‘दलाल पुँजीवादी सत्ता पुँजीवादभन्दा पनि निर्लज्ज ‘

२०७९ जेष्ठ २० गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता पुँजीवादभन्दा पनि निर्लज्ज अवस्था भएको ठोकुवा गरेका छन। महासचिव विप्लवले पार्टीको हालै सम्पन्न पार्टीको १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न शुक्रबार काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् ।

महासचिव विप्लवले अहिलेकै अवस्थाको निरन्तरता भए कुनै पनि दिन नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुनसक्ने दाबी गर्दै भने – ‘नेपालमा आज दलाल पुँजीवादी सत्ता छ । यो त पुँजीवादभन्दा पनि निर्लज्ज अवस्था हो । यसले जनतालाई शोषणमात्रै गर्छ, कुनै लाभ दिँदैन । यहाँ जुनसुकै दिन पनि नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुनसक्ने अवस्था छ । त्यसैले यस्तो दलाल पुँजीवादको अन्त्यका लागि वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ । वैज्ञानिक समाजवादमा मात्रै जनताले चाहेको जस्तो जीवन बाँच्न पाउँछन् भनेर हामीले बुझाउन सक्नुपर्छ ।’


महासचिव विप्लवले नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको बताउदै दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने क्रममा रहेको ठोकुवासमेत गरेका छन । उनले भने – ‘नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको छ, पछिल्लो समय गम्भीर खालका घटनाहरू घटिरहेका छन् । यो सबै दलाल पुँजीवादको आत्मसमर्पणवादी चरित्रले गर्दा भएको हो । त्यसै कारण नेपाल एउटा नवउपनिवेशमा जाँदै गरेको देखिन्छ,’ उनले भने, ‘अस्ति भर्खरै एमसीसी भयो, अहिले एमसीसीको कार्यालयमा अमेरिकी कर्मचारी ओइरिँदै गरेको खबर छ । अमेरिकी सहायक विदेशमन्त्री आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूको विरुद्धमा उचाल्ने खेल चलेको छ ।’
महासचिव विप्लवले कुनै पनि विदेशी भूमण्डलीकृत साम्राज्यवादी तत्वद्वारा देशमा लादिने असमान सन्धि, सम्झौता र उनीहरुका हस्तक्षेपकारी क्रियाकलापलाई ठाडै अस्वीकार गरेर प्रतिरोधमा उत्रिनुपर्छ भन्ने बिषय केन्द्रीय समितिमा छलफल भएको बताए । उनले राष्ट्रिय स्वाधीनताको पक्षमा देशैभरि जागरण ल्याउनुपर्ने पनि बताएका छन् । स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयले पार्टीमा भएको मतभेदले पार्टी विभाजनसम्म पुगेको स्मरण गर्दै महासचिव विप्लवले आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए । उनले कम्युनिस्ट आन्दोलनमा रहेका, तर पार्टीबाट अलग भएकाहरुलाई समेत पार्टीमा एकढिक्का हुन आव्हान गरेका थिए ।


महासचिव विप्लवले आगामी असोज १ गते आफ्नो पार्टीको ९ औँ महाधिवेशन गरिने र सबै भ्रमहरूलाई सफाचट पार्ने बताए । यस्तै सच्चिएर आएमा माओवादी केन्द्रसहितका शक्तिहरुसँग समेत पार्टी एकता हुन सक्ने बताए । ‘प्रचण्डजीले पनि एकताको कुरा गर्नुहुन्छ । मैले त उहाँहरूलाई भनेको छु, तपाइँहरू पुरानै ठाउँमा फर्किनुस्, हामी छलफल र बहस गर्न तयार छौं । तर, तपाइँहरू सुध्रिनुहुन्न भने तपाइँहरूको अन्त्यलाई कसैले बचाउनेवाला छैन,’ उनले भने, ‘उहाँहरुको लहैलहैमा लागेका धेरै साथीहरू हुनुहुन्छ, म उहाँहरूलाई सही बाटोमा आउन आव्हान गर्दछु ।
यसैगरी , महासचिव विप्लवले पार्टीबाट अलग भई नेकपा बहुमत गठन गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले विवाद भएको हप्ता दिनमै झोला बोकेर हिँडेको बताउदै विवाद भएको हप्ता दिनमै हिंड्ने कस्तो खालको लिडरसिप हो भन्दै प्रश्न गरे । उनले भने – ‘पार्टीमा छलफल र बहस हुन्छ त्यत्तिकैमा आत्तिनु हुँदैन । विवाद भएको हप्तादिन भएको भएको छैन । अर्को हप्ता झोला बोकेर हिँडिहाल्ने यो कस्तो खालको लिडरसिपको चरित्र हो ?’ ‘एकछिन कुरा हुन पाएको छैन पुरा खरानी उडाउँदै हिंड्ने यो कस्तो खालको संस्कार दृष्टिकोण हो ?’


महासचिव विप्लवले पार्टी विभाजन भएपछि नेता कार्यकर्ता र शुभेच्छुक चिन्तित भएको बताउदै भने – ‘यो विभाजन दुःखद भयो । नेता, कार्यकर्ता र शुभेच्छुक दुखित छन् । कहाँ के मिलेन रु कतै नेतृत्वले ध्यान पुर्याएन कि ? भन्ने परेको छ ।’ उनले भने, ‘तर उहाँ (धर्मेन्द्र र हेमन्तप्रकाश)ले एकढंगले बबण्डर मच्चाउने काम गर्नुभयो । त्यो सुझबुझपूर्ण कदम थिएन । त्यो क्रान्तिकारी नेताले परिपक्वता थिएन । त्यहाँभित्र आवेग कुण्ठा,असहिष्णुता जड्दा प्रष्ट देखिन्थ्यो ।’ आफूहरुले धर्मेन्द्र र हेमन्तप्रकाशलाई सम्झाउने प्रयास गरेपनि सफल नभएको महासचिव विप्लवले बताए ।

प्रतिक्रियाहरु

[anycomment]