वर्तमान राजनीतिक संकटको कारक संसदीय व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको कारक संसदीय व्यवस्था भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ्ग ब्यूरोले शनिबार आयोजना गरेको ‘दलाल पुँजीवादी संसदीय व्यवस्थाको असफलता, राष्ट्रिय संकट र अग्रगामी निकास– वैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन महासचिव विप्लव सीले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले संसदीय व्यवस्थाकै कारण शिक्षा, स्वास्थ्यलगायतका जनसरोकारका विषयमा व्यापारीकरण भएको बताए । उनले लघुवित्त, वित्तीय संस्था र बैंकका कारण उद्योगी, व्यावसायीलगायत आमसर्वसाधारण जनता प्रताडित बनेको बताए । उनले पुरानो तरिकाबाट मात्र क्रान्ति सम्भव नहुने बताउँदै क्रान्ति सम्पन्न गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेको बताए । उनले दलाल पुँजीवादले नयाँ विचार, नयाँ प्रविधि लिएर आएको उल्लेख गर्दै भने– ‘उनीहरु नयाँ तरिकाले आउँदा हामी पुरानो तरिकाले गएर हुँदैन । हामीले पनि नयाँ तरिकाबाट लड्न पर्छ । हामी पुरानो तरिकाले लड्यौं भने पराजित हुने निश्चित छ ।’
महासचिव विप्लव सीले देश र जनतामाथि खेलबाड गर्ने दलाल पुँजीवाद भएको बताउँदै देश र जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद स्थापना गर्नु अनिबार्य भएको बताए । उनले संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव नभएकोले समाजवाद स्थापना गर्नुको विकल्प नरहेको ठोकुवा गरे ।
महासचिव विप्लव सीले भने– ‘उद्योग खोल्छुभन्दा वातावतण नबनाएर आफैँलाई आगो लगाएर आत्मदाह गर्नुपर्ने यो कस्तो व्यवस्था हो । न्यायालय भ्रष्टाचारको अखडा हो भनेर प्रधानन्यायाधीश आफैँ भन्दै हिँड्छन् भने आमजनताले न्यायको परिकल्पना कसरी गर्न सक्छ । सबैतिर भ्रष्टीकरण भएको छ यो व्यवस्था जुन कोणबाट हेर्दा पनि असफल नै छ ।’
महासचिव विप्लव सीले अगाडि भने– ‘भुटानी शरणर्थी प्रकरणमा एकलाखको संख्यामा छन् तर १÷१५० लाई जोडेर त्यो पनि पूर्वमाओवादीहरुलाई जोडेर जनयुद्धको नेतृत्वमाथि हमला हुँदैछ यो नियोजित छ । यो सब हुनुको कारण यही असफल दलाल संसदीय व्यवस्था हो । देशलाई नयाँ तरिकाले सोच्नु पर्छ यो व्यवस्थाको विकल्प खोज्नु पर्छ भनेर सुझाब आउन थालेको छ, गाउँगाउँमा छलफल र बहस चल्न थालेको छ । हामीले सबै वामपन्थी कम्युनिस्ट, देशभक्तहरुलाई यो व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्थाबारे वहस गरौँ, अगाडि बढौँ भनेका छौँ । यसो भएन भने हामी हाम्रो आफ्नै पहलमा यहाँका किसान, मजदुर, विद्यार्थी, बुद्धिजीविलगायत सम्पूर्णलाई उठाएर समाजवादी क्रान्तिको ज्वारभाटा ल्याउँछौँ ।’
महासचिव विप्लव सीले भने– ‘हामीलाई मन्त्री, कुर्सी कुनै पनि चिजको लोभ छैन । यसको मतलब जनताको सत्ताको नेतृत्व लिनै हुन्न भन्ने होइन । हामी पुरानो समाजसँग प्रतिस्पर्धा गर्न चाहन्छौँ, नयाँ संस्कृति बनाउन चाहन्छौँ । हरेक कुरामा वैज्ञानिक प्रयोग गर्न चाहन्छौँ । हामी आफैँमा आत्मनिर्भर बन्न चाहन्छौँ । समाजवाद आयो भने रुखबाट पैसा झर्दैन, हामीले मेहनत गर्नु पर्छ, आफ्नो श्रममा बाँच्नु पर्छ, क्षमताअनुसारको काम र पारिश्रमिक पाउनुपर्छ ।’
महासचिव विप्लव सीले भने– ‘हामी आफ्नै कम्युनिस्ट विश्व विद्यालय खोल्दैछौँ, त्यहाँ समानता, न्याय, कम्युनिस्ट के हो भन्ने कुरा पढाउँछौ र बद्नाम बनिरहेको कम्युनिस्टलाई भरोसाको केन्द्र बनाउँछौँ, हाम्रो त्यो सपना छ ।’
उक्त अन्तरक्रिया कार्यक्रमा नेकपाका केन्द्रिय सदस्य विकल्प सीले कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्र माथि हरि रोक्का, शरदराज वन्त, हरि पाण्डे, प्रेमसिंह बस्न्यातलगायतले आफ्नो धारणा राखेका थिए ।