाउन अहिलेसम्म नपाएको बताए । उनले भने, ‘किसानको नाराले, सुकुम्बासीको नाराले, मतले जितेर जान्छ मन्त्री भएको भोलिपल्ट, संसद भएको भोलिपल्ट सुकुम्बासीको घरमा डोजर लगाउछ, भ्रष्टाचार गर्छ, तस्करी चल्छ, दलाली गर्न थाल्छ, देश बेच्नसम्म पछि पर्दैन । भ्रष्टाचार, महङ्गी, राष्ट्रघातका विरुद्ध आन्दोलन गर्नेलाई दण्डा बर्षाउछ त्यसैले यो शासन लुटेराहरुको शासन हो ।´ महासचिव विप्लवले यो दलाल पुजीवादी संसदीय व्यवस्थाका कारण देशले ठूल्ठूलो संकट भोग्न परिरहेको बताउदै अहिले दलालहरुको लाचारी कारण नेपाली जनताले अस्वीकार गरेको एमसीसी नेपालमा लादिएको बताए । एमसीसी नेपालमा अजिङ्गरको रूपमा पस्न खोज्दैछ महासचिव विप्लवले भने,अमेरिकी साम्राज्यवाद एमसीसीमार्फत नेपाललाई निल्न खोज्दैछ । कथित संसदहरु व्यापारी भएर कानुनी रुपमा देश बेच्न खोजेपनि कानुन भन्दा शक्तिशाली जनता छन् जनताले एमसीसी स्वीकार गरेका छैनन् ।´
महासचिव विप्लवले जनताको बलले एमसीसी कुनै पनि हालतमा लागु हुन नदिने स्पष्ट पारे । उनले जनता हेपिएर, थिचिएर, निस्सासिएर, निराश भएर बस्नु हुँदैन भन्दै भने ,‘चैत्र २४ ले पञ्चायत ढल्यो, राजतन्त्र ढल्यो, अब अर्को चैत्र २४ आउनेछ, अर्को दिन आउनेछ बचेको सामन्तवाद, दलाल पुजीवाद ढाल्नेछ । त्यसको नेतृत्व हाम्रो पार्टीले गर्नेछ, जसले काम गर्छ त्यो खान पाउने दिन ल्याउन खोजेका छौँ, आफैले चलाउने व्यवस्था वैज्ञानिक समाजवाद ल्याइ छोड्ने छौँ ।´
नेकपा चितवनका सेक्रेटरी मीन प्रसाद सापकोटाको अध्यक्षतामा भएको जनसभा कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश, नेकपा केन्द्रीय सदस्य एवम् अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द लगायत बोलेका थिए ।
कार्यक्रममा सामना जनसांस्कृतिक परिवारले विभिन्न प्रस्तुतिहरु देखाएको थियो । कार्यक्रमको सञ्चालन नेकपा चितवन जिल्ला विशेष कमिटी सदस्य महेश थारुले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]