आर्थिकमन्दीको मुख्य कारण राजनीतिक अस्थिरता

२०८० बैशाख ७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आर्थिकमन्दीको मुख्य कारण राजनीतिक अस्थिरता भएको ठोकुवा गरेका छन। जनप्रचार तथा प्रकाशन प्रा लिद्वारा बुधबार आयोजित ‘राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषयक’ अन्तरक्रिया तथा जनापत्रिका मासिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लवले अहिले देशमा देखिएको आर्थिक सङ्कट र त्यसले पैदा गरेको अस्तव्यस्ततातर्फ संकेत गर्दै भने – ‘देशको आर्थिक संकटको मुख्य कारण राजनीतिक अस्थिरता र दलाल पुजीवादी उत्पादन प्रणाली हो । यसको सम्बन्ध राजनीति प्रणालीसङ्ग छ । यसरी नै संकट बढ्दै गएमा विदेशी हस्तक्षेप बढ्ने र उनीहरुले आर्थिक संकटको फाइदा लिएर देश नै उडाईदिने खतरा रहेको छ ।’
महासचिव बिप्लवले नेपालको परनिर्भर उत्पादन प्रणाली, प्रशासनिक पलायन, विभिन्न बाहानामा पुँजी पलायन, बेरोजगारी र राजनीतिक अस्थिरताले नेपाल आर्थिक संकटतिर जान लागेको बताए। उनले भने- ‘लघुवित्त, बैंक र मिटर ब्याजीहरुले जनताबाट विभिन्न बाहानामा अकुत लुटेका छन्। देशको पुँजीलाई विभिन्न गैरकानुनी तवरले पलायन गराएका छन्। कृतिम बेरोजगारी सिर्जना गरेर देशका दक्ष जनसक्तिहरुलाई विदेश पलायन हुनुपर्ने बाद्यता बनाएको छ। हो आजको संकट यहि हो ।’


महासचिव बिप्लवले आर्थिक संकट समाधानको एउटामात्र विकल्प आफूसँग भएको भन्दै अवसर पाए गरेर देखाउने बताउदै आर्थिक संकटको समाधान वैज्ञानिक समाजवाद भएको ठोकुवा गरे । उनले भने- ‘जनयुद्ध अघि बढ्दै गर्दा जनयुद्धलाई बिचैमा छोडियो, जनयुद्धको न्युनतम लक्ष्य नौलो जनवादमा नपुग्दै पछि हटियो । त्यसैको उपज आज नेपालमा न राजनीतिक स्थिरता भयो, न आर्थिक सम्बृद्धी नै । यसले झनै देशमा दुर्दशा निम्त्यायो। यसको समाधान हामीसँग छ । वैज्ञानिक समाजवादमा छ ।’
महासचिव विप्लव सीले जनयुद्धकालिन मुद्दाहरु ब्युताएर अपराधीकरण गर्न खोज्नु सिसाको घरमा बसेर ढुङ्गा हान्नु सरह भएको उल्लेख गर्दै उनले भने -‘इतिहासमा सबै पार्टी र नेताहरूले बन्दुक उठाएका छन् । जनयुद्धमा पनि सबै पार्टी र नेताहरू कुनै न कुनै रुपमा युद्दमा संलग्न छ्न्, माओवादीलाई मात्रै अपराधीकरण गर्न खोजे त्यो गम्भिर भुल हुनेछ । २००७ र २८ सालमा हतियार उठाउदा लोकतन्त्रवादी हुने तर २०५२ मा उठाएको बन्दुक अपराध हुन्छ? ‘
महासचिव बिप्लवले शान्ति प्रक्रियाका कामहरु टुंगोमा पुर्याउन नसकेको भन्दै समयमै सचेत नहुँदा जनयुद्धले ल्याएका उपलब्धीहरु उल्टिने खतरा रहेको बताउँदै उनले पत्रकारले यसको रक्षा गर्ने समय आएको बताए । उनले भने – ‘जनयुद्धमा पत्रकारहरुको भूमिका महत्वपूर्ण थियो । २०६२/६३ को जनयुद्धमा त उहाँहरु सडकमै आउनु भयो । पत्रकारहरुले यसको रक्षाका लागि पनि संघर्ष गर्ने बेला आएको छ । कानुन देखाएर प्रेस स्वतन्त्रता खोस्ने प्रयत्न भइरहेको छ । यसलाई रोक्न पर्छ । यो रोक्न हाम्रो पार्टीले के सहयोग गर्न पर्यो ? हामी सम्पूर्ण सहयोग गर्न तयार छौँ ।’
महासचिव विप्लव सीले अगाडी भने – ‘ आज वैज्ञानिक समाजवादको विषयमा सिङ्गै नेपाली समाजमा बहस छ, कुनै बेला हामीले समाजवाद भन्दा हामीमाथि प्रतिबन्ध समेत लागेको थियो, काङ्ग्रेसले पनि आफुलाई समाजवादी भन्छ । त्यो बेला एनसेलको विषयलाई जोडेर प्रतिबन्ध लागेको जस्तो देखिए पनि त्यसको पछाडि हामी, हाम्रो विचार र समाजवादको विषयलाई हेर्ने र बुझ्ने अरु पार्टी र नेताहरूको दृष्टीकोणको समेत सवाल हो ।’
महासचिव बिप्लवले माओवाद मान्नेहरु एकजुट भएर दलाल पुँजीवादका विरुद्धमा संघर्ष गर्नुपर्ने बताउदै भने – ‘हामी माओवाद मान्नेहरु एक जुट हुन जरुरी भइसकेको छ । हामीले २०६४ सालमा संसदीय व्यवस्थाबाट जाँदा जतिबेला पनि दुर्घटना हुनसक्छ भनेका थियौं ।’, उनले भने, ‘अहिले देश दुर्घटना नजिक पुगेको छ । आर्थिक संकटको मुख्य कारण यही हो । माओवादीहरु, अरु कम्युनिस्ट शक्तिहरु, राष्ट्रवादी शक्ति एक भएर संकटका विरुद्ध संघर्ष गर्न पर्ने बेला भइसक्यो । ढिला गर्यौं भने अर्को समस्या आउँछ ।’
यसैगरी, महासचिव विप्लव सीले सञ्चार नागरिकको आधारभुत आबश्यकता भएको उल्लेख गर्दै नेपालमा राजतन्त्र विरुद्ध गणतन्त्रको आन्दोलन चलिरहेको बेला नेपाल पत्रकार महासंघले राजनीतिक दलहरू भन्दा अगाडि रहेर गणतन्त्रको निर्णय संस्थागत ढङ्गले गर्नु साहसिक निर्णय भएको बताए । उनले सूचना सञ्चार र पत्रकारिताको सुरुवात नै प्रारम्भमा जनताको सेवाका लागि भएको तर समाज वर्गमा बिभाजित भएपछि नै पत्रकारिता पनि बिभाजित हुन पुगेको हो उल्लेख गर्दै आज आएर सञ्चार नागरिकको आधारभुत आबश्यकतामा परिणत भएको बताए।
महासचिव विप्लव सी ले पञ्चायतकाल देखि नै नेपालको पत्रकारिता वा सञ्चार माध्यमहरु कुनै न कुनै रूपमा लडिरहेको उल्लेख गर्दै जनयुद्धको समयमा पनि नेपालको पत्रकारिताले बिना पुर्वाग्रह सत्यतथ्य बाहिर ल्याउने काम गरेको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजनीतिक अस्थिरताको अन्त्य गर्ने जिम्मेवारी विप्लवको काँधमा आएको बताए । उनले भने ‘विप्लव एक आर्दश पात्र हुुनुहुन्छ । आदर्श पात्रले एक्लै गरेर सम्भव छैन ।’
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका आचार्यले भने, ‘राजनीतिक अस्थिरताको अन्त्य गर्ने जिम्मेवारी विप्लवको काँधमा छ । यसका लागि एकतावद्ध हुनपर्यो । पहल कदमी लिन पर्यो । एकतावद्ध भएर पहलकदमी लिए जे पनि सम्भव हुन्छ ।’
उनले केही शक्तिहरुले प्रतिगमनका लागि संघर्ष गरिरहेको भन्दै परिवर्तनकारी शक्तिहरु कमजोर हुन नहुने बताए । ‘पत्रकार महासंघले पहिलो पटक निर्णय गरेर गणतन्त्रको पक्षमा जनआन्दोलनलाई समर्थन गर्योे । तर हामीले लडेर ल्याएको गणतन्त्रमा हामी नै खुशी छैनौं ।’, उनले भने, ‘राजतन्त्र फालेर गणतन्त्र ल्याउँदा पनि जनताको समस्या समाधान भएन भने प्रतिगमन हुने खतरा छ । राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र राजनीतिक अस्थिरता अन्त्यका लागि एकतावद्ध हुन जरुरी छ ।’
उनले नेपालमा फेरी राजा फर्किएर जनताका समस्याहरुको समाधान नहुने भन्दै वैज्ञानिक समाजवाद निमार्णमा लाग्नुपर्ने जिकिर गरे । ‘नेपालमा राजा फर्किने सम्भावना छैन ।’, उनले भने, ‘वैज्ञानिक समाजवाद निर्माण नगरिकन जनताका समस्याहरुको समाधान छैन । वैज्ञानिक समाजवादमा राजनीतिक अस्थिरता हुँदैन । राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक संकट आयो ।’
उनले पत्रकारितामा तीन धार रहेको भन्दै पहिलो धारका विरुद्ध संघर्ष गर्नुपर्ने बताए । ‘नेपालमा पत्रकारिताका तीन धार छन । पहिलो हो कर्पोरेड धार, दोश्रो सानो लगानीमा संचालित मिडिया, तेश्रो जपक्षिय मिडिया ।’, ,उनले भने, ‘पहिलोले कालोधनलाई सेतो बनाएको छ, पत्रकारिताको बदनाम गरेको छ, समाचार लेखेर अथवा नलेखेर बार्गेनिङ गरिरहेको छ । हामीले यसका विरुद्ध संघर्ष गर्नुपर्छ ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सत्तामा पुगेपछि नेतृत्वले पत्रकारिता जगतले खेलेको भूमिका विर्सिने गरेको बताए । उनले पत्रकार महासंघ र पत्रकारहरुले गणतन्त्र ल्याउन भूमिका खेलेको भन्दै सत्तामा पुगेपछि पत्रकारहरुको योगदान विर्सिएको बताए । ‘हामीले गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेल्यौं । तर नेतृत्वले यसलाई विर्सियो ।’, जनपत्रिकाको उत्तर उत्तर प्रगतिको कामना गर्दै उनले भने, ‘खोलो तर्यो लौलो विर्सियो जस्तै भएको छ । नेता बनाउने प्रेसबाट नेतृत्व भागिरहेको छ । यो राम्रो भएन ।’
उनले सरकारमा रहेको नेतृत्वले प्रेस स्वतन्त्रताको नारा दिदैं पत्रकारिताको घाँटी निमाठ्ने काम गरिरहेको प्रति आलोचना गरेका थिए । ‘भन्दाखेरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भनेको देखिन्छ । तर कानुन बनाएर प्रेसको घाँटी निमोठ्ने काम गरिन्छ ।’, उनले भने, ‘हामीले यसलाई रोक्नुपर्छ । महासचिव विप्लवले पत्रकारको भूमिका नर्विसनु होला ।’
उनले मिसन पत्रकारिता राजनीतिक परिवर्तनका लागि गरिने भएकाले यसको छुट्टै महत्व भएको बताए । उनले पत्रकारितासँग सम्बन्धित धेरै कानुनहरुमा त्रुटी रहेको भन्दै यसलाई सच्याउन आफूले सम्बन्धीत निकायलाई लेखेर पठाएको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दैनेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरीले नेपालको पत्रकारिता जनपत्रकारिता भन्दापनि धनपत्रकारितामा परिणत भएको बताए । उनले सञ्चार माध्यमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा राजनितिक, आर्थिक र सामाजिक लगायत सबै क्षेत्रबाट माथि उठेर जनपक्षियरूपमा कलम चलाउनुपर्ने बताए। अहिलेको नेपालकाे मिडिया भौतिकरुपमा निकै बलियो र अन्तराष्ट्रिय मिडियासंग प्रतिस्पर्धा गर्नसक्ने उनको भनाई थियो।


सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले महासंघ जनपक्षिय पत्रकारहरुको पक्षमा रहेको बताए । उनले आर्थिक संकटका कारण धेरै मिडियाहरु बन्द हुने अवस्था सृजना भएको भन्दै समानुपातिक लोककल्याण विज्ञापनको पक्षमा महासंघले वकालत गरिरहेको बताए । ‘आर्थिक संकटका कारण धेरै पत्रिकाहरु बन्द हुने अवस्था आएको छ । यस्तो अवस्थामा जनपत्रिका विमोचन भएको छ ।’, जनपत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले भने, ‘लोककल्याणकारी विज्ञापनमा राज्यको ध्यान नजाँदा संचारमाध्यम संकटमा छन् । यसले श्रमजिवि पत्रकारहरुको विजोग भएको छ ।’
महासंघ जनपक्षिय पत्रकारको पक्षमा खुलेर लागेको भन्दै श्रमजिवि पत्रकारका समस्याको समाधान गर्न आफूहरु लागि परेको जिकिर गरे । ‘महासंघमा ३ सय उजुरी आएका थिए । हामीले २ सय जना पत्रकारलाई पारिश्रमिक दिलाएका छौं ।’, उनले भने, ‘पारिश्रमिक नपाएर पत्रकारको विचल्ली छ । यसमा राज्यले हेर्नुपर्छ ।’


जनप्रचार तथा प्रकाशन प्रा लिका निर्देशक अनिल शर्माको अध्यक्षता र प्रबन्धक धनराज सीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन जनापत्रिका मासिकका प्रधान सम्पादक प्रकाश डुम्रेले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]