‘भ्रष्टाचारी, दलाल र अपराधीहरुलाई चोख्याउने निर्वाचन खारेज गर्नुपर्छ’

२०७९ कार्तिक २८ गते, सोमबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड ले भ्रष्टाचारी, व्यभिचारी, दलाल र अपराधीहरुलाई चोख्याउने न संघ र प्रदेश सभाको निर्वाचन खारेज गर्निको बिकल्प नभएको बताएका छन । सोमबार नेकपासहित ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा बुटवलमा आयोजित भण्डाफोर कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन्। प्रवक्ता प्रकाण्डले मंसीर ४ को निर्वाचनले दलाल पूँजीपतिहरुको सेवा र संरक्षण गर्ने र जनताको समस्या जस्ताको तस्तै हुने भएकोले उक्त नकाम निर्वाचनलाई खारेज र बहिष्कार गरेर जानुको विकल्प नभएको बताउदै भने – ‘देशको अस्तित्व र जनताको अधिकारलाई दबाउने संसदीय व्यवस्थाको निर्वाचन हामीहरुले बहिष्कार गरेरै छाड्छौं । यो निर्वाचनले भ्रष्टाचारी, व्यभिचारी, दलाल र अपराधीहरुलाई चोख्याउन निर्वाचन आयोगले एउटा लाइसेन्स दिएर आयोजना गरिएको हुनाले यसलाई सबै नेपाली जनताले खारेज गर्नुपर्छ ।’
आसन्न निर्वाचन श्रमजीवी नेपाली जनताको लागि कागलाई बेल पाकेको संज्ञा दिँदै नेता प्रकाण्डले भने –‘यो निर्वाचन नेपाल र नेपालीहरुको लागि दुःख निम्त्याउने निर्वाचन हो, श्रमजीवी वर्गको दुर्दशा ल्याउने निर्वाचन हो, त्यसैले पार्टीका हरेक तहका नेता कार्यकर्ताहरु गाउँगाउँ पुगेर, शहरको गल्लीगल्लीमा पुगेर जनतालाई सचेत गराउनु पर्दछ ।’


निर्वाचन बहिष्कार अभियानलाई सुरक्षाकर्मीहरुले पनि सहयोग गर्न आग्रह गर्दै प्रवक्ता प्रकाण्डले थप भने –‘सुरक्षाकर्मी साथीहरु, तपाईंहरुलाई साच्चिकै देशको माया छ भने र जनताप्रति उत्तरदायी हुनुहुन्छ भने आसन्न मंसीरको निर्वाचन खारेज अभियानलाई सहयोग गर्नुहोस् । त्यसको नेतृत्व राजनीतिक हिसाबले हामी गर्छाैं । तपाईं हामी मिलेर यो देशलाई बर्वाद बनाउने दलालहरुलाई लखेटौं र समेटौं ।’ उनले आफ्ना नेता तथा कार्यकर्तालाई धरपकड गरेको खराब कार्यशैलीप्रति संकेत गर्दै आगामी दिनमा त्यसो गरे सबैका लागि महंगो हुने चेतावनीसमेत दिए ।
उनले भने -‘हामीहरु कुनै जालझेल र खेल खेलिरहेका छैनौं, हामीहरु क्रान्ति गरिरहेका छौं, जनताको मुक्तिको लडाइँ लडिरहेका छौं । हामीलाई आफ्नो भन्दा देशको माया छ, आफ्नो जीवनभन्दा जनताको जीवन प्यारो छ । त्यसैले हाम्रो यो शान्तिपूर्ण चुनावी खारेज अभियानलाई जसले बल प्रयोग गर्छ, त्यसको कडा प्रतिबाद गर्छाैं ।’


प्रवक्ता प्रकाण्डले भने –‘त्यसलाई क्रान्तिकारी पार्टी र क्रान्तिकारी जनताले त्यसै छोड्नेवाला छैन । खरानी बनाएर छाड्छौं ।’ संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै नेता प्रकाण्डले संविधान त्यातेर मात्र आफूहरुलाई धरपकड र गिरफ्तार गर्न आउनसमेत चुनौती दिनुभयो । ‘संसदवादी दलहरुले राष्ट्रको मामलामा सौदाबाजी गरे देशमा राष्ट्रिय मुक्ति सेना निर्माण गरेर राष्ट्रिय मुक्ति आन्दोलन हुनेछ । राष्ट्रिय युद्ध हुनेछ । त्यसले तिमीहरुलाई धुलोपीठो बनाउनेछ ।’
यो देशमा मजदुर, किसान, युवा, महिला, श्रमिक समुदाय, जनजाति लगायतको दैनिकी निकै कष्ठकर एवं दर्दनाक बन्नुमा संसदीय व्यवस्था र त्यसको ठेकेदारहरु भएको भन्दै प्रवक्ता प्रकाण्डले यो व्यवस्थालाई निमिट्यान्न पार्न नेकपाले शुरु गरेको एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुन र वैज्ञानिक सामाजवादी व्यवस्था स्थापनामा योगदान गर्न आग्रह गरे ।


वैज्ञानिक समाजवादीमा पनि चुनाव हुने भन्दै प्रवक्ता प्रकाण्डले उक्त चुनाव श्रमजीवी वर्गको हितमा, देशको स्वाधीनतालाई केन्द्रविन्दुमा राख्ने खालको हुने बताए । उनले यसका अतिरिक्त वैज्ञानिक समाजवादी व्यवस्थामा देशको अर्थतन्त्र आत्मनिर्भर हुने खालको चुनाव हुने र जुन अर्थतन्त्रको सम्पूर्ण स्वामित्व नेपाली श्रमजीवी वर्गहरुको हुनेमा विश्वस्त पार्दै आमजनताको अधिकारलाई स्थापित गराइदिने, उनीहरुको सुरक्षाको प्रत्याभूतिसहित राज्यसत्ताको मालिक बनाइनुका साथै समान व्यवहार गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारको समेत ग्यारेण्टी वैज्ञानिक समाजवादी व्यवस्थाले गराउने प्रष्ट्याए ।

प्रतिक्रियाहरु

[anycomment]