पहिचानका लागि भईरहेको आन्दोलनमाथिको दमन रोकी वार्ता गर

२०८० बैशाख २७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कोशी प्रदेश नामाकरण विरुद्ध पहिचानको आन्दोलन गरिरहेका नागरिकमाथि भईरहेको दमन रोकी आन्दोलनकारी शक्तिसङ्ग वार्ता गरेर समस्याको समाधान गर्न माग गरेको छ। सो पार्टीका महासचिव विप्लव सी ले बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै बैशाख २६ गते दमकमा आन्दोलनकारी माथि गोलि चलाउदा दुई जना गम्भीर र अन्य गरि दर्जनौं घाइतेहरु भएकोले उनिहरुको स्वास्थ्य लाभको कामना सहित दमन रोकी बार्ता गर्न सरकारसङ्ग माग गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीद्वारा बिज्ञप्तिमा राज्य भित्र हरेक नागरिकलाई आफ्नो अधिकारको माग गर्ने र आन्दोलन गर्ने अधिकार भएको उल्लेख गर्दै नागरिकका आवाज सुन्ने र समाधान गर्ने दायित्व राज्यको भएको जनाइएको छ ।
यसैगरी, बिज्ञप्तिमा संघीयता भने पनि नेपालमा वास्तविक जनताको संघीयता छैन भन्दै लिम्बुवान, खम्बुवान, कोचलाई जनआकाँक्षा विपरित कोशी प्रदेश नाम राख्नु यसैको प्रमाण भएको उल्लेख गरिएको छ।
बिज्ञप्तिमा कोशी नामाकरणपछि त्यसक्षेत्रमा आन्दोलन चलिरहेको र यसलाई पार्टीले जनताको न्यायपूर्ण आन्दोलनका रुपमा समर्थन गरेको उल्लेख गर्दै यस्तो अवस्थामा राज्य संयम भएर जनचाहना अनुरुप समस्या समाधानका पक्षमा उचित पहल गर्नुको सट्टा दमनकारी नीति लिनु कदापी उचित नभएको जनाइएको छ । साथै बिज्ञप्तिमार्फत राज्यले दमनको बाटो मात्र समातेमा अकल्पनीय मूल्य चुकाउनु पर्ने अवस्था निम्तिने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रियाहरु

[anycomment]