नेकपाको ९ औँ महाधिवेशन असोज १ गतेदेखि : भदौ १५ सम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औँ महाधिवेशन असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा हुने भएको छ । हालै सम्पन्न पार्टीको १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न शुक्रबार काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान (राष्ट्रिय नाचघर) जमलमा आयोजित पत्रकार सम्मेलनमार्फत् सो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेकपाको हालै सम्पन्न ८औं केन्द्रीय समितिको १३औँ बैठकले ९ औँ महाधिवेशन असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने र त्यसअघि भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेसम्म जिल्ला सम्मेलन सम्पन्न हुने छन ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता पुँजीवादभन्दा पनि निर्लज्ज अवस्था भएको ठोकुवा गरेका छन् । उनले अहिलेकै अवस्थाको निरन्तरता भए कुनै पनि दिन नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुनसक्ने दाबी गर्दै भने – ‘नेपालमा आज दलाल पुँजीवादी सत्ता छ । यो त पुँजीवादभन्दा पनि निर्लज्ज अवस्था हो । यसले जनतालाई शोषणमात्रै गर्छ, कुनै लाभ दिँदैन । यहाँ जुनसुकै दिन पनि नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुनसक्ने अवस्था छ । त्यसैले यस्तो दलाल पुँजीवादको अन्त्यका लागि वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ । वैज्ञानिक समाजवादमा मात्रै जनताले चाहेको जस्तो जीवन बाँच्न पाउँछन् भनेर हामीले बुझाउन सक्नुपर्छ ।’
महासचिव विप्लवले नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको बताउदै दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने क्रममा रहेको ठोकुवासमेत गरेका छन । उनले भने– ‘नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको छ, पछिल्लो समय गम्भीर खालका घटनाहरू घटिरहेका छन् । यो सबै दलाल पुँजीवादको आत्मसमर्पणवादी चरित्रले गर्दा भएको हो । त्यसै कारण नेपाल एउटा नवउपनिवेशमा जाँदै गरेको देखिन्छ,’ उनले भने, ‘अस्ति भर्खरै एमसीसी भयो, अहिले एमसीसीको कार्यालयमा अमेरिकी कर्मचारी ओइरिँदै गरेको खबर छ । अमेरिकी सहायक विदेशमन्त्री आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूको विरुद्धमा उचाल्ने खेल चलेको छ ।’
महासचिव विप्लवले कुनै पनि विदेशी भूमण्डलीकृत साम्राज्यवादी तत्वद्वारा देशमा लादिने असमान सन्धि, सम्झौता र उनीहरुका हस्तक्षेपकारी क्रियाकलापलाई ठाडै अस्वीकार गरेर प्रतिरोधमा उत्रिनुपर्छ भन्ने विषय केन्द्रीय समितिमा छलफल भएको बताए । उनले राष्ट्रिय स्वाधीनताको पक्षमा देशैभरि जागरण ल्याउनुपर्ने पनि बताएका छन् । स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयले पार्टीमा भएको मतभेदले पार्टी विभाजनसम्म पुगेको स्मरण गर्दै महासचिव विप्लवले आपूmहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए । उनले कम्युनिस्ट आन्दोलनमा रहेका तर पार्टीबाट अलग भएकाहरुलाई समेत पार्टीमा एकढिक्का हुन आव्हान गरेका थिए ।
महासचिव विप्लवले आगामी असोज १ गते आफ्नो पार्टीको ९ औँ महाधिवेशन गरिने र सबै भ्रमहरूलाई सफाचट पार्ने बताए । यस्तै सच्चिएर आएमा माओवादी केन्द्रसहितका शक्तिहरुसँग समेत पार्टी एकता हुन सक्ने बताए । ‘प्रचण्डजीले पनि एकताको कुरा गर्नुहुन्छ । मैले त उहाँहरूलाई भनेको छु, तपाइँहरू पुरानै ठाउँमा फर्किनुस्, हामी छलफल र बहस गर्न तयार छौं । तर, तपाइँहरू सुध्रिनुहुन्न भने तपाइँहरूको अन्त्यलाई कसैले बचाउनेवाला छैन,’ उनले भने, ‘उहाँहरुको लहैलहैमा लागेका धेरै साथीहरू हुनुहुन्छ, म उहाँहरूलाई सही बाटोमा आउन आव्हान गर्दछु ।
यसैगरी, महासचिव विप्लवले पार्टीबाट अलग भई नेकपा बहुमत गठन गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले विवाद भएको हप्ता दिनमै झोला बोकेर हिँडेको बताउँदै विवाद भएको हप्ता दिनमै हिंड्ने कस्तो खालको लिडरसिप हो भन्दै प्रश्न गरे । उनले भने– ‘पार्टीमा छलफल र बहस हुन्छ त्यत्तिकैमा आत्तिनु हुँदैन । विवाद भएको हप्तादिन भएको भएको छैन । अर्को हप्ता झोला बोकेर हिँडिहाल्ने यो कस्तो खालको लिडरसिपको चरित्र हो ?’ ‘एकछिन कुरा हुन पाएको छैन पुरा खरानी उडाउँदै हिंड्ने यो कस्तो खालको संस्कार दृष्टिकोण हो ?’
महासचिव विप्लवले पार्टी विभाजन भएपछि नेता कार्यकर्ता र शुभेच्छुक चिन्तित भएको बताउदै भने – ‘यो विभाजन दुःखद भयो । नेता, कार्यकर्ता र शुभेच्छुक दुखित छन् । कहाँ के मिलेन रु कतै नेतृत्वले ध्यान पु¥याएन कि ? भन्ने परेको छ ।’ उनले भने, ‘तर उहाँ (धर्मेन्द्र र हेमन्तप्रकाश)ले एक ढंगले बबण्डर मच्चाउने काम गर्नुभयो । त्यो सुझबुझपूर्ण कदम थिएन । त्यो क्रान्तिकारी नेताले परिपक्वता थिएन । त्यहाँभित्र आवेग कुण्ठा, असहिष्णुता जड्दा प्रष्ट देखिन्थ्यो ।’ आपूmहरुले धर्मेन्द्र र हेमन्तप्रकाशलाई सम्झाउने प्रयास गरे पनि सफल नभएको महासचिव विप्लवले बताए ।
उक्त, पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले साम्राज्यवादीहरु नेकपालाई अन्तरध्वंश गर्न लागि परेको ठोकुवा गरेका छन् । प्रवक्ता प्रकाण्डले नेकपाले उठाएको राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालले पार्टी जनतामाझ स्थापित हुँदै गएपछि प्रतिबन्ध खेप्नु परेको प्रसंग कोट्याउदै राजनीतिक र फौजी दृष्टिले पार्टीलाई सिध्याउन नसकेपछि साम्राज्यवादीहरु नेकपालाई अन्तरध्वंश गर्न लागि परेको बताए । उनले पार्टी एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना लक्ष्यमा दृढ भएर अगाडि बढी रहेको नेपालका दलाल पुँजीपतिवर्ग, साम्राज्यवादी बर्ग, कम्युनिष्ट आन्दोलनभित्र रहेका दक्षिणपन्थी अवसरवादीहरुलाई सैह्य नभएको जिकिर गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने उद्घोषसमेत गरे ।
पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले पार्टीको १३औं केन्द्रीय समितिको बैठकको निर्णय पढेर सुनाएका थिए ।
जुन यस प्रकार रहेको छ– “हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीको आठौं केन्द्रीय समितिको ऐतिहासिक तेह्रौं पूर्ण वैठक महासचिव कमरेड विप्लवको अध्यक्षतामा २०२७९ जेठ १२ देखि १७ गते ६ दिनसम्म उदयपुर जिल्लाको सुन्दर पर्यटकीय स्थल रौतामाई गाउँपालिका रौतामा सानदार ढंगले सम्पन्न भयो । आजको बहुध्रुवीय विश्वको विस्फोटक स्थिति, राष्ट्रिय राजनीतिको संकट, नेपाली कम्युनिष्ट आन्दोलन, ऐतिहासिक नवौं महाधिवेशन र एकीकृत जनक्रान्तिको उज्ज्वल संभावना, आर्थिक, साँस्कृतिक, प्रकाशन, नमुना कार्यलगायतका विषयमा महत्वपूर्ण निर्णयहरु ग¥यो । केन्द्रीय समितिका ऐतिहासिक निर्णयहरु आमनागरिकहरुका जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) रौतामाईको सुन्दर एवं शान्त वस्तीमा सुनौलो विहानीको शीतल वातावरणमा महासचिव कमरेड विप्लवले आठौं केन्द्रीय समितिको ऐतिहासिक तेह्रौं वैठक सुरु गरेपछि महान एकीकृत जनक्रान्ति, जनयुद्ध र सवै मुक्ति आन्दोलनका महान सहिदहरुप्रति १ मिनेट मौनधारण गरियो साथै महान वेपत्ता योद्धाहरुलाई स्मरण गर्दै उच्च सम्मान प्रकट गरियो । त्यसैगरी क्रान्तिमा घाइते हुनु भएका योद्धा कमरेडहरुलाई सम्मान गर्दै स्वास्थ्य लाभको कामना गरियो । महान सहिद तथा वेपत्ता योद्धाका आदरणीय परिवारजनप्रति गहिरो संवेदना प्रकट गरियो । त्यसलगत्तै सवै केन्द्रीय सदस्य कमरेडहरु साम्यवादी अन्तर्राष्ट्रिय गीत गायनमा मुठ्ठी उठाएर उत्साहका साथ सहभागी बन्नु भयो ।
२) केन्द्रीय समितिको वैठकमा महासचिव कमरेड विप्लवले “एकीकृत जनक्रान्तिलाई दृढतापूर्वक लागू गरौं, गुटवाद, फुटवादका विरुद्ध पार्टीलाई एकताबद्ध गरौं ।” भन्ने राजनैतिक प्रस्ताव साथै “ऐतिहासिक नवौं महाधिवेशनलाई भव्यतापूर्व सफल पारौं, एकीकृत जनक्रान्तिको विचारलाई विकास गरौं ।” भन्ने महाधिवेशनको राजनैतिक प्रतिवेदन पेस गर्नु भयो । बैठकले समसामयिक प्रस्तावलाई तीन दिनसम्मको उच्च जनवादी छलफलसहित एकमतले पारित ग¥यो भने महाधिवेशनको प्रतिवेदनलाई विस्तृत अध्ययनका लागि प्रस्तुत गरियो ।
३) विश्व राजनीति भूमाण्डलीकृत पुँजीवादी ध्रुवीकरण एवं सैन्य टकरावका कारण विस्फोटक अवस्थामा पुगेको छ । रुस, युक्रेन युद्ध एवं ताइवान, कोरिया प्रायदीप, प्रशान्त महसागरको तनावले संसारलाई चिन्तित बनाइरहेको छ । ऊर्जा एवं दैनिक उपभोगय वस्तुमा संकट र अभाव र महँगी बृद्धि भइरहेको छ । एकातिर भूमण्डलीकृत पुँजीवाद र अर्कोतिर विश्वका श्रमिक जनता उभिन पुगेका छन् । यसले अग्रगामी एवं क्रान्तिकारी रुपान्तरण केवल विश्व साम्यवादी क्रान्ति एवं वैज्ञानिक समाजवाद–साम्यवादबाट मात्र हुन सक्छ भन्ने थप पुष्टि भएको छ ।
४) नेपालको दलाल पूँजीवादी सत्ता, संसदीय सरकार एवं दलाल प्रवृत्ति हावी भएका राजनैतिक पार्टी र नेताहरुका कारण देशमाथि अमेरिकी–भारतीय साम्राज्यवादी हस्तक्षेप, अतिक्रमण अभूतपूर्व रुपले बढेको छ । जसका कारण देश नवऔपनिवेशिक अवस्थामा पुगेको छ । एमसीसी लगायतका असमान सन्धि–सम्झौताहरु खारेज गर्दै देशलाई स्वाधीन एवं जनवादी बनाउनका लागि आम वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी र कम्युनिष्ट शक्तिहरु एकताबद्ध एवं धु्रवीकृत हुन जरुरी भएको निष्कर्ष बैठकबाट निकालियो ।
५) भूमण्डलीकृत पुँजीको वेलगाम प्रवेश, उत्पादन र उपभोगको असन्तुलन, आयात र निर्यातको असीमित असन्तुलन, पुँजीमाथि मुठ्ठीभर दलाल पुँजीपति वर्गको एकाधिकार, रोजगारीको समस्या जस्ता कारणले देशको अर्थतन्त्र टाट् पल्टिने अवस्थातिर तानिँदै छ । भ्रष्टाचार र महङ्गीले श्रमिक जनताको जीवनलाई तहसनहस पार्दै लगेको छ । यसको समाधान केवल कानूनी, प्रशासनिक एवं संसदीय सुधारद्वारा मात्र संभव छैन । अपितु एकीकृत जनक्रान्ति, दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापनाद्वारा मात्र संभव छ भन्ने निचोड निकालियो ।
६) हाम्रो पार्टीभित्र एकीकृत जनक्रान्तिको मौलिकता एवं त्यसका रणनीति र कार्यनीतिहरु विशेषतः रुपमा स्थानीय चुनावलाई बुझ्नेमा सुदर्शन–कञ्चनहरुमा रुढीवादी, जडसूत्रवादी, बुर्जुवा अराजकतावादी, फुटवादी विचलन देखा प¥यो । देश र श्रमिक जनताको नेतृत्व गर्ने पार्टीको सर्वोच्च निकायमा राष्ट्रको जिम्मेवारी सम्हाल्नु पर्ने यस्तो संवेदनशील परिस्थिमा अति अनुत्तरदायी विचलन देखा पर्नु निकै दुःखद अवस्था हो । परन्तु यो विचलन केवल व्यक्ति विशेषको मात्र दोष नभएर वस्तु र चेतना बीचमा पैदा भएको अवस्तुवादी एवं अवैज्ञानिक विचारको अभिव्यक्ति हो ।
यो विचलन भनेको वस्तु र चेतनाबीचमा पैदा भएको अवस्तुवादी एवं अवैज्ञानिक विचारको पतन हो । यो विचलन अगाडि संकेतका रुपमा उनीहरुभित्र लामो समयदेखि आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरु मौलाउन थालेका थिए । यी विचलनलाई एउटा मालेमावादी, क्रान्तिकारी पार्टीको वैज्ञानिक विचार, वस्तुवादी राजनैतिक कार्यक्रम, कार्यदिशा, रणनीति, कार्यनीतिहरु, क्रान्तिकारी जुझारुपना, व्यापक लोकप्रियता, प्रगति, जनविश्वासबाट मर्माहित, आक्रोशित एवं विक्षिप्त बन्न पुगेका सारा दलाल पुँजीवादी, साम्राज्यवादी, संशोधनवादीहरुको घृणित हमलामा सहभागी बन्दै पलायन हुन पुगे । उनीहरुले यतिवेला विभिन्न सञ्चार माध्यमहरुमा एकीकृत जनक्रान्ति, नेपाल कम्युनिष्ट पार्टी र मुख्य नेतृत्व विरुद्ध जसरी सय प्रतिशत झुटा, भ्रामक एवं विषालु प्रचार चलाइरहेका छन् सारतः यी एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवादका विरुद्ध सञ्चालन भइरहेका अनेकौं षड्यन्त्रकै एउटा हिस्सा हुन् । परन्तु यी क्रान्तिकारीहरुका लागि पानीका फोका मात्र हुन तसर्थ विभिन्न कारणले सुदर्शन–कञ्चन समूहभित्र पुगेका सबै इमान्दार कमरेडहरुलाई फर्काउन पहल गर्ने निर्णय लिइएको छ ।
७) यही वैशाख ३० गते सम्पन्न संसदीय व्यवस्थाको स्थानीय चुनावमा पार्टीले एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने नीति प्रयोग ग¥यो । सो नीति अनुरुप कतै स्वतन्त्र प्रतिनिधिका रुपमा गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई र कहीँ नजिकका स्वतन्त्र उम्मेदवारहरुलाई पार्टीले सहयोग ग¥यो । समयको अभाव, मतदाता नामावली नहुनु, कसैसँग पनि केन्द्रीय स्तरबाट गठबन्धन नगरेर लड्नु, पैसाको संसद्वादीहरुले अत्यधिक पैसाको प्रयोग गर्नुका कारण उम्मेदवारहरुको विजय धेरै हुन सकेन तर हाम्रो लागि त्यो मुख्य थिएन । मुख्य पक्ष चुनावी कार्यनीतिलाई संघर्षको मोर्चामा प्रयोग गरेर जनतालाई राष्ट्रिय स्वाधीनता, एमसीसीको राष्ट्रघाती चरित्र, भ्रष्टाचार र महङ्गी विरुद्ध जनजागरण ल्याउने, एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवादका पक्षमा जनमत निर्माण गर्ने, पार्र्टी र जनताका बीच सम्बन्ध विस्तार गर्नु मुख्य उद्देश्य रहेकाले सो दृष्टिबाट पार्टी सफल भएको समीक्षा गरिएको छ । यद्यपि जनतासँग सम्बन्ध बनाउने, पार्टीलाई सुदृढ गर्नु पर्ने, संसद्वादीहरुका पैसा प्रधान गतिविधिलाई रोक्न जनचेतना निर्माण गर्नेमा पार्टी सचेत हुन पर्छ भन्ने गंभीर शिक्षाहरु पनि प्राप्त भएको महसुस गरियो ।
८) पार्टीका विचार, नीति, कार्यक्रमहरु संश्लेषण गर्ने जनवादको सर्वोच्च थलोे ऐतिहासिक नवौं महाधिवेशन आउँदो असोज १ देखि ८ गतेसम्म देशको राजधानी काठमाडौंमा भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय लिएको छ । राजनैतिक प्रतिवेदन समृद्ध गर्नका लागि ७ विषयका विभागहरु बनाइएका छन् । महाधिवेशन १ गते खुला मञ्चमा उद्घाटन भई २ गतेबाट बन्दसत्रमा प्रवेश गर्ने छ । महाधिवेशनलाई भव्यता दिनका लागि असारदेखि महाधिवेशन अभियान सञ्चालन हुनेछ । महाधिवेशन अगाडि भाद्र ५ सम्म वार्ड र पालिका सम्मेलन र भाद्र १५ भित्र जिल्ला सम्मेलन सम्पन्न गरिनेछन् ।
९) भूमण्डलीकृत साम्राज्यवादी हस्तक्षेप एवं दलालहरुमा देखापरेको राष्ट्रिय आत्मसमर्पणवादका कारण नेपालको स्वाधीनता निकै खतरामा परिरहेको छ । अर्कोतिर भ्रष्टाचार र महङ्गीले जनतालाई बाँच्नै कठिन बन्दै गएको छ । यस्तो बेला देशको स्वाधीनताको रक्षा र जनताको हितमा संघर्ष गर्नु पार्टीको मूल जिम्मेवारी भएकोले जेठको अन्तिम साताबाट छ दलीय गठबन्धनसहित एमसीसी, भ्रष्टाचार, महङ्गीविरुद्ध संयुक्त संघर्ष गर्ने योजना पारित गरिएको छ ।
१०) राज्यपक्षसँग ३ बुँदे सहमति भएको एक बर्ष तीन महिना बितिसक्दा पनि सरकार सहमतिलाई पालना र लागू गर्नेमा इमान्दार देखिएको छैन । आज पनि झुट्टा मुद्दामा तीन दर्जनभन्दा बढी (३७ जना) कमरेडहरु जेलमा बन्दी हुनुहुन्छ भने हामीमाथिका झुट्टा मुद्दाहरु खारेज गरिएका छैनन् । बरु हरेक दिन हाम्रा नेता कार्यकर्ताहरुको घरमा झुट्टा मुद्दाको पुर्जी टाँस्ने, गिरफ्तार गर्ने, चर्को धरौटी माग गर्ने र बन्दी बनाउने कार्य चलिरहेको छ । केही दिन अगाडि मात्र धनुषा जिल्ला सदस्य कमरेड विहारीलाललाई प्रतिबन्धको मुद्दामा गिरफ्तार गरेर पाँच लाख धरौटी मागेर जेल चलान गरिएको छ । तसर्थ हालसम्म वार्ताबाट समस्या समाधान गर्न जोड दिँदै आएकोमा अझै पनि बन्दी कमरेडहरुलाई मुक्त नगर्ने हो भने पार्टीले आफ्नो नीतिमा हेरफेर गर्दै बन्दी रिहाइ र झुट्टा मुद्दा खारेजीका लागि वार्ता र सडक संघर्ष दुवै संचालन गर्ने निर्णय लिइएको छ ।
११) पार्टीका आधिकारिक दृष्टिकोणहरु प्रस्तुत गर्न र आमजनतामा सापेक्षित स्पष्टता ल्याउन ऐतिहासिक महाधिवेशन अगावै पार्टीले आफ्ना मुखपत्र, मासिक एवं अन्य प्रकाशनहरु गर्ने । ती प्रकाशन मार्फत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीका आधिकारिक दृष्टिकोणहरु प्रस्तुत गर्ने साथै कमरेड वीरजङ्गको स्मृतिग्रन्थ पनि प्रकाशित गर्ने निर्णय लिइएको छ ।
१२) पार्टीको अर्थदृष्टिकोण अनुरुप आत्मनिर्भर अर्थउत्पादनका लागि देशैभरी उत्पादन कार्यमा सहभागी बन्ने साथै देशभरी चलिरहेका नमुना कार्यहरुलाई सम्पन्न गर्ने निर्णय लिइएको छ ।
वैठकको अन्त्यमा महासचिव कमरेडले वर्तमान विश्व परिस्थिति, राष्ट्रिय राजनीति एवं पार्टी जीवनलाई केन्द्रीय समितिले वस्तुवादी विश्लेषण गर्न र केन्द्रीकृत निष्कर्ष दिन सफल भएको धारणा राख्नु भयो । बैठकबाट पारित एवं संश्लेषित निर्णयहरुको रक्षा एवं कार्यान्वयनका लागि सबै नेताहरुले आफैँलाई पहिले रुपान्तरण गर्दै राष्ट्र परिवर्तनको युगिन जिम्मेवारी पुरा गर्न पूर्ण आत्मविश्वासका साथ सहभागी बन्न केन्द्रीय समितिलाई निर्देशन गर्दै बैठक समापन गर्नु भयो । बैैठक समापनपछि केन्द्रीय समितिका कमरेडहरुले उठेर एकसाथ गगनभेदी नाराहरु लगाएर विदा हुनु भयो ।”
– क्षेप्यास्त्र साप्ताहिकवाट