‘एकीकृत जनक्रान्ति सफल भइछाड्छ’

२०७९ कार्तिक १२ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्तिले नयाँ उचाइ हासिल गरिसकेको ठोकुवा गर्दै एकीकृत जनक्रान्ति सफल भइछाड्ने बताएका छन । क्षेप्यास्त्र साप्ताहिकसँगको बिशेष कुराकानीमा महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले भने– ‘यो सत्ता र सरकारबाट ९५ प्रतिशतभन्दा बढी जनता असन्तुष्ट र आजित छन् । उनीहरुले यो सत्ता र व्यवस्था लामो समय टिक्न दिने छ्रैनन् । अर्को कुरा हामीसँग देश र जनताको नेतृत्व गर्ने क्षमता भएको श्रमिकवर्गीय कम्युनिष्ट पार्टी, यसको वैज्ञानिक कार्यदिशा, संघर्षशील लडाकु शक्ति र सक्षम नेतृत्व पंक्ति छ । यी सबै आधारबाट हेर्दा जनताले छिट्टै आफ्नो भविष्य आफैँले निर्माण गर्ने वैज्ञानिक समाजवादको मार्ग पक्रने छन्, एकीकृत जनक्रान्ति सफल भई छोड्ने छ ।’

यसैगरी, महासचिव विप्लवले एक वर्ष नौ महिना अगाडि राज्य र नेकपाबीच भएको ३ बुँदे सहमतिलाई सरकारले इमान्दारीपूर्वक नगरेको बताउँदै बरु ३ बुँदेलाई नेकपामाथि दबाब हाल्ने, घेराबन्दी गर्ने, षड्यन्त्र गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजेको ठोकुवा गरे । उनले यसको ताजा प्रमाण नेकपाका नेता–कार्यकर्तालाई जेलमुक्त नगर्नु, नेता कार्यकर्ताका मुद्दाहरु खारेज नगर्नु उल्टो ३ बुँदेमा हस्ताक्षर गर्ने नेतृत्वसहित पार्टीका जिम्मेवार नेताहरुलाई पक्राउ पुर्जी जारी गर्नु भएको ठोकुवा गरे । महासचिव विप्लवले सरकारले विदेशी दबाबमा परेर ३ बुँदेको अपहेलना गरेपछि आफ्नो पार्टीले त्यसका विरुद्ध भण्डाफोर गर्ने र संघर्ष गर्ने नीति लिएको र सरकार केही पछि हटे पनि नाटक मात्र गरिरहेको देखिएको ठोकुवा गर्दै पार्टीको हालै सम्पन्न नवौँ महाधिवेशनले राज्यले इमान्दारीपूर्वक ३ बुँदे लागू नगरे संघर्ष संचालन गर्ने नीति लिएको बताए ।

यसैगरी, महासचिव विप्लवले नेपाली श्रमिक तथा देशभक्त जनताले अमेरिकी साम्राज्यवादको नवऔपनिवेशिक परियोजना एमसीसीलाई सडकबाट अस्वीकार गरिसकेको भन्दै एसपीपी त झन् जनताले सुन्नै नचाहेको बताए । उनले भने– ‘हाम्रो पार्टीले एक वर्ष अगाडि नै घोषणा गरिसकेको छ कि एमसीसी र एसपीपी नेपालमा लागू गर्नु हुँदैन र गर्न दिनु हुँदैन । जनताको आज्ञाले हाम्रो पार्टी तिनको खारेजीका लागि नेतृत्व गर्न तयार भएको छ । अर्को कुरा भारतीय साम्राज्यवादको दबाबमा नेपालका दलाल नेताहरुले नागरिकता जस्तो संवेदनशील एवं स्वनिर्णय गर्नु पर्ने विषयलाई चुनाव र पदको मोलतोलको विषय बनाएका छन् । हाम्रो पार्टीको स्पष्ट धारणा छ कि हरेक नेपाली नागरिकले निर्विवादरुपले नागरिकता पाउनु पर्छ । यदि समस्या छ भने नेपालका शासकहरुको नालायकी र लाचारीका कारणले छ । यदि समस्या नै छ भने मधेशी जनता सहभागी उच्चस्तरीय नागरिक आयोग बनाएर समाधान गर्नु पर्छ । कुनै पनि स्थितिमा बाह्य शक्तिको हतियार बन्न दिनु हुँदैन ।’

यसैगरी, महासचिव विप्लवले यसबेला जनमत संग्रहको कार्यनीति पछि धकेलिएको भन्दै पार्टीले त्यसको ठाउँ वैज्ञानिक समाजवादी स्थानीय सत्ताको निर्माण, राष्ट्रिय स्वाधीनता र चुनाव खारेजीको कार्यनीतिले लिएको बताए । उनले भने– ‘नेकपाको आठौं केन्द्रीय समितिको नवौँ पूर्ण बैठकपश्चात भएको पहिलो विशेष बैठकबाट सरकारसँग वार्तामा जादा प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको कार्यनीति लिएर जाने निर्णय गरेका थियौँ । किनकि आमनागरिकले बुझ्ने गरी दलाल पुँजीवादी सत्ता र सरकार असफल भएका थिए । जनताले अग्रगामी निकास खोजिरहेको थिए तर तुरुन्तै सशस्त्र विद्रोह हुने अवस्था थिएन । त्यस्तो परिस्थितिमा पार्टीले बडो सुझ–बुझका साथ प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवादको कार्यनीति प्रस्ताव गरेको थियो । पार्टीले एकमतले उक्त प्रस्ताव पास गरेपछि देशभरी प्रचारप्रसार भयो र जनतामा एउटा प्रभाव पनि दियो । सरकारसँगको वार्तामा हामीले राख्यौं पनि तर त्यसबेलाको केपी वली सरकार र राज्य यो प्रस्तावमा सहमत भएन । पछि शेरबहादुरको सरकार पनि सहमत भएन । तथापि पार्टीले अगाडि बढायो । यतिबेला परिस्थिति बद्लिएको छ । अमेरिकी साम्राज्यवादी हस्तक्षेप खतराको घेरा नाघेर आएको छ । संसदीय चुनाव हुँदैछन् । यसबेला जनमत संग्रहको कार्यनीति पछि धकेलिएको छ, त्यसको ठाउँ वैज्ञानिक समाजवादी स्थानीय सत्ताको निर्माण, राष्ट्रिय स्वाधीनता र चुनाव खारेजीको कार्यनीतिले लिएको छ ।’

यसैगरी, महासचिव विप्लवले नेकपाले निरन्तर क्रान्तिकारी कम्युनिष्ट र देशभक्त शक्तिहरुका बीचमा रणनैतिक मोर्चा निर्माण गरेर दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नेमा जोड दिँदै आएको उल्लेख गर्दै भने– ‘यसको अरु कुनै रहस्य नभएर विभिन्न कारणले अलग कम्युनिष्ट पार्टीमा काम गरिरहेका तर नेपालमा दलाल पुँजीवादीवर्ग सत्ताका विरुद्ध क्रान्ति गर्नु पर्छ भनेर लडिरहेका मित्र पार्टीहरु छन् । त्यसैगरी देशलाई भूमाण्डलीकृत पुँजीवाद–साम्राज्यवादी उत्पीडन, हस्तक्षेपबाट मुक्त गरेर स्वाधीन देश निर्माण गर्नु पर्छ भन्ने देशभक्त शक्ति पनि छन् । ती विशेषतः नेपाली सेना, प्रहरी, कर्मचारी, उद्योगपति, राजनीतिक पार्टीहरुमा छन् । तिनलाई एकताबद्ध गर्न हामी हिचकिचाउनु हुँदैन भन्ने हाम्रो दृष्टिकोण छ । सोही दृष्टिकोणका आधारमा प्रतिबन्धभित्र चार पार्टीका बीचमा रणनैतिक संयुक्त मोर्चा बनाउने सहमति भएको थियो तर क्रान्तिकारी माओवादीको नेतृत्वमा देखापरेको संकीर्णवादी सोचका कारण सफल हुन सकेन । यद्यपि अहिले पनि क्रा.मा. बाहेकका चार कम्युनिष्ट पार्टीका बीचमा रणनैतिक संयुक्त मोर्चा बनाएर जानु पर्छ भन्ने सैद्धान्तिक सहमति भएछ । जो खुसीको कुरा हो । हाम्रो महाधिवेशनले रणनैतिक मोर्चा निर्माण गर्नेमा जोड दिएको छ । पार्टी अबका दिनमा यही दिशामा अगाडि बढ्ने छ ।’

यसैगरी, महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता र संसद्वादी दलहरु मुख्यतः माके र कांग्रेसले नेकपा चुनावमा जान्छ कि भनेर षड्यन्त्र गरेको बताउँदै उनीहरुले काठमाडौँमा उद्घाटन हुने नवौँ महाधिवेशन, चुनावमा मोर्चा दर्ता गरेर जनतामा जाने समय र जनताका पक्षमा संघर्ष उठाउने परिस्थितिलाई नापेर नेकपाका नेता–कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको ठोकुवा गरे । उनले भने– ‘हामीले चुनावलाई के गथ्र्यौं फरक विषय हो तर उनीहरुले षड्यन्त्र गरेको पक्का हो । जब उनीहरु या आत्मसमर्पण या प्रतिरोधका लागि क्रान्तिकारीहरुलाई उकास्छन् हामी आत्मसमर्पणको बाटो होइन विद्रोहको बाटो पक्रन तयार हुन्छौं । अहिले हामी त्यही मार्गमा छौं । हामी संसदीय सत्ताका विरुद्ध मात्र होइन उसको षड्यन्त्रका विरुद्ध पनि संझौताहीन संघर्ष गर्न तयार छौं ।’

यसैगरी, महासचिव विप्लवले देश ठूलो संकटमा परेको उल्लेख गर्दै यसको अग्रगामी एवं जनपक्षिय निकास भएको बताए । उनले भने– ‘समस्याहरुले सधैँ समाधानहरु पनि सँगै लिएर आएका हुन्छन् । यति हो अग्रगामी शक्तिले उचित पहल लिन नसकेमा जनताले अनेकौं क्षतिहरु भोग्नु पर्छ । तर, एक दिन त निकास भइहाल्छ ।

हामीले बुझ्नु पर्छ कि हाम्रो सुन्दर देशमा संकट आउनुको कारण बाह्यरुपले भूमाण्डलीकृत अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादी अतिक्रमण र हस्तक्षेप हो । उनीहरुको नवऔपनिवेशिक नीति हो भने आन्तरिकरुपले दलाल पुँजीवादी सत्ता र यसको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र हो । साम्राज्यवादीहरुले आफ्नो स्वार्थका लागि लुट मच्चाउँछन् भने दलालहरुले आफ्नो थैली भर्नका लागि देशलाई नै बेचिदिन्छन् । यिनको समाधान भनेको नेपाललाई दलाल पुँजीपतिवर्ग र उसको सत्तालाई परास्त गरेर देशलाई स्वाधीन बनाउनु र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हो ।’

प्रतिक्रियाहरु

[anycomment]