नेपालको राजनीति जंगबहादुर राणाको पालाको भन्दापनि भद्दा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको राजनीति जंगबहादुर राणाको पालाको भन्दा पनि भद्दा भएको बताउदै अहिले दलहरुबीच आलोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, देशको सम्पत्ति उडाउने र जनतालाई दुःख दिनेबाहेक अरु केही नभएको ठोकुवा गरेका छन । सोमबार नेपाल कम्युनिस्ट पार्टीको अनलाइन पत्रिका जनपत्रिका (www.janapatrika.com) को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले भने – ‘राणा शासनमा जसरी आफ्ना भारदारहरुलाई रोलक्रम बाँड्थ्यो आज नेपालका संसदवादी पार्टीहरू, विदेशी साम्राज्यवादीका एजेण्टहरु रोलक्रम लगाउँदैछन् । ‘६, ६ महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने र बेरुजु र अर्थतन्त्र तहसनहस पार्ने तर जनताप्रति उत्तरदायी काम नगर्ने जटिल परिस्थिति देखिन्छ ।’

महासचिव विप्लवले वर्तमान शासन व्यवस्थाबाट कोही पनि जनता सन्तुष्ट हुन नसकेको भन्दै वर्तमान शासन व्यवस्थालाई लुटेराहरूको व्यवस्थाको संज्ञा दिदै वासिङटन, लण्डन र वर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरूको व्यवस्था भएको भन्दै मुठिभर मान्छेले मोजमस्ती उडाउने व्यवस्था भएको ठोकुवा गरे । उनले भने -‘नेपालमा यो नै लोकतन्त्र हो भनेर जबर्जस्त बन्दुक र बुटको बलमा शासन गर्ने र दमन गर्ने क्रम चलिरहेको छ। देश टाट पल्टिरहेको छ, महँगी आकासिएको छ । नागरिकहरुको जीवन सहज ढंगले चल्न सकेको छैन । ‘ उनले विदेशी अतिक्रमणकारीहरुले देशमाथि हस्तक्षेप गरिरहेको भन्दै देशका प्राकृतिक श्रोत, जल, जडिबुटी र जमिनमाथि आँखा गाडिरहेको बताए ।

उक्त जनपत्रिकाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने – “मानव जातिले सञ्चारको प्रयोग धेरै समयदेखि गर्दै आएको छ । हाम्रा पुर्खाहरुले विभिन्न तरिकाले यसको प्रयोग गर्दै आएको छ । वर्गहरुको उदय भएदेखि यसले पक्षधरता लिएको छ । २१ औं शताब्दीमा सञ्चारलाई पुँजीवादले कब्जा गर्न खोजेको छ । अहिले सबैभन्दा बढी भएको क्रान्ति सुचना क्रान्ति हो । यसको नकरात्मक पक्ष भनेको के हो भने सूचना सञ्चार विस्तारै जनताको हातबाट खोसिने र मालिकहरुले दमन गर्ने हतियारको रुपमा प्रयोग गरिदै आएको छ । साम्राज्यवादीहरुले सूचना सञ्चारको आफ्नो अनुकूल प्रयोग पनि गरिरहेको छ । हाम्रो पुर्खाले मानव जातिका लागी प्रयोग गर्दै आएको सुचना सञ्चार पुँजीवादले दुरुपयोग गर्दै आएको छ । साम्राज्यवादले आफ्नो जनताको सूचना र सञ्चारमाथि कब्जा गर्ने र न्यायप्रेमी जनतामाथि दमन गर्न प्रयोग गर्दै आएको छ तर हामीले जनताको पक्षमा प्रयोग गर्नुपर्छ भनेर लडिरहेका छौं । पुँजीवादले जनता र देशमाथि दमन गरिरहेको बेला यसको विरुद्ध लडिरहेका छन् । देशमा दुर्घन्धित हावाहरु च्लिरहेको छ । देशको सार्वभौमसत्ता र राष्टिय स्वाधीतनता खतरामा छ । नेपालको राजनीतिक प्रणाली अस्थीर बन्दै गइरहेको छ । मन्त्री बन्ने दौडधुप चलिरहेको छ र देशको सम्पत्ति लुट्ने काम भइरहेको छ । साम्राज्यवादका एजेण्टहरुको रुपमा संसदीय दलहरु लागिरहेका छन् ।
जनताप्रति कुनै उत्तरदायी नहुने समस्या गम्भीर छ । यो व्यवस्था दिल्लीबाट सञ्चालित व्यवस्था हो । बन्दुकको बलमा संसदीय व्यवस्था चलिरहेको छ । देशका युवाहरु यसबाट सन्तुष्ट छैनन् । तर संसदीय दलहरु बन्दुकको बलमा शासन गरिरहेका छन् । महंगी दिनप्रतिदिन बढिरहेको छ । चामलको मूल्य आकासिएको छ । नागरिकका जीवन क्षतिविक्षत बनिरहेको छ । आर्थिक क्षेत्र तहसनहस भइरहेको छ । यस्तो संकटको बेलामा देशको रक्षा गर्ने सञ्चार माध्यम चाहिएको छ । जनताको पक्षमा खरो लड्ने सञ्चार माध्यम चाहिएको छ । जनताको पक्षमा लड्ने सञ्चार क्षेत्र चाहिएको छ । जनताको आकांक्षालाई सम्बोधन गर्ने र विदेशी अतिक्रमण गर्ने दलालहरु विरुद्ध सञ्चार माध्यम चाहिएको छ । कयौं सञ्चारमाध्यमहरु पैसाका लागी एमसीसीको विज्ञापन बजाइरहेका छन् । एमसीसी साम्राज्यवादी नीति हो । एमसीसीपछि एसपीपी आएको छ । सञ्चार माध्यम यसको पक्षमा हुनु दुखद् कुरा हो । कैयौं सञ्चार माध्यमहरुले यसको चाकडी गरिरहेका छन् । जनपत्रिका अनलाइन कुनै विदेशी एजेण्टहरुको जुठो खाएर होइन, देशको पक्षमा अग्रभागमा रहेर लड्ने छ । कुनै पनि मोर्चामा सबैभन्दा अगाडी बसेर लडाइ लड्नेछ । जनताको आवाज बुलन्द गर्नेछ । जनताको पक्षमा खरो ढंगले लड्नेछ । राज्य आतंकका विरुद्ध कुनैपनि मूल्यमा लड्नुपर्दछ । दलाल पुँजीवादको विरुद्ध सञ्चार क्षेत्रले लड्नेछ । दलाल पुँजीवादका विरुद्ध लडिरहेको बेला राज्यले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगायो । कैयौं सञ्चार माध्यमहरुले यसका विरुद्ध लड्नुभएको छ । हामीले तपाइहरुलाई धन्यवाद दिएका थियौं । अहिले पनि फेरि प्रतिबन्ध लगाउने प्रयत्न गरिरहेको छ ।

अहिले कयौं नेता कमरेडहरु जेलमा हुनुहुन्छ । कयौं घाइते हुनुहुन्छ । प्रतिबन्ध विरुद्ध हामीले प्रतिरोध संघर्ष गरेका हौं । त्यसका नेता हामी हौं । उनीहरुको पक्षमा हामी लडिरहेको कसैलाई मन परेको छैन । यसका विरुद्ध लड्ने सञ्चार माध्यम हामीलाई चाहिएको छ । नेपाली जनताको हितमा जुनसुकै हालतमा जनताको अधिकारको पक्षमा जनसञ्चार उत्रिनुपर्छ । जनताको जीवनको पक्षमा हरसमय लड्ने काम यो अनलाइनले गर्नेछ । यहाँका लुट खसोट गर्ने दलालहरुका विरुद्ध यो सञ्चारमाध्यमले लड्ने छ । दलाल प्रवृत्तिलाई सहयोग गर्ने सञ्चार माध्यमहरु पनि देखिएका छन् । विभिन्न अवसरवादी खाले प्रवृत्तिहरु रहेका छ्न् । उनीहरुलाई देशको कुनै चासो छैन । कम्युनिस्ट आन्दोलनमा देखिएको गलत प्रवृत्तिहरु विरुद्ध लड्न जरुरी छ । साम्राज्यवादीहरुको कोकोहोला, फिरेन्ते, घुमन्ते र मगन्तेहरु विरुद्ध लड्नुपर्छ । क्रान्तिकारीहरुको आस्थामाथि प्रहार गर्ने घुमन्ते फिरन्तेहरु विरुद्ध लड्नुपर्छ । देशका जाली फटाहा र दलाल पुँजीवादका विरुद्ध लड्नुपर्छ र यो संघर्षको मोर्चामा अनलाइनले भूमिका खेल्नुपर्छ । जुन दिनसम्म यहाँको दलाल पुँजीवाद ढल्दैन र वैज्ञानिक समाजवाद स्थापना हुँदैन तबसम्म युवाहरु यही बसेर लड्नुपर्छ । युवाहरु निराश हुनुहुँदैन । गाउँ र सहरबाट उठेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ । प्राकृतिक स्रोत साधनहरुले भरिएको देश दलालहरुले बेचेर खाएका छन् । पुर्खाहरुले नालापानी र टिष्टामा लडेर देश बचाएजस्तै नेपालमा अब अन्तिम लडाई लड्न्पर्छ । यो नेपाली जनताको आकांक्षा रहेको छ र यो सम्भव छ । यसका लागी सञ्चार माध्यमले साथ दिनुपर्छ । यसले नेपाली जनताको सेवा गर्नुपर्छ । देश र जनतालाई दुःख पर्दा नेकपा अग्रभागमा उभिन्छ । देशभक्तहरु यसका लागी एक हुनुपर्छ । नेपाली सेना र प्रहरीले पनि दलाल पुँजीवादका विरुद्ध लड्न साथ दिनुपर्छ । देश जोगाउन संसारभरीका युवाहरु देशमा फर्किनुपर्छ त्यसपछि जनताको जीत सुनिश्चित रहेको छ । “
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको अध्यक्षयतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपाका सचिवालय सदस्य विषमले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन केन्द्रिय सदस्य प्रज्वलनले गरेका थिए ।