‘समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्छ ‘

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताए । विद्यार्थी दिवसको अवसरमा आयोजित ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले वामपन्थी समाजवादी शक्तिले आफूलाई रुपान्तरण गरेमात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताउदै भने – ‘हामीले समाजवादी विकल्प दिन सक्यौँ भने जनताको आशा अपेक्षा पूरा गर्न सकिन्छ । हिजोकै गाथा गाइरह्यौँ, विगत कै जस्तो व्यवहार देखाउन थाल्यौँ र सत्तामा गएर भ्रष्टीकरण भयौँ र तिनको प्रतिरक्षामा लाग्यौँ भने आगामी दिनमा जनताले हामीलाई नकार्ने छन् । ‘
डा भट्टराईले वर्तमान अवस्थामा मुलुक अग्रगमन र पश्चगमनको बीचमा मडारिरहेको र आगामी केही वर्ष धेरै गम्भीर हुने देखिएको उल्लेख गर्दै मुलुकमा देखिएको बेथिति अन्त्य गर्न आफूहरुले राजनीतिक तवरमा छलफल गरिरहेका बताए । उनले भने – ‘फेरि पनि हामीले आफूलाई रुपान्तरण गरेर अग्रगामी राननीतिक विकल्प दिन्छौँ । युवा विद्यार्थीले पनि भ्रष्टाचार, बेथिति, बेरोजगारी, शिक्षा, स्वास्थ्य लगायतका मुद्दा उठाएर नेतृत्व गर्नुपर्छ ।’
डा भट्टराईले संविधानमा स्वास्थ्य, शिक्षा, रोजगारीलगायत नागरिक अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको भए पनि अझै नागरिक मौलिक हक प्राप्त गर्नबाट वञ्चित भएको बताउदै भने – “संविधानमा शिक्षा मौलिक अधिकारका रुपमा राखिएको छ, विविध कारणले सबैलाई शिक्षा दिन सकिएको छैन । गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेको छैनन् । देशभित्रै सम्मानजक रोजगारी प्राप्त गर्ने अवसथा अझै भएको छैन। ठूलो सङ्ख्या यो देशप्रति आफ्नो भविष्य देख्न छाडेर पलायन भइरहेको छ, रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि पनि लाइन लागिरहेको छ, यसका लागि विद्यार्थी सङ्गठनले घोत्लिएर सोच्नुपर्ने छ ।”
डा भट्टराईले भने – ‘देशमा बाहिय उपनिवेश छैन । राजामहाराजाको एकतन्त्रीय शासन पनि छैन । यो देशमा सापेक्षतामा लोकतन्त्र छ । जनजीवनको प्रश्न,सुशासनको प्रश्न प्रमुख बनेर आएका छन् त्यसअनुसार अगुवाले नीति तथा कार्यक्रम तय गर्ने, जनतालाई साथमा लिएर अघि बढ्नुपर्छ । ‘२००७ सालदेखि २०६२÷०६३ को जनआन्दोलनसम्म आउँदा लोकतन्त्रको लडाई पुरा गर्यौँ । हामीले पूर्ण विजयमा पुर्याएको होइन । हामीले गरेको क्रान्ति हलाल क्रान्ति थियो छिनाल क्रान्ति थिएन । त्यसैले, कतिपय यथास्थितिवादी र पश्चगामी शक्तिहरुसँग सम्झौता गर्न बाध्य भयौं ।’
उनले वैज्ञानिक भूमिसुधार गरी सबै जनताको पहुँचमा जमिन समेत पुर्याउन नसकेको भट्टराई स्वीकार गर्दै भने – ‘जनताको सामाजिक सुरक्षा सबैको अधिकार सुनिश्चित गर्नुपर्ने थियो । देशमा रोजगारी सृजना गर्नुपर्ने थियो । यी सबै कुरा स्थापित गरेर जनतामा जान सकेनौं’ भट्टराईले भने, ‘हामीले समायानुकुल परिवर्तन गर्न नसकेमा सकिन्छौं । आफूलाई समय अनुकूल परिवर्तन गर्नुपर्छ ।’